एमालेभित्र सहकार्य र एकताको आवश्यकता : थापाको अपिल

प्युठान,नेकपा (एमाले) गम्भीर आन्तरिक चुनौतीको सामना गरिरहेको वर्तमान परिस्थितिमा पार्टीका नेता सूर्य थापाले नेताहरूबीच बढ्दो सार्वजनिक विवाद र आरोप–प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै आत्मसमीक्षा,संयम र एकताको आह्वान गरेका छन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका आरोप तथा त्यसपछिको गिरफ्तारी र कैदको अवस्थाप्रति संकेत गर्दै थापाले यस्तो संवेदनशील घडीमा पार्टी नेतृत्व एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।लामो पृष्ठमा सामाजिक लेख्दै उनले नेतृत्वमाथि भएको यस प्रकारको अवस्थालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै संगठनलाई कमजोर हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
थापाका अनुसार,एमालेको इतिहासमा जननेता मदन भण्डारीदेखि वर्तमानसम्मका शीर्ष नेताहरूले विभिन्न चरणमा आलोचना,विरोध र घेराबन्दीको सामना गर्दै आएका छन्।“आज काबा अध्यक्ष रामबहादुर थापा मगरको अस्थायी नेतृत्वमा पनि त्यही प्रकारको चुनौती सामना गर्नुपर्ने अवस्था छ,” उनले भने।
उनले नेताहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक समीक्षा गर्न,तथ्यमा आधारित निष्कर्ष निकाल्न र ठोस समाधानतर्फ अग्रसर हुन आग्रह गरे। उनका अनुसार,अहिलेको अवस्थामा सार्वजनिक रूपमा गरिने आलोचना,घोचपेच र आन्तरिक विभाजनले पार्टीलाई थप कमजोर बनाउने भएकाले संयमित र जिम्मेवार राजनीतिक व्यवहार आवश्यक छ।
साथै,थापाले राष्ट्रिय हितका मुद्दाहरूमा पार्टीको स्पष्ट र दृढ अडान रहनुपर्नेमा जोड दिँदै चुच्चे नक्सा (कालापानी,लिपुलेक र लिम्पियाधुरा) को संरक्षण तथा विदेशमा रहेका नेपालीहरूको हकहित सुनिश्चित गर्न पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
उनले पार्टीका सबै कार्यकर्ता तथा नेताहरूलाई राष्ट्रिय हितलाई सर्वोपरि राख्दै संगठनात्मक एकता कायम गरी अघि बढ्न आह्वान गर्दै भने, “सबैको जय होस्, भलैभलो होस् र देशको सर्वोपरी हित होस्।”