हिलो र धुलोबाट मुक्ति खोज्दै बाग्दुला–मच्छी सडक स्थानीयमा जाग्यो आशाको किरण

हिलो र धुलोबाट मुक्ति खोज्दै बाग्दुला–मच्छी सडक स्थानीयमा जाग्यो आशाको किरण

राम बहादुर बिश्वकर्मा
प्युठान,वर्षौंदेखि हिलो र धुलोको सास्ती झेल्दै आएका बाग्दुला–मच्छी सडक खण्डका स्थानीय बासिन्दाहरूका लागि अहिले परिवर्तनको संकेत देखिन थालेको छ। वर्षायाम सुरु हुनासाथ हिलाम्मे र हिउँद लागेपछि धुलाम्मे बन्ने यो सडकले यात्रालाई मात्र कठिन बनाएको थिएन,यसले स्थानीयको दैनिकीमै गहिरो असर पार्दै आएको थियो। तर अब भने यही सडक स्तरोन्नति र कालोपत्रे हुने प्रक्रियामा अघि बढेपछि स्थानीयमा आशाको नयाँ किरण पलाएको छ।लामो समयसम्म उपेक्षित जस्तै देखिएको यो सडक सुधारका लागि लुम्बिनी प्रदेशका खानेपानी तथा सरसफाई मन्त्री सरोज थापाको पहल निर्णायक बनेको छ। प्रदेश र केन्द्र सरकारको समपुरक बजेटमार्फत स्रोत सुनिश्चित भएसँगै योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। यसले सरकारका विभिन्न तहबीचको सहकार्यले विकासलाई गति दिन सकिन्छ भन्ने सकारात्मक सन्देश पनि दिएको छ।
निर्माणको जिम्मा पाएको आशु हरियाली जेभीले ४.३ किलोमिटर सडकलाई १० मिटर चौडाईमा ५ मिटर  कालोपत्रे गर्ने योजना अघि सारेको छ। करिब १५ करोड ३३ लाख रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाको समयसीमा दुई वर्ष तोकिएको भए पनि कच्चा सामाग्रीको सहजै उपलब्ध हुन सकेमा निर्माण व्यवसायी बालाजु श्रेष्ठले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।विगतमा पनि समयमै र गुणस्तरीय काम सम्पन्न गर्दै विश्वास जितेका श्रेष्ठको अनुभवले स्थानीयमा थप भरोसा पैदा गरेको छ।
सडक स्तरोन्नति केवल सहज आवतजावतको माध्यम मात्र होइन,यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने,आकस्मिक सेवामा पहुँच बढ्ने तथा शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार हुने विश्वास गरिएको छ।स्थानीयका लागि यो सडक विकासको एउटा सामान्य योजना होइन,दैनिक जीवनमा आउने ठूलो सहजताको प्रतीक बनेको छ।“अब त हिलो र धुलोको समस्या अन्त्य हुन्छ भन्ने लागेको छ,” एक स्थानीयको उत्साहपूर्ण प्रतिक्रिया छ। उनका अनुसार वर्षायाममा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन समेत कठिन हुने अवस्था अब इतिहास बन्ने आशा बढेको छ।
विकासको यात्रामा यस्ता साना तर महत्वपूर्ण पूर्वाधारहरूले ठूलो परिवर्तनको ढोका खोल्छन्। बाग्दुला–मच्छी सडकको स्तरोन्नति पनि त्यही परिवर्तनको संकेत हो जसले स्थानीयको जीवनस्तर सुधार्दै समग्र क्षेत्रको समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।