“दलित” शब्द भ्रम र दम
अनन्त यात्री आजभोलि दलित शब्दले निकै वहसको माग गरिरहेको छ । सामाजिक सञ्जाल देखि पत्रपत्रिका, गोष्ठी र वैठकहरमा दलित शब्दको चर्चा हुने गरेको छ । पश्चिम रुकुमको चौरजाहरीमा दलित र गैरदलितवीचको प्रेम संबन्धका कारण ६ जनाको ज्यान जाने गरि भएको हत्यकाण्ड पछि झन यो वहस तातेको छ । यसो त यदाकता पहिले पनि दलित शब्दको बारेमा वहस नभएको होइन । भ्रम नहोस कि यो वहस दलित मुक्तिका उपायहरु के के हुन ? रणनतिहरु के कस्ता हुन सक्छन भनेर चलेको छैन । बहस दलित शब्द प्रयोग गर्ने कि हटाउने भन्नेमा केन्द्रीत छ । यस विषयमा बुझेर, नबुझेर वा प्रयाजित रुपमा सामाजिक सञ्जालमा गरिएको वहसले आम मुक्तिकामी दलित समुदायमा भ्रम र असर पर्नसक्ने भएकोले केही स्पष्ट गर्ने कोसिस गरिएको छ ।
सबैभन्दा पहिला दलित शब्दको उत्पति र प्रयोग बारेमा हेरौँ । दलित शब्द सस्ंकृति र हिन्दी दुवै भाषामा प्रयोगमा छ जसको अर्थ थिचिएको, च्यापीएको र छरिएको हुन्छ । सन १९३५ मा भारतमा ब्रिटिश सरकारले लिएको जनगननामा अछुत जातीहरुलाई “डिप्रेस्ड वर्ग“ भनेर राखिएको थियो जसलाई हिन्दीमा उल्था गर्दा दलित भनेर राखियो । त्यस पछि भारतीय दलित आन्दोलनका प्रणेता डा.अम्भेडकरले यस शब्दलाई व्यापक रुपमा प्रयोग गरेको हुन । माहात्मा गान्धीले दलितहरुलाई हरिजन भनिदिए त्यसको प्रभावमा कतिपयले भारतमा दलितलाई हरिजन भनेर पनि अभियान चलाए । १९९२ मा सूचकिृत जातीहरुको राष्ट्रिय आयोग गठन भयो जसले संवैधानिक रुपमा दलित शब्दलाई विस्थापित गरेर सूचीकृत जाती भन्यो ।
नेपालमा छुवाछुत विरुद्धको अभियान वि.स. १९९७ सालबाट शुरु भएता पनि लामो समयसम्म दलित शब्द प्रयोग भएको थिएन । वि.स. १९९७ सालमा बाग्लुङ्गका भागत संर्वजित विश्वकर्माले विश्व संर्वजन संघ गठन गरेर जातीय विभेद विरुद्ध आवाज उठाए । वि.स. २००३ सालमा काठमाडौका सहर्षनाथ कपालीले टेलर यूनियन गठन गरे भने २००४ सालमा धरानका जदुवीर विश्वकर्माले जाततोड मण्डल गठन गरे । २००८ सालमा सहर्षनाथ कपालीको नेतृत्वमा भएको टेलर यूनियन परिगणित संघमा परिणत भयो भने पुर्व धरानबाट शुरु भएको जाततोड मण्डल २०१७ सालमा आएर नेपाल राष्ट्रिय जनविकास परिषद बन्यो । २०२४ सालमा भारतीय दलित आन्दोलनका प्रणेता डा. अम्भेडकर नेपाल आए र उनैको सुझाव अनुसार सहर्षनाथ कापालीको नेतृत्वमा रहेको परिगणित संघ र टि.आर विश्वकर्मा÷हिरालाल विश्वकर्माको नेतृत्वमा रहेको नेपाल राष्ट्रिय जनविकास परिषदको एकता भयो र नेपाल राष्ट्रिय दलित जनविकास परिषद बन्यो । नेपालमा जातीय विभेद विरुद्धको आन्दोलनमा पहिलो पटक दलित शब्दको प्रयोग भयो र हाल सम्म प्रयोग भइरहेको छ ।
अहिले भइरहेको वहसमा एउटा समुह दलित शब्द ठिक छैन हटाउनुपर्छ भन्ने मान्यता जबर्जवस्त रुपमा स्थापित गर्दैछ भने अर्को समुह होइन यो शब्द हटाउन जरुरी छैन भन्ने छ । दलित शब्द हटाउनुपर्छ भन्नेमा गैरदलितहरु धेरै छन भने केही दलित समुदायका युवाहरु पनि छन । गैरदलितहरु दलित शब्द समाजमा प्रयोग हुदाँ जातीय विभेद र छुवाछुत हटाउन सकिदैन र दलित शब्द आफैमा अपमानित शब्द हो जसले गर्दा दलितलाई हिनताबोध हुन्छ भन्ने तर्क गर्छ । बास्तवमा यो देखाउने र भन्ने तर्कमात्र हो यसको अन्तर्य धेरै फरक छ ।
पहिलो कारण गैरदलित दलितमाथि गरिएको दमनको जिम्मा लिन तयार छैनन र दलित शब्द हटाउ भन्छन । २०२४ साल भन्दा पहिला दलित शब्द प्रयोगमा थिएन छुवाछुतको विभेद थियो कि थिएन ? अहिले भन्दा बढी नै थियो । २०२४ भन्दा पहिला दलित समुदायलाई पहाडमा कामी, दमाई, सार्की, गाइने, वादी, विटालु, कडरा भनिन्थ्यो भने डुम, डांग्रा, होत्रे, पातर आदि शब्दले गाली गरिन्थ्यो । तराईमा चमार, मुसहर, डोम, दुसाध आदि शब्द प्रयोग गरिन्थ्यो । समाजमा यी सबै शब्दहरु अपमानबोधक नै थिए प्राय अपमान गर्न र गाली गर्न नै यी शब्द प्रयाग गरिन्थ्यो । यति सम्म कि आफ्नै छोराछोरीलाई पनि गाली गर्नको लागि यी शब्दहरु प्रयोग गरिन्छन । त्यातिबेलाका अगुवाहरुले समाजमा प्रयोग हुने अपमानबोधक शब्दको विकल्पमा नै दलित शब्द प्रयोग गरेको देखिन्छ । यो शब्दले नराम्रो भाव पनि बोकेको छैन बरु दलितहरुको हेपिएको,थिचिएको र चयापिएको अवस्था चित्रण गर्छ । यदि दलितहरु हेपिएको, थिचिएको र च्यापिएको हो भने त्यसरी दमन गर्ने को त निश्चित रुपमा गैरदलित । यसरी दमनकारीको रुपमा दर्ज भइन्छ भन्ने परिले गर्दा दलित शब्द हटाउ भनेको बुझ्न सकिन्छ ।
दोश्रो, दलित शब्दले नेपालमा जातीय भेदभाव बिरुद्ध न्यायप्रमी समुदायलाई एउटा मिसनमा जोड्ने काम गरेको छ जो गैरदलितको लागि टाउको दुखाइ भएको छ । वास्तवमा २०२४ सालमा नेपाल राष्ट्रिय दलित जनविकास परिषद स्थापना पश्चात जातीय विभद विरुद्धको अभियान राष्ट्रव्यापी भयो र मेचीदेखि कालीसम्मका उत्पीडित समुदायलाई एउटै मोर्चामा र भावनामा गास्ने काम गर्यो । एउटा शक्तिको रुपमा उदय भयो । यो शक्ति गैरदलितलाई मन परेको छैन । दलितलाई कुनै पनि हालतमा आफु सरह मानवको रुपमा स्वीकार गर्न गैरदलित तयार छैन र यो शब्द हटाउदा फाइदा हुन्छ भन्ने बुझाई उनीहरुमा छ ।
तेश्रो, दलित आन्दोलनले प्राप्त गरेको उपलब्धीमा गैरदलितलाई निकै पिडा भएको छ । यति सम्मकी दलितबालबालिकाले पाउने छात्रवृति, दलितले बृढभत्ता पाएको पनि बिरोध भएको छ । पोखरा १६ का सुदीप थापाले भन्छन, एउटै स्कुलमा पढ्ने दलितले छात्रबृति पाउछ बाहुनले पाउदैन, दलितले ६० वर्षमा बृढभत्ता पाउने गैरदलितले ७० वर्ष पुग्नुपर्ने विभेद त छ नि । दलित आन्दोलनको माग राज्यका हरेक निकायमा समानुपातिक सहभागिता भन्ने छ जसलाई गैरदलितले शब्दसंग जोडेर हेरेको छन । यो शब्द हटाएको दिन उनीहरुले निश्चित रुपमा अब दलित नै छैन किन आरक्षण दिने भन्ने छन र अर्कोतिर दमन गरिरहने छन । यसरी हेर्दा गैरदलितले गर्ने तर्कमा कुनै दम छैन बरु नियत खराब छ ।
दलित समुदायका युवापंक्तिमा पनि यो शब्द हटाउनुपर्छ भन्ने र केहीले त आरक्षण वा समानुपातिक सहभागिता आवश्यक छैन प्रतिस्पर्दा गर्न सक्छौं भन्ने तर्क गरेको देखिन्छ । यस्तो मनोविज्ञान विकास हुनुका पछाडी मुख्य त चारवटा कारण छन । पहिलो, यो वर्षैंदेखिको अपमानबाट मुक्त हुने उपाय के के हो त्यही गर्ने भन्ने दिगदारीको अविव्यक्ति हो । कतिपय युवाहरुले आफ्नो थर लेख्ने वा दलित नजनाउने थर लेख्न शुरु गरेको देखिन्छ । जसरी बाघको पञ्जाबाट उम्कन हरिणले छटपटी गर्छ त्यसरी अपमानको पिडाबाट उम्कन गरेको प्रयासमात्र हो यो । तर यसरी पनि उम्कन संभव छैन भन्ने कुरा गतसाल शंकर वि.सीलाई गैरदलितहरु डुम भनेर गाली गरेबाट प्रष्ट हुन्छ । दोश्रो, अनुभव र भोगाईको कमी छ, जुन प्रकारको विभेद पहिलो पुस्ताले भोगेको छ युवापुस्ताले त्यो भोगेको छैन । पुजीवाद र विश्वव्यपीकरणको प्रभावले पनि समाज वढी व्यक्तिवादी बन्दै गएको सन्दर्भमा आफुले नभोग्दा सम्म अन्य दलितलाई भएको अपमानले उनीहरुलाइृ नदुखेको पनि हुनसक्छ । वास्तवमा दलितमाथी गरेको अपमान एक व्यक्तिमाथि होइन सिगो समुदायमाथि गरिएको अपमान हो भन्ने बुझाइ पुगेको छैन । हामीले बुझ्ने कुरा त एक मानवको रुपमा बाहुनले क्षेत्रीमाथि, क्षेत्रीले जनजातीमाथि गरेको अपमानले पनि दलितलाई दुखीरहेको हुन्छ । यो बुझाईको विकास गर्न जरुरी छ । तेश्रो कुरा आरक्षणको नकारात्मक प्रचार गरिएको छ । यसमा पनि दलितलाई लक्ष्यीत गरि अपमान गरिदैछ । नेपालमा सबैभन्दा पहिले र धेरै आरक्षण खाएको जाती बाहुन नै हो । शिक्षामा बाहुनलाई आरक्षण, सेना र राजनीतिमा क्षेत्रीलाई आरक्षणको शूरुवात त पृथ्वीनाराण शाहले नै गरेका थिए । लोकसेवा आयोगको स्थापना त २००८ सालमा भयो त्यो भन्दा पहिलाका सबै बडा हाकिमहरु, सुब्बाहरु र सचवहरु कहाँ प्रतिस्पर्दा गरेर आएका हुन । आरक्षणमात्र होइन एकाधिकार थियो त्योबेला । त्यही नकारातमक आरक्षणको परिणम हो १२ प्रतिशत जनसख्या भएको बहुनले राज्यसत्ता कब्जा गरेको । अन्य समुदायको क्षमता नभएर होइन । बौद्धिक कम्युनिष्ट समुह भन्ने फेसबुक गु्रपमा नवराव तिमिल्सिना, सुदीप बस्नेत लगायत लेख्छन, जव सम्म दलितको नाममा आरक्षण हुन्छ तबसम्म जातीय विभेद गरिरहन्छु । अहिले पनि नेपालमा सबै जातीको लागि आरक्षण छ । ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेशी, ९ प्रतिशत दलित, ५ प्रतिशत दुर्गम र ३ प्रतिशत अपाङ्गता भएकाको लागि आरक्षण छ । नवराज तिमिल्सीनाहरुले किन दलितको मात्र विरोध गरिरहेका छन त । यो दलित प्रतिको असहिष्णुताको पराकाष्ठा हो जुन कुरा दलित युवाहरुले बुझ्न जरुरी छ । चौथो, राज्यका निकायहरुले निष्पक्ष काम गरिरहेका छन कि जातीवादी छन भन्ने पनि केलाउन जरुरी छ । लोकसेवा आयोगको अन्तरवार्तामा सार्की समुदायको व्यक्तिलाई भाइ तिमी त जुत्ता पसल राख न राम्रो कमाइ हुन्छ भनियो । श्रीमानले कपी चेक गरेर श्रीमतिलाई पास गराइन्छ । गतसालको त्रिभुवन विश्वविद्यालयको उपप्रध्यपकको परिक्षामा एक जनाले २० अंकमात्र प्राप्त गरेको, त्यसलाई केरेर ४० बनाएको र फेर ७० अंक बनाएको तथ्य बहिर आयो । दलित युवाहरु भन्नुस तपाइको जति सुकै क्षमता भए पनि यो संरचनाले चिन्छ ? एमबिबिएसको प्रवेश परिक्षामा पहिल्यै प्रश्नपत्र घरघरमा पुगेको हुन्छ अनि कसरी तपाईको नाम निस्कन्छ ? अर्को दलित थर लेखौ एक छिनको लागि घिमिरे अनि बुबाको नाम त कामी नै हुन्छ । बुबाको नाम देख्न बित्तिकै अपमान शुरु भैहाल्ने मात्र होइन ढाँटेको आरोप लाग्छ । जाजरकोटको नवराज वि.क.ले जात ढाँटेर शुक्ष्मासंग प्रेम गरेको भनेर हल्ला गरिरहेको छ त एउटा समुह त । यसकारण दलित शब्दले कही बाधा वा अपमान गरेको छैन गरेको छ त केवल जातीव्यवस्थाले । दलित शब्द यो जातीय अहंकारवादको विरुद्ध लडनको लागि स्थापित आन्दोलनको नाम हो । यो शब्दले दलितमाथि झन्डै चार हजार वर्षदखि भएको दमनको चित्रण गर्छ । जबसम्म विभेद रहन्छ दलित शब्द पनि रहन्छ विभेद हटेसंगै यो शब्द हट्छ । आजको अवस्थामा यो शब्द हटाउदा आन्दोलन कमजोर हुन्छ र यो जातीय अंहकारवादीहरुलाई नै फाइदा हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्