प्युठानमा वैदिक विजयी,प्रतिस्पर्धी सूर्य थापाले दिए बधाई

प्युठान,प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टिका सुशान्त वैदिक विजयी भएका छन्। प्रतिस्पर्धी पक्ष नेकपा एमालेका उमेदवार सुर्य थापाले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले जनतासँग गरेका वाचा पूरा गर्न सफल कार्यसम्पादन गर्न सकून् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
निर्वाचनपछि जारी गरिएको वक्तव्यमा प्रतिस्पर्धी पक्षले २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा पाँच दलीय घोषित गठबन्धनलाई पराजित गर्दै आफूहरूले चमत्कारिक विजय हासिल गरेको स्मरण गराएका छन्। तर यसपटकको निर्वाचनमा भने अपेक्षाअनुसार परिणाम नआएको उनको भनाइ छ।
वक्तव्य अनुसार यसपटक औपचारिक रूपमा कुनै खुला गठबन्धन नभए पनि १४ जना उम्मेदवार छुट्टाछुट्टै रूपमा चुनावी मैदानमा थिए। तर मतगणनाका क्रममा अन्तिम समयमा आफ्नो सम्भावित विजय रोक्न लोकतान्त्रिक प्रतिस्पर्धाको मर्यादाविपरीत गुप्त रूपमा भोट साटासाट गर्ने ‘म्याच फिक्सिङ’ जस्तो अभ्यास गरिएको दाबी गरिएको छ।
निर्वाचन अभियानका क्रममा आफूविरुद्ध विभिन्न किसिमका अनुचित प्रहार,दुष्प्रचार तथा व्यक्तिगत आरोपहरू पनि लगाइएको आरोप वक्तव्यमा उल्लेख छ। देशस्तरमा तथा प्युठानमा समेत आफूविरुद्ध निरन्तर हमला,आलोचना र अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको दाबी गरिएको छ।
करीब ५० दिनसम्म चलेको चुनावी अभियानमा देश–विदेशबाट तथा जिल्लाभरका समर्थक र मतदाताले दिएको साथप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूले सहयोग र विश्वासप्रति आभार प्रकट गरेका छन्।
वक्तव्यमा प्युठानको विकास र जिल्लाको इज्जत अभिवृद्धिका लागि पदमा रहे वा नरहे पनि निरन्तर सक्रिय भएर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।