सिता बि.क
प्युठान,गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) मार्फत विभिन्न सीप मुलक तालिम लिएर बनेका उद्यमि र सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सरुमारानी गाउँपालिकाको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ मा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम मेड्पा मार्फत सृजना गरिएका नयाँ उद्यमिहरुलाई उद्यमशिलता बिकास,सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण गरेका उद्यमीहरूलाई लघु बित्तमा पहुच र बजारीकरण सम्बन्धि उक्त अन्तरक्रिया कार्यक्रम बहुउद्देश्यीय सभा हल बडडाडामा सम्पन्न गरिएको हो।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा कार्यक्रम सन्चालनका ६ वटा मोडेल मध्ये लघु बित्तमा पहुँच र बजारीकरण मार्फत सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण गरिएका उद्यमीहरूले उत्पादित वस्तुको माग तथा बजार विस्तार गर्नमा कर्जा उपलब्ध हुने तरिका र उत्पादित बस्तुको बजारीकरण सम्बन्धमा सहजता होस भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिको उद्यम बिकास सहजकर्ता सीता बि.क ले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष बसन्ता खड्काले लघु उद्यमिले तयार गर्ने उत्पादनहरुको बजारीकरणमा स्थानीय सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लघु उद्यमि र सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रममा उहाँले गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) स्थानीय तहमा अत्यन्तै प्रभावकारी रहेको औंल्याउदै आगामी बजेटमा लघु,घरेलु तथा साना उद्योगको बिकास र बिस्तारका लागि पालिकाले थप योजना बनाउने समेत जानकारी दिनुभयो।
त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्रबक्ता चिन्त सोमै मगरले सीप बिकास तालिम पस्चात उद्यमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। पालिकाले प्रदान गरिएको तालिम तथा आफुले सन्चालन गर्ने उद्यम व्यवसाय पालिकाको लागि नभइ आफ्नो लागि गर्नुपर्ने उहाँको भनाई थियो।
कार्यक्रममा उद्यम बिकास बिज्ञ इश्वरा आचार्यले बजारीकरणको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।उहाँका अनुसार गरीबी न्यूनीकरण गर्न तथा अति गरीब र विपन्न समुदायको जीवनस्तर सुधार्न लघु उद्यममार्फत आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम सन् १९९८ देखि नेपालमा शुरू भएको हो।
मेड्पा कार्यक्रमले परिवारको आर्थिक विकाससँगै समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले स्थानीय सरकारले यो क्षेत्रमा बजेट बिनियोजन गर्न आग्रह गर्दै उद्यमि मार्फत उत्पादित सामाग्रीको बजारीकरण तर्फ पनि ध्यान दिनुपर्ने उद्यम बिकास बिज्ञ आचार्यको भनाई थियो।
त्यस्तै प्राईम कमर्सियल बैकका प्रवन्धक भीष्म कुमार चौधरीले बैंक मार्फत उद्यमि लाई आबश्यक कर्जा उपलब्ध हुने प्रक्रिया बारे जानकारी गराउदै उद्यम सन्चालन गर्ने उद्यमिलाई कर्जा उपलब्ध गराउन बैक सधै साथमा रहने बताउनुभयो।
कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम लागू भएको वडाका सिलाई कटाई,बुटिक,ड्राइभिङ, इलेक्ट्रीसियन चप्पल उद्यमी तथा सो सँग सम्बन्धित व्यवसायी र सरोकारवाला निकायको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकिय अधिकृत त्रिबिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य आशा बि.क ले गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्