राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले दलित,जनजाति तथा विपन्न नागरिकहरूलाई लक्षित गर्दै उनीहरूको माग र आवश्यकतामा आधारित सिलाइकटाई मेसिन तथा आधुनिक प्रविधि हस्तान्तरण गरेको छ।
स्थानीय आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले पछाडि परेका समुदायलाई सीप,क्षमता र उद्यमशीलतासँग जोड्ने उद्देश्य लिएको छ। नगरपालिकाले सहायता वितरणको परम्परागत दृष्टिकोणभन्दा माथि उठेर लाभग्राहीहरूलाई आत्मनिर्भर र व्यावसायिक उद्यमी बनाउने दीर्घकालीन योजना अनुसार ३४ जना उद्यमिलाई प्राविधि हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा नगर प्रमुख बिष्णु योगीले समावेशी विकासलाई व्यवहारिक रूप दिन शिक्षा,सीप र प्रविधिलाई एउटै संरचनामा जोडेर अघि बढ्ने नीति अवलम्बन गरिएको बताउनुभयो। उहाँले सहभागीहरूलाई प्राप्त सीप र प्रविधिको सही उपयोग गरी आफ्नो जीवनस्तर सुधार गर्न र उद्यमशीलतातर्फ अघि बढ्न आग्रह गर्नुभयो।
त्यस्तै नगर प्रवक्ता सुमनराज श्रेष्ठले भुईँ तहका नागरिकहरूको आवश्यकता बुझेर प्रत्येक वर्ष यस्ता आधुनिक प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार परम्परागत प्रविधिभन्दा आधुनिक उपकरणले उत्पादन क्षमता वृद्धि गर्ने,समय बचत गर्ने र बजार प्रतिस्पर्धामा टिक्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले प्रविधिको सही उपयोगले मात्रै व्यवसाय दिगो बन्न सक्ने भन्दै प्राप्त सामग्रीलाई उत्पादन वृद्धि र व्यवसाय विस्तारमा केन्द्रित गर्न आग्रह गर्नुभयो।
उद्यम विकास सहजकर्ता शारदा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख चन्द्र जि.सि.ले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सहायक लेखा अधिकृत बसन्त गिरी,योजना शाखा प्रमुख ओम प्रकाश पोख्रेल लगायत विभिन्न उद्यमीहरूको उपस्थिति रहेको थियो।
लाभग्राहीहरूले प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै यसले उनीहरूको आत्मविश्वास बढाएको र अब आफ्नै प्रयासबाट आयआर्जन गर्ने बाटो खुलेको बताएका छन्। यसले विशेषगरी पछाडि परेका समुदायमा रोजगारी खोज्ने मानसिकताबाट हटेर रोजगारी सिर्जना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार यस्ता कार्यक्रमहरूले सामाजिक समावेशीकरण,आर्थिक सशक्तीकरण र स्थानीय उद्यम विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ। “समुन्नत प्युठान” निर्माणका लागि यस्ता पहलहरूलाई अझ विस्तार गर्दै लैजाने योजना रहेको पनि नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्