राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङमा १९ वर्षीया शर्मिला घर्तीको निर्मम हत्या प्रकरणले केवल एक परिवार मात्र होइन,समग्र समाजलाई झस्काएको छ।शर्मिलाको हत्या आरोपमा उनका श्रीमान् २० वर्षीय अनिल घर्ती र देवर १८ वर्षीय जनक घर्ती लाई पक्राउ गरि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माघ १६ गते बेलुका करिब ८ बजे “घुम्न जाऊँ” भन्ने बहानामा शर्मिलालाई घरबाटै लिएर गोन्द्रेचौर नजिकको सुनसान भीरमा पुर्याइएको थियो।प्रारम्भिक अनुसन्धानबाट उनीहरूद्वारा भीरबाट धकेलेर हत्या गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरी विवरणअनुसार पहिलो पटक भीरबाट धकेल्दा शर्मिला करिब ३० मिटर तल अड्किएकी थिइन्। त्यसपछि पनि उनी जीवितै रहेको देखेपछि पुनः धकेल्दा करिब १०० मिटर तल खसेर घटनास्थलमै उनको मृत्यु भएको अनुमान गरिएको छ। घटनास्थलको अवस्था र चोटपटकको प्रकृतिले हत्या योजनाबद्ध हुन सक्ने आशंका बलियो बनेको प्रहरी स्रोतको भनाई छ।
अन्तिम पटक सँगै देखिएका व्यक्ति नै शंकाको घेरामा
शव फेला परेपछि प्रहरीले मृतकसँग अन्तिम पटक सँगै देखिएका व्यक्तिहरूको खोजी थालेको थियो। सो क्रममा श्रीमान् र देवरसँगै शर्मिला घटनास्थलतर्फ गएको खुलेपछि अनुसन्धान उनीहरूमा केन्द्रित भएको हो। सोधपुछका क्रममा बयानमा देखिएको विरोधाभास र अन्य प्रमाणका आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पाँच दिनको म्याद,अनुसन्धान अझै जारी
जिल्ला अदालत प्यूठानबाट पाँच दिनको म्याद थप गरी दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार हत्या पछाडि पारिवारिक विवाद,आपसी सम्बन्ध,आर्थिक वा सामाजिक कारण के थिए भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ।
समाजमा उठेका प्रश्न
कम उमेरमै विवाह भएकी शर्मिलाको यसरी ज्यान जानुले बालविवाह,घरेलु हिंसा र महिलाको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी र महिला अधिकारकर्मीहरूले यस्ता घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाही आवश्यक रहेको बताएका छन्।
स्थानीयको माग
घटनापछि लिबाङ क्षेत्रमा शोकको वातावरण छ। स्थानीयहरूले पीडित परिवारलाई न्याय दिन र यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्यले कडा कदम चाल्नुपर्ने माग गरेका छन्।
प्रहरीले अनुसन्धान पूरा भएपछि सरकारी वकिलमार्फत अदालतमा अभियोग दर्ता गरिने र दोषी ठहरिए कानुन अनुसार कडा सजाय हुने स्पष्ट पारेको छ।
प्रतिक्रिया राख्नुहोस्