आकस्मिक उपचार प्रभावकारी बनाउन र्‍यापिड एक्सन टिम गठन

प्यार अलि खान 
प्युठान,जिल्लामा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आपतकालीन स्वास्थ्य चुनौतीको प्रतिकार्यका लागि जिल्ला अस्पतालले कार्यदल गठन गरेको छ। फागुन २१ गते बिहीबार हुने मतदानलाई मध्यनजर गर्दै अस्पतालले पूर्वतयारी स्वरूप र्‍यापिड एक्सन टास्क फोर्स गठन गरिएको प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजयराज विष्टले जानकारी गराए।
सम्भावित आपतकालीन स्वास्थ्य चुनौतीलाई ध्यानमा राखी आवश्यक योजना निर्माण, तयारी, समन्वय तथा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न कार्यदल गठन गरिएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पौडेलको संयोजकत्वमा गठित कार्यदलको सदस्य सचिवमा नवीन थापा रहेका छन्। त्यसैगरी सदस्यहरूमा डा.समीर पराजुली, राधादेबी केसी, केशब पण्डित,अनोज श्रेष्ठ र गिरिराज भण्डारी रहेका छन्।
अस्पतालले निर्वाचन अवधिभर स्वास्थ्य सेवा चुस्त र प्रभावकारी बनाउन कार्यदल सक्रिय रहने जनाएको छ।