राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानका विभिन्न ठाउँमा सरकारी सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । प्युठानमा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका मोटरसाइकलदेखि जिपसम्मका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको हो ।
केही दिन पहिले सार्वजनिक विदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सरकारी सवारी साधन सञ्चालन गर्नुपर्ने नियम छ । तर बिदाको समयमा ब्यक्तिगत प्रयोजन,चार्डबार्ड जस्तो समयमा सरकारि गाडी प्रयोग गर्न नपाउने,कस्ले कसरि चलाउने भन्ने बिषयमा नियम कानुन बनाएपनि त्यसको कार्यन्वयन कसैबाट नभएको पाइएको छ ।
वजारमा तरकारी किन्न जाँदा पनि सरकारी नम्बर प्लेटका सवारी साधनको प्रयोग भएको पाईएको छ । भने आज घटस्थापना सार्बजनिक बिदामा पनि सरकारी नम्बर प्लेटका सवारी साधन यसरी प्रयोग भएको छ ।
तस्बिर: सार्बजनिक बिदाका दिन प्युठान नगरपालिका वडा नम्बर ९ स्थित बेवरेमा किन आयो सरकारी गाडि
कार्यालय समयमा सरकारी नम्बर प्लेटका सवारी साधन चल्नु स्वाभाविकै भएपनि आफ्नो पार्टीको राजनैतिक कार्यक्रममा जाँदा तथा आफ्ना आफन्तसंग भेटघाट गर्दा समेत सरकारी सवारी साधनको प्रयोग गर्ने गरेको पाईएको हो ।
बा २ व ७६७ नम्बरको सरकारी मोटरसाइकलले नियमको उलङ्घन गर्दै आफुखुशि हिँडेको भेटिएको छ । उक्त सरकारी मोटरसाइकलको अगाडि पछाडी नम्बर पिलेट सेतो कपडाले छोपेर ब्यक्तिगत कामकाजका लागि सबार गरेको र बाटोमा राखिएको छ।
प्युठान नगरपालिका ९ मरन्ठाना बेवरेमा उक्त मोटरसाइकल पार्किङ गरिएको पाइएको हो।
त्यस्तै यहाँका कर्मचारी तथा जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन व्यक्तिगत कामकाजका लागि सरकारी सवारी साधनको प्रयोग गरिरहेका छन् । यसका साथै दुई जना क्षमता भएका मोटरसाइकलमा ३ जना बोक्ने तथा जीप वा भ्यानमा समेत व्यक्तिगत तथा पारिवारिक कामकाजका लागि प्रयोग भएको पाइएको छ । पटक–पटक जिल्ला प्रशासन कार्यालय प्युठानबाट सवारी साधन सीमित कामकाजका लागि सञ्चालन गर्न निर्देशन गरिँदासमेत प्युठानमा सरकारी सवारी साधन दुरुपयोग रोकिएको छैन् । नागरिक समाजका अगुवा तथा नेपाली काङ्ग्रेस प्युठानका सचिब देबेन्द्र बर्माका अनुसार स्वयम कर्मचारीको नैतिकता र नियमन गर्ने निकायको उदासीनताका कारण पनि सरकारी सवारी साधनको दुरुपयोग भएको बताउनुहुन्छ। ‘कर्मचारीमा इमानदारिता र नैतिकता हुनुपर्छ,‘ बर्माले भन्नुभयो,‘जबसम्म स्वतस्फूर्त कर्मचारी नियन्त्रित हुँदैनन्,तबसम्म सवारी साधन दुरुपयोग हुन्छ।’ दिएको जिम्मेवारीभन्दा व्यक्तिगत,व्यावसायिक कामका लागि सरकारी साधन प्रयोग भएपछि स्थानीय आक्रोसित भएका छन् ।
सवारी साधनमा हाल्ने पेट्रोल तथा डिजेल, मविल समेत स्थानिय सरकारले दिने तर अरु काममा पनि सवारी साधनको प्रयोग भएको पाईएको छ।
भने स्थानिय सरोकारवाला निकाय त्यस प्रति मौन रहेको छ । सरकारी सवारी साधन सञ्चालकहरु खुलेआम रुपमा कार्यलय समय भन्दा अन्य समयमा पनि शानले सरकारी नम्बर प्लेटका सवारी साधनहरु चलाई रहेका छन ।
‘सरकारी कामका लागि प्रयोग गर्न सरकारी गाडी खरिद गरिएको हो,ब्यक्तिगत प्रयोजन एवम् सार्वजनिक विदाका दिन समेत प्रयोग गर्न नपाइने प्रमुख जिल्ला अधिकारी खिम राज भुसालले बताउनुभयो ।
सवारी साधन कुनै कारणले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर,सार्वजनिक विदा बाहेकका दिनमा प्रयोग गर्न परेमा अधिकार प्राप्त अधिकारीसँग अनुमति लिनुपर्ने कानुनी ब्यवस्था छ ।’
उहाँले भन्नुभयो-,‘तीनै तहका सरकार,जनप्रतिनिधि र कर्मचारीको हकमा अनिवार्य लागू हुने भएकोले कसैले यो कानुनको उल्लंघन गरेको खण्डमा कारबाही गरिन्छ।’
देबिस्थान ट्राफिक प्रहरि कार्यालय प्युठानका प्रमुख मधु थापाले सार्वजनिक बिदाको दिनमा प्रमुख जिल्ला अधिकारिको अनुमतिबिना सञ्चालन हुने सरकारि पिलेटका गाडिहरुलाई नियन्त्रण लिने गरेको बताउनु भयो । यतिमात्र नभई अन्य समयमा पनि आफन्त लगाएत मन परेका मान्छेहरुलाई बोकेर हिड्ने गाडि मोटरसाइकलहरुलाई तत्काल नियनत्रणमा लियर कानुन अनुसार कार्वाहि गर्ने बताउनु भयो ।
स्थानिय तहका सरकारी मोटर साईकलहरुको चरम दुरुपयोग भएको प्रती यसलाई नियन्त्रण गर्न देबिस्थान ट्राफिक कार्यालय नरन्तर अगाडी बढेको उहाँको भनाई छ।
इन्धनको नाममा लाखौँ खर्च सरकारी सवारी साधनको चरम दुरपयोग हुँदा प्युठानका स्थानीय तहमा इन्धनमा लाखौ खर्च भएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले कार्यालयको कामभन्दा व्यक्तिगत काममा गाडी दुरुपयोग गर्दा इन्धनमा लाखौँ खर्च भएको हो । ९ स्थानीय तह रहेको प्युठानका सबै स्थानीय तहमा जनप्रतिनिधि आएपछि सावारी साधन थपिएका छन् ।जिल्लामा आउने संघीय र प्रदेश सांसदले स्थानीय तहका गाडी प्रयोग गर्छन् ।त्यसैले पनि स्थानीय तहमा इन्धन खर्च बढेको देखिन्छ ।
काम कम-खर्च बढी भएपछि स्थानीयले इन्धनसमेत दुरुपयोग भएको दाबी गर्दै आएका छन् । तर, प्युठान का स्थानीय तहका जनप्रतिनिधिले भने इन्धन र सवारी साधन कामकै लागि प्रयोग हुने र दुरुपयोग नभएको दाबी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्