सिलाई कटाई र बुटिकबाट आत्मनिर्भर बन्दै "इन्दिरा" 

सीता बि.क
प्युठान,एउटा सानो सटर कोठा।जहाँ तीन वटा कपडा सिलाउने मेसिन।कोठाका भित्ताभरि सिलाइएका कपडा ।टेबलमा सिलाउन बाँकी कपडा। उनी मेसिन खट्ट्ट चलाउँदै छिन् । भुईमा २ जना महिला कोही नाप्दै,कोही काट्दै अनि कोही सिलाउँदै छन् । यो दृश्य हो प्युठान नगरपालिका –४ विजुवार मा रहेको इप्सन टेलरिङ्ग एण्ड बुटिक सेन्टर हो। त्यस केन्द्रमा शनिबार बाहेक अरू सबै दिन यस्तै दृश्य देखिन्छ ।
कतिपय महिलाहरू कामको खोजीमा विदेश जान भौतारिएका वेला स्वदेशमै बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी छन्।सिलाई कटाई तथा बुटिक तालिम केन्द्रकी सञ्चालक इन्दिरा गुरुङ।घरमा बस्ने खाना पकाउने छोरछोरीलाई स्कुल पठाउने घरको सरसफाईमा व्यस्थ हुने इन्दिरा अहिले यतिमा मात्र सिमित छैनन् ।केही बर्ष अघिसम्म कामको खोजीमा भौतारिएकी उनलाई अहिले कामको भ्याई नभ्याई छ ।उनी अहिले सिलाई कटाई र बुटिक भर्नमा व्यस्त छिन् ।उनी अहिले बिहानदेखि राति अवेरसम्म त्यसैमा काम गर्छिन् ।उनी अहिले आर्थिक रूपमा समेत सबल बन्दै छिन् ।

तस्बिर : यी हुन सिलाई कटाई र बुटिकबाट आत्मनिर्भर बन्दै "इन्दिरा" 


प्युठान नगरपालिकाले सञ्चालन गरेको गरिबी  निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा) अन्तर्गत उद्घमसिलता बिकास तालिम पस्चात सिलाई कटाई तथा बुटिक तालीममा सहभागी भएपछि उनको जीवन शैलीमा एकाएक परिवर्तन आएको हो ।व्यक्तिगत सरसामान र घर खर्च चलाउन श्रीमानकै मुख ताक्ने इन्दिरा आजभोलि आर्थिक रूपमा श्रीमानलाई नै सहयोग गर्न सक्ने भएकी छन् ।‘आफ्नै लगानीमा सामान्य सीप त पहिले नै सिकेको थिए जब मैले प्युठान नगरपालिकाले सञ्चालन गरेको उद्यमशिलता बिकास तालिम पछि ३ महिने सिलाई कटाई सीप बिकास तालिम लिएँ र बजेट बुटो तथा सिलाई कटाई तालिम केन्द्र खोलें त्यसपछि ममा यस्तो परिवर्तन आएको हो’,उनी सुनाउँछिन् । उनलाई पाँच दश हजार हजार पैसाको लागि कसैको मुख ताक्नु पर्दैन ।
घरपरिवार तथा आफन्तजन कसैको लागि पाँच दस हजार आवश्यक परे उनी अहिले दिन तयार छिन् ।अहिले उनीसँग पैसा सापटी लिनको लागि छरछिमेकी आउने गर्दछन् । अहिले उनले मासिक १ लाख ५० हजार भन्दा बढी आम्दानी गरेकी छन् । विगतका दिन सम्झँदै उनी भन्छिन्–‘पहिले श्रीमानको कमाईले ३ जनाको परिवार चलाउन पर्दथ्यो जसले गर्दा गाह्रो थियो ।’तालिम केन्द्र खोलेपछि आफू स्वरोजगार बनेपछि उनको परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । उनले अहिले दुई जना स्थानीय विपन्न महिलाहरूलाई स्वरोजगार समेत बनाएकी छन् । 
उनले भनिन ‘निरन्तर काम गरे त राम्रो छ । मैले अझ बढाएर केही दिदीबहिनीहरूलाई रोजगारी दिने लक्ष्य लिएकी छु ।’ 

घरमा त्यसै बस्नु भन्दा समय अनुसार सीप सिकेर आत्मनिर्भर हुन अन्य महिलाहरूलाई सल्लाह दिन्छिन "इन्दिरा"


उनको केन्द्रमा निरन्तर अहिले २ जना महिलाहरू ज्यालादारि रूपमा काम पाइरहेका छन् ।घरमा त्यसै बस्नु भन्दा समय अनुसार सीप सिकेर आत्मनिर्भर हुन अन्य महिलाहरूलाई समेत सल्लाह उनी दिन्छिन् ।
कपडा सिलाउदै गरेकि गुरुङले मुस्काउँदै भनिन ‘विगतमा आम्दानी नहुँदा अरुको मुख ताक्दा कति पीडा हुन्थ्यो आज भोलि आफैले कमाएर अरुलाई पनि रोजगार दिन पाउँदा खुशी लाग्छ।’सन्तुष्टिको लामो श्वास लिदै उनले भनिन ‘काम गर्ने ईच्छा र आँट भयो भने कम पढेका महिलाले पनि आम्दानी गर्न सकिने रहेछ,ग्राहकको सन्तुष्टिले झनै काम गर्ने जोश बढ्दोरहेछ।’ग्राहकले जस्तो भन्यो त्यस्तै डिजाइनका कपडा सिलाउने भएकाले पनि इन्दिराको पसलमा कपडा सिलाउने र बुटिक भर्नेको भिडभाड नै हुन्छ । सामाजिक सञ्जालमा आएको डिजाईन ग्राहकले देखाउँदै उनलाई बुटिक ब्गर्न र सिलाउन भन्छन् उनले पनि जस्ताको त्यस्तै बुटिक भरेर सिलाइदिन्छिन।उनले भनिन्,‘चाडपर्वको समयमा त अझै राम्रो कमाई हुन्छ।म प्रत्येक दिन बिहान ५ बजेबाट काम शुरु गरि राती १० बजे सम्म पनि सिलाई–कटाई र बुटिक भर्ने गर्छु।’चाडपर्वको बेला धेरै भिड हुने भएकाले कतिपय ग्राहकलाई त फिर्ता समेत पठाउनुपर्ने वाध्यता रहेको गुरुङ्गले बताईन् ।उनको श्रीमान् नेपाल आर्मि हुन्।इन्दिराको काम प्रति उनको श्रीमान् पनि निक्कै सन्तुष्ट भएको उनले बताईन् ।
उनले भनिन्,‘उनको कमाई कति पो हुन्छ र अहिलेको जमाना र बढ्दो महँगीमा एक जनाको मात्रै कमाईले केही गर्न सकिँदैन । एक जनाले जति कमाए पनि खर्च चलाउन मुस्किल हुन्छ आफु पनि आत्मनिर्भर हुनुपर्छ भन्ने कुरामा श्रीमानले पनि प्रोत्साहन गरिरहनुहुन्छ।’हातमा सीप,मिहिनेत र लगनशील भए विदेशमा कमाइने पैसा आफ्नै गाउँ ठाउँमा कमाउन सकिने उनको धारणा छ ।उनी भन्छिन्– ‘यसरी काम गर्न थाले पछि घर परिवार चलाउन निकै सहज र श्रीमानलाई पनि आर्थिक भार कम भएको छ ।’
दैनिक ५ देखि ८ हजारसम्म आम्दानी हुने बताउदैँ गुरुङले यो व्यवसायबाट यति नै बचत भयो भन्ने नभएपनि घर घडेरी जोड्न,घरखर्च,छोराको पढाई लगायतका खर्चमा सहजता भएको बताइन ।
बुटिक सम्बन्धि सिप समेत भएकी इन्दिराले प्युठान नगरपालिका अन्तर्गत गत आर्थिक बर्षमा उत्कृष्ट उद्यमिमा छनोट भई १२ हजार र प्रमाणपत्र द्वारा सम्मानित भएको जानकारी दिईन ।

इन्दिराको बुटिक सेन्टरमा पुग्दा 

प्युठान नगरपालिकाले नगरवासीलाई  स्वरोजगार बन्न सक्ने बनाउन मेड्पा कार्यक्रम अन्तर्गत विभिन्न चरणमा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।नगरपालिकाले नगरभित्रका आर्थिक रूपले विपन्न महिलाहरूलाई वर्ष वर्षमा उनिहरुको आफ्नो रोजाईमा विभिन्न सीप विकास तालिम दिँदै आइरहेको छ।तालिममा सहभागी भएका धेरै जसो महिलाहरु आफ्नो ब्यबसाय सञ्चालन गरेर आत्मनिर्भर भएका छन् ।प्रत्येक आर्थिक बर्षमा क्रमिक सबै वडामा मेड मोडेल मार्फत स्थानीय स्तरमै स्वरोजगार बन्न सफल भएको प्युठान नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्मा बताउँछिन ।यसका कारण तालिम प्राप्त महिलाहरूको अवस्थामा सुधार आएको उनको दावी छ।तालिम लिएकाहरूमध्ये धेरै जसोले सीपको उपयोग गरेका छन् ।कसैले आफ्नै पसल खोलेका छन् ।कसैले अन्य पसलमा गरेर स्वरोजगार बन्न सफल भएको उनको भनाई छ।उनका अनुसार यस आर्थिक वर्षमा नगरपालिकाको ६ नम्बर  वडामा कार्यक्रम संचालन गरिनेछ।यस वर्ष ३० जना थप उद्यमी सिर्जना गर्ने,४० जना पुराना उद्यमीहरूको स्तरोन्नति गर्ने र पुराना दुई वटा उद्यमी समूहलाई प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।लघु उद्यमी कार्यक्रमबाट घरमै बसेर सीमित हुन पुगेका ग्रामीण क्षेत्रका महिलाहरूले आँखा खोलिलिएको भन्दै सहजकर्ता बिश्वकर्माले अब व्यावसायिक रूपमा अगाडि बढ्न महिलाहरूलाई आग्रह समेत गरेकी छिन् ।


 

सीप सिकेर आत्मनिर्भर बनेका यी केही उदाहरण मात्रै हुन।प्युठान नगरपालिकाबाट सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा सकृय अन्य थुप्रै व्यक्तिहरु पनि छन्। उनीहरु आफू आत्मनिर्भर बनेका मात्रै छैनन् कतिपयलाई रोजगारी समेत दिएका छन्।