राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ उमेरले २८ वर्ष पुगे। नगरकै सबैभन्दा कान्छा वडा अध्यक्ष हुन् उनी।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको तर्फबाट वडाध्यक्ष विजयी भएका हुन्। उनले आफ्नो प्रतिद्वन्द्वी नेकपा एमालेका किरण के सि लाई १ सय ७६ मतान्तरले पराजित गरेका थिए।
२०७५ सालमा जुम्री बसपार्क ब्यबस्थापन समितिको अध्यक्ष भएर उनले सामाजिक काम थालेका थिए। जिल्लाको मुक्ति माध्यमिक बिध्यालय रातामाटामा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीति सुरुवात गरे। उनी अनेरास्ववियू (क्रान्तिकारी)को जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य,सचिवालय सदस्य हुँदै अहिले केन्द्रिय सचिब,माओबादी केन्द्र जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य र माओबादी केन्द्र को प्युठान नगरपालिकाका सचीव पनि हुन्।
वडाध्यक्ष निर्वाचित भएपछि गाउँमै जनताको सेवामा व्यस्त देखिन्छन् श्रेष्ठ । विदाका दिन बाहेक १० बजे वडा कार्यालय पुग्छन। ५ बजेसम्म कार्यालयमा बसेर काम गरिरहेका हुन्छन्। जनतालाई समस्या परेको खण्डमा सम्बन्धित ठाउँमै पुगेर सेवा प्रदान गर्छन्। नागरिकलाई समस्या परे राति समेत घरमै पुगेर सहयोग गरेको उनले दाबी गरे।
नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै उनी वडाका विभिन्न टोलटोलमा पुगे।
वडाका बस्ती बस्तीमा पुगेर जनताको अवस्था बुझ्दा धेरै अशक्त नागरिकको पिडाले छोए पश्चात् अभियान नै सञ्चालन गरेर सबै टोलमा रहेका वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दैछन्। ‘वृद्ध बुबाआमा वडा कार्यालयसम्म आउन नसक्ने हुनुहुन्छ। कतिपयवृद्धवृद्धा सहाराविहीन नै हुनुहुन्छ’, उनले भने, ‘त्यसैले टोलमै पुगेर सेवा दिने निर्णय गरेको छु।
श्रावण १२ गते सापडाडा,१३ गते ओखरबोट १५ गते सेपुङ का हिँड्न नसक्ने अशक्त वृद्ध बुवाआमालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण तथा ६८ बर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता नयाँ दर्ताका लागि शिविर सन्चालन गरिने जानकारी दिए।
मुलुक संघीय संरचनामा गइसकेपछि बनेको स्थानीय सरकारका जनप्रतिनिधिले जनताको हितमा पर्याप्त काम गर्न नसकेको भन्दै धेरै गुनासा सुन्ने गरिएको छ ।तर हामी वडा बाटै संघीयताको आभास दिलाउनेछौँ। वडा अध्यक्ष श्रेष्ठले भने "अब नागरिकले सरकार खोजेर आउने होइन,नागरिक खोजेर घरदैलोमा सेवा पुर्याउने स्थानीय सरकारको अभियान हुनुपर्छ ।"
स्थानीय सरकारको अनुभूति दिन र नागरिकलाई सहज र छिटो सेवा प्रवाहका लागि वडा कार्यालयले घरदैलो,टोल,बस्ती र गाउँगाउँमा पुगेर सेवा दिन शुरु गरेको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया राख्नुहोस्