म एक सामान्य नागरिकको हैसियतले डा. भट्टराईले अर्थमन्त्रालय सम्हालेका दिनहरू स्मरण गर्दै केही यथार्थ विवरण प्रस्तुत सान्दर्भिक ठानेको छु । बिश्व मापदण्ड अनुसार गरीव राष्ट्रको सूचीमा सूचीकृत हाम्रो देश र हामी ३ करोड नेपालीका लागि इतिहासकै उत्कृष्ट सफल अर्थमन्त्री मध्य एक डा.भट्टराई थिए भन्ने हामीले बिर्सेका छैनौं ।
भर्खरै अर्थमन्त्री पदबाट राजिनामा गरेका डा.युवराज खतिवडाबाट पनि जनताको अपेक्षा ठूलो थियो। राष्ट्रबैंकको गभर्नर र योजना आयोगको जिम्मेवारी सम्हालेका ब्यक्तिबाट जनताले अपेक्षा गर्नु स्वाभाविक नै थियो, तर बिशुद्ध कर्मचारी रहेका खतिवडाले वितरणमुखी बजेट प्रस्तुत गर्दा राजनीतिक एजेन्डा र पार्टीले अघि सारेको चुनावी घोषणापत्रमा मेल नखाएकोले डा. खतिवडाको तीनबर्षे कार्यकाल असफल भएको प्रष्ट देखायो । अर्थशास्त्र र बजेट भनेकै प्रत्यक्ष राजनीति सँग जोडिएको बिषय भएको हुनाले, डा.बाबुराम भट्टराईको राजनीतिक पृष्ठभूमि र उहाँको राजनीतिक अर्थशास्त्र सम्बन्धिको ज्ञानको समायोजनले गर्दा गणतन्त्रको स्थापनापछि २०६५/०६६ को पहिलो बजेट डा.भट्टराईले प्रस्तुत गर्दा एउटा तरङ्ग नै पैदा भएको थियो । गरिब किसानका ३० हजार सम्मका कृषिऋण मिनाहा, १ लाख सम्मका ब्याज मिनाहा, कर्मचारीको तलब वृद्धि, युवा स्वरोजार कार्यक्रम, छोटो समयमा इतिहासकै बढी राजस्व सङ्कलन, जुन प्रत्यक्ष गरिब निमुखा जनतासँग जोडिएको कार्यक्रम थियो । र, त्यो नौ महिने सरकार सफल सरकार थियो ।
डा.भट्टराईले २०६५/०६६को बजेट प्रस्तुत गर्दा त्यतिवेला बेरोजगारीको समस्यालाई गुणात्मक ढंगले हल गर्ने केही सोच अगाडि सारेका थिए । तिमध्येको एउटा महत्वपूर्ण ‘युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम’ थियो । त्यसअन्तर्गत देशभरका बेरोजगारको तथ्यांक सङ्ककलन गर्ने र उनीहरूलाई उद्यमशीलताको तालिम व्यवस्थित ढंगले देशव्यापी रूपमा दिने व्यवस्था गरेका थिए, त्यो बेरोजगार युवाहरूको लागि सुन्दर अबसर थियो । प्रचण्ड प्रधानमन्त्री र डा.भट्टराई अर्थमन्त्री दुबैले समन्वयात्मक ढंगले नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गरेर योजना तर्जुमा गर्ने र सँगसँगै स्वरोजगार कोषको स्थापना गरेर कृषि, सेवा र अन्य क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई विनाधितो दुई लाखसम्मको ऋण प्रवाह गर्ने अथवा त्यो परियोजनालाई नै धितो राखेर ऋण प्रवाह गर्ने योजना बनाएकै थिए । अर्थमन्त्रालयको अर्जुनदृष्टि बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउनु, उद्यमशील बनाउनुनै थियो । र त अहिले पनि अहिलेपनि अर्थमन्त्री भन्ने बित्तिकै डा.भट्टराई सम्झन्छौं हामी । जसले निष्ठापूर्वक जनताको सेवाको लागि अगाडि बढ्छ उसले कहिले क्रान्तिको नेतृत्व गर्छ कहिले शान्ति, बिकास र समृद्धिको नेतृत्व गर्छ । डा.भट्टराईले लोकतान्त्रिक गणतन्त्रको लागि जनयुद्धको नेतृत्व गरे अब बिकास र समृद्धिको लागि पनि स्पष्ट भिजन सहित नेतृत्व गर्न तयार छन् र त अझैपनि युवाको नजरमा डा.भट्टराई आशाको केन्द्रमा छन् ।
माओवादी नेतृत्वको सरकारले ६ महिनाभित्र चलाएको अभियानमा सात लाख युवाले आवेदन दिएका थिए । तीमध्ये तीन लाख युवाले उद्योग वाणिज्य महासंघका जिल्ला शाखाबाट देशैभर अभिमुखीकरण तालीम समेत प्राप्त गरेका थिए । नौ महिनामा नै सरकार ढलिसकेपछि त्यो कार्यक्रम ठीक ढंगले अगाडि बढेन । एमाले सरकारले युवा स्वरोजगार कार्यक्रमलाई चरम दलीयकरण गर्यो । स्वरोजगार कोषमार्फत दसौँ लाख युवालाई रोजगारी दिएर देशमा बेरोजगारी अन्त्य गर्ने प्रारम्भिक प्रयास ठीक ढंगले अगाडि बढ्न दिइएन । युवालाई स्वरोजगार बनाउने बजेट नआउँदा युवाशक्ति फरिपनि विदेशिन बाध्य भए ।
युवा बेरोजगारको तथ्यांक
वर्तमान सरकारकै तथ्यांकअनुसार युवाहरुको पूर्ण बेरोजगारी संख्या २.३ प्रतिशत, अर्ध–बेरोजगार ३० प्रतिशत, अल्प–रोजगार ३५.८ प्रतिशत भन्ने जानकारीमा छ अब यो कोभिड–१९ कोरोना महामारीले कति प्रतिशत बेरोजगार पुर्याउने थाहा छैन ( International Labor Organization ) अन्तर्राष्ट्रिय श्रम संगठनका सर्वेक्षणअनुसार पूर्ण बेरोजगार १९.२ प्रतिशत र अर्ध–बेरोजगार २८.३ प्रतिशत छन् ।
यस्तो अभाव र बेरोजगारीको अबस्थामा बौद्धिक अर्थमन्त्रीबाट युवालाई स्वरोजगार योजना नआउनु अत्यन्तै दुखदायी कुरा हो ! देशलाई समृद्धिको पथमा हिँडाउने, जनतालाई दुःख कष्टबाट मुक्ति दिलाउने र युरोपेली स्तरमा आर्थिक उन्नति गर्ने सपना बाँडेर सोझा नेपाली जनताको मत पाएर सत्ता हत्याएको नेकपाको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले देशलाई १४ खर्व १९ अर्व बराबरको ऋणको भारी बोकाएर बिदा भए ! यो अत्यन्तै दुखदायी कुरा हो । प्रधानमन्त्री र अर्थमन्त्रीहरुले समृद्धि भन्नासाथ रेल, पानीजहाज, ग्याँस पाइप आदिको बिम्ब प्रयोग गर्दा साह्रै दुःख लाग्छ यसै कारणले आज बेरोजगारको संख्या बढ्ने क्रममा छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत केही प्रयास गर्न खोजेपनि हेलमेट लगाएर झार उखेल्ने, करेसाबारी सफा गर्ने उत्ताउलो कार्यक्रमले सफलता पाउन सकेन । आज बेरोजगारीको संख्या बढ्दैछ, आर्थिक सङ्कट लाग्दैछ तर वर्तमान नेतृत्व सब ठीकठाक छ भन्छ । के साँच्चै ठीकठाक छ त ? अहँ छैन ।
अन्त्यमा
हामीलाई राजनीतिक गुटबन्दी गर्ने चरम भ्रष्टाचार गर्ने नैतिकता नभएका जनताप्रती उत्तरदायित्व बहन नगर्ने प्रधानमन्त्री र मन्त्री चाहिएको छैन । आजको आवश्यकता भनेको देश कसले बनाउने ? बेरोजगार युवाहरूको लागि रोजगारीको अवसर कसरी सिर्जना गर्ने, गरिब निमुखा जनताको लागि दालभात र डुकुको व्यवस्था कसरी गर्ने भन्ने चिन्तनमा केन्द्रत हुने जनताप्रति उत्तरदायी नेतृत्व चाहिएको हो । यति सुन्दर देश, गौरवमय सम्पदा, मूल्यवान स्रोत साधन र १५–४० बर्षका धन्नै ४० प्रतिशत युवाजनशक्ति, इमानदार जनता साथ हुँदाहुँदै देश किन बनेन जनता किन दुःखी छन् ? किनकी हाम्रो राजनीतिक नेतृत्वमा दुरदृष्टिको अभाव छ ।
मानव सेवाको त कुरै छाडौं, राष्ट्रिय स्वार्थलाई समेत बिर्सिएर हाम्रो नेतृत्व दलीय गुट र पारिवारिक स्वार्थमा फसेका भेटिन्छन् । देशभन्दा पार्टी ठूलो, पार्टीभन्दा गुट ठूलो, गुटभन्दा आफ्नो परिवार ठूलो मान्ने नेताहरूबाट शासित हुनुपर्दा हामी एउटा युवालाई असाध्यै पीडा हुन्छ ।
जति नै लेखे पनि सम्झाए पनि आलोचना र बिरोध गरेपनि यो नालायक, भ्रष्ट, जबाफदेहीता नभएको नैतिकता शून्य सरकारलाई केही असर गरिराखेको छैन । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने जस्तो भएको छ अहिले । तरपनि विगतका कमीकजोरीबाट पाठ सिकेर नेपालमा रोजगारी सहितको समृद्धिको मार्गचित्र कोर्नैपर्छ । त्यसका निम्ति हामीले समृद्धि भनेको सबैले श्रम गरेर सबै धनी हुने र श्रमजीवीलाई सम्मान गर्ने विधि हो भनेर प्रस्टसँग बुझ्नुपर्छ । अहिलेको राज्यले लागू गरे जस्तो राज्यसत्ताको आडमा प्राप्त धनको दोहन गर्ने र आसेपासेलाई वितरण गर्ने तरिका समृद्धि र रोजगारीको बाटो हुन सक्दैन , संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्यब्यबस्था र अर्थप्रणाली लागू गर्न र २१ औं सताब्दीको राजनीतिक चेतना भएको नेपालको अर्थतन्त्रको बिषयमा अर्जुनदृष्टि लगाउने अर्थमन्त्री देशले पाओस् !
प्रतिक्रिया राख्नुहोस्