नेकपा एमाले प्युठान: पार्टी रणनीति कार्यान्वयनमा जनवर्गीय संगठन अघि सर्दै

नेकपा एमाले प्युठान: पार्टी रणनीति कार्यान्वयनमा जनवर्गीय संगठन अघि सर्दै

प्युठान,आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले निकट जनवर्गीय संगठनहरू निर्वाचन अभियानमा तीव्र रूपमा सक्रिय भएका छन्। पार्टीको केन्द्रीय चुनावी रणनीतिलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित जनवर्गीय संगठनहरूले आ–आफ्ना क्षेत्रगत तथा संगठनगत कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेका हुन्।
उम्मेदवार केन्द्रित अभियानलाई थप सशक्त बनाउने रणनीतिअनुसार अनेरास्ववियु, युवा संघ नेपाल,नेपाल ट्रेड युनियन महासंघ, रिटर्नी फेडेरेसन नेपाल,अखिल नेपाल महिला संघ (अनेम संघ),उद्योग–व्यवसायी संगठन,जातीय मुक्ति संगठन,आदिवासी जनजाति संगठनलगायतका जनवर्गीय संगठनहरूले संयुक्त तथा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्। ती संगठनहरूले घरदैलो, कोणसभा, भेला, अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको प्रचारप्रसारलाई तीव्र बनाउने तयारी गरेका छन्।
सूचनाको प्रभावकारी व्यवस्थापनका लागि सूचना डेस्क स्थापना गरी पार्टीका गतिविधि,चुनावी कार्यक्रम तथा उम्मेदवारका सन्देशलाई व्यवस्थित रूपमा जनतासम्म पुर्‍याउने योजना समेत बनाइएको छ। संगठनहरूले मतदाता शिक्षादेखि लिएर भ्रम चिर्ने कार्यसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच लोक बहादुर महराले आफू नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेको भन्दै फैलाइएका समाचारहरू असत्य र भ्रमपूर्ण भएको बताएका छन्। उनले आफू लामो समयदेखि नेकपा एमालेमै आबद्ध रहेको स्पष्ट पार्दै सूर्य ध्वजाबाहक उम्मेदवार सूर्य बहादुर थापा क्षेत्रीको जित सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने बताएका छन्। महराले मतदातालाई एमाले उम्मेदवारको पक्षमा मतदान गर्न खुला आव्हान समेत गरेका छन्।
जनवर्गीय संगठनहरूको विस्तारित बैठकमा पार्टी अध्यक्ष विजय बिराज बिष्ट र प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य बहादुर थापा क्षेत्रीले संगठनहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै निर्वाचनमा पार्टीलाई निर्णायक सफलता दिलाउन सबै एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्। उनीहरूले जनताको भरोसा र संगठनात्मक सक्रियताले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेका जनवर्गीय संगठनहरूको व्यापक परिचालनले प्युठानको राजनीतिक माहोल थप चर्किँदै गएको छ। संगठनात्मक शक्ति,उम्मेदवारको छवि तथा केन्द्रदेखि स्थानीय तहसम्मको समन्वयले यस निर्वाचनलाई एमालेका लागि निर्णायक बनाउने अपेक्षा गरिएको छ।