प्यूठानमा सर्वदलीय बैठक सम्पन्न,कांग्रेसको खाली कुर्सी चर्चाको विषय

प्यूठानमा सर्वदलीय बैठक सम्पन्न,कांग्रेसको खाली कुर्सी चर्चाको विषय

सिता बि.क
प्यूठान,प्यूठान निर्वाचन नजिकिँदै गर्दा जिल्ला सदरमुकाममा मंगलबार आयोजित सर्वदलीय बैठक अपेक्षाभन्दा फरक ढंगले चर्चा केन्द्रमा रह्यो।प्यूठान जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरिएको उक्त बैठकमा प्रमुख राजनीतिक दलमध्ये एक नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु नै सबैभन्दा ठूलो चासोको विषय बन्यो।
निर्वाचनको संवेदनशील चरणमा बोलाइएको बैठकको उद्देश्य उम्मेदवारको मनोनयन दर्ता,सुरक्षा व्यवस्थापन,निर्वाचन तयारी र आचारसंहिता कार्यान्वयनबारे दलहरूबीच साझा समझदारी बनाउनु थियो।तर कांग्रेसको अनुपस्थितिले बैठकको माहोल केही असहज देखिन्थ्यो। जिल्लामा प्रभावशाली उपस्थिति रहेको दलको सहभागिता नहुँदा छलफल अपूरो जस्तै अनुभूति भएको सहभागीहरूको भनाइ थियो।
बैठकमा नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजयविराज विष्ट,नेपाली कम्युनिष्ट पार्टीका संयोजक यज्ञबहादुर खत्री ‘प्रभात’,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि अमरध्वज राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका बलबहादुर महतरा,राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव चित्रप्रसाद खनाल तथा श्रम संस्कृति पार्टीका गोविन्द गिरी सहभागी थिए। अधिकांश दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिले बैठकलाई बहुपक्षीय बनाएको भए पनि कांग्रेसको खाली कुर्सीले सबैको ध्यान तानिरहेको थियो।
मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाई, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत सहभागिता थियो। बैठकमा निर्वाचनलाई निष्पक्ष,शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन अपनाउनुपर्ने तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठककै क्रममा कांग्रेसको अनुपस्थितिबारे नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूले जिज्ञासा राख्दै प्रश्न उठाएका थिए। तर नेपाली कांग्रेसको तर्फबाट भने हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक भएको छैन। यसले पार्टीभित्रकै रणनीति हो वा संयोगवश अनुपस्थिति भएको हो भन्ने प्रश्नहरूलाई बल दिएको छ।
बैठकले उम्मेदवारको मनोनयन दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन राजनीतिक दलहरूका लागि समय तालिका(समय विभाजन)तय गर्ने निर्णय गरेको छ। निर्वाचनमा अनावश्यक भिडभाड र अव्यवस्था नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको भनाई थियो।
निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दलहरूको सहकार्य अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिए। तर प्रमुख दलको अनुपस्थितिले आगामी दिनमा जिल्लाको राजनीतिक वातावरणमा कस्तो सन्देश जाने हो भन्ने चासो बढ्दै गएको छ। कांग्रेसको मौनताले प्यूठानको चुनावी राजनीति थप रोचक बन्दै जाने संकेत गरेको विश्लेषकहरू बताउँछन्।