राम बहादुर बिश्वकर्मा
प्युठान नगरपालिका–९ अन्तर्गत पर्ने मरन्ठाना–मजुवा सडक खण्ड यतिबेला अबरुद्ध हुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ। मङ्गलबार रातिदेखि परेको बेमौसमी वर्षाले सडक अत्यन्तै हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। ग्रामीण क्षेत्रमा आवतजावतको मुख्य आधार मानिने यही सडक अवरुद्ध हुँदा यहाँका बासिन्दाको दैनिकी नै प्रभावित भएको छ।
लगातारको वर्षासँगै सडक हिलोले ढाकिएपछि कतिपय सवारी साधन बाटोमै फसेका छन्। विशेष गरी बाग्दुला तर्फबाट मजुवा आउने मालवाहक ट्रक तथा मजुवाबाट बाग्दुला जाने पिकअप गाडीहरू गन्तव्यमा पुग्न सकेका छैनन्। हिलोमा फसेका सवारी निकाल्न चालक र सहचालकले घण्टौँसम्म प्रयास गर्नुपरेको छ।
सडक अवरुद्ध हुँदा विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी, स्वास्थ्य सेवा लिन जाने बिरामी तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने स्थानीय सबैभन्दा बढी प्रभावित भएका छन्। हिलाम्मे सडकका कारण पैदल हिँड्न समेत कठिन भएको स्थानीय बताउँछन्। हिलोमा चिप्लिने,लड्ने र कपडा बिग्रिने समस्या सामान्य जस्तै बनेको छ।
बाल विद्या माध्यमिक विद्यालयकी कक्षा ६ की छात्रा अस्मिता सुनार विद्यालय पुग्न निकै सास्ती भोगिरहेको बताउनुहुन्छ। “जुत्ता लगाएर हिँड्नै सकिँदैन,चिप्लिएर लड्ने डर हुन्छ।”
स्थानीय व्यापारीहरू पनि समस्यामा परेका छन्। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समयमा नआउँदा पसलहरूमा अभाव देखिन थालेको छ।
अवरुद्ध सडक खुलाउन प्रक्रिया अगाडि बढिरहेको प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विकास के.सी.ले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिनदेखि प्युठान नगरपालिका मार्फत रिङ रोडमा बिनियोजित क्रमागत बजेट अन्तर्गत नाली कटानको काम भइरहेको थियो। सोही क्रममा आकस्मिक रूपमा परेको बेमौसमी वर्षाले सडक थप बिग्रिएको हो। “मौसमले साथ दिएमा आवश्यक उपकरण प्रयोग गरेर छिट्टै सडक खुलाउने प्रयासमा छौँ,”वडा अध्यक्ष के.सी.ले बताउनुभयो।
स्थानीयवासीहरूले भने हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। अस्थायी मर्मतले दीर्घकालीन समाधान नहुने भन्दै सडक स्तरोन्नति,पक्की नाली निर्माण र उचित ढल व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।
मरन्ठाना–मजुवा सडक केवल एउटा आवागमनको मार्ग मात्र होइन,शिक्षा,स्वास्थ्य,व्यापार र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएको जीवनरेखा हो। त्यसैले यस सडकको दीर्घकालीन सुधार नगरेसम्म स्थानीयले हरेक वर्ष यही सास्ती दोहोर्याइरहनुपर्ने अवस्था देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्