सिता बि.क
नेपालगन्ज,अत्यन्तै रमणीय, प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणले भरिएको स्थल नेपालगन्जको रानिताल अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर-८ मा अवस्थित यो ताल नेपालगन्ज शहरकै सुन्दरताको मुटु जस्तो बनिसकेको छ।
रानितालमा पुग्ने जो–कोही पर्यटकलाई यहाँको मनमोहक वातावरणले तुरुन्तै मोहित बनाउँछ। पोखरीभित्रको स्वच्छ र पारदर्शी पानीमा पौडिरहेका रंगीचंगी माछा सहजै देख्न सकिन्छ, जसले प्रकृतिको सुन्दरता र सन्तुलनको झल्को दिन्छ। बिहानको हल्का घाममा माछा र हाँस खेल्दै गरेको दृश्यले मनमा अद्भुत शान्ति ल्याउँछ।
यहाँको हरियाली,फूलबारी र विश्रामका लागि बनाइएका बेन्चहरू ले रानिताललाई अझ आकर्षक बनाएका छन्। बालबालिकादेखि वृद्धसम्मका लागि यो स्थान मनोरञ्जन,विश्राम र आत्मिक आनन्दको साझा स्थल बनेको छ।
रानिताल केवल दृश्य सौन्दर्यको प्रतीक मात्र होइन, यो नेपालगन्जवासीको सामूहिक पहिचान पनि हो। बिहान–बेलुकी सयर गर्न,साथीभाइ वा परिवारसँग रमाइलो समय बिताउन,फोटा खिच्न वा प्रकृतिसँग नजिक भएर केही क्षण शान्त बस्न चाहनेका लागि यो स्थान उत्तम विकल्प हो।
हाल उप–महानगरपालिकाले रानितालको थप सौन्दर्यीकरण,बाटो विस्तार र प्रकाश व्यवस्थापनमा पनि ध्यान दिँदै आएको छ। यसले भविष्यमा रानिताललाई अझ आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
प्रकृतिको सुगन्ध,बतखको कलरव र पानीमा खेलिरहेका माछाको नृत्य -यी सबै मिलेर रानिताललाई नेपालगन्जको “साना फेवा ताल” बनाइरहेका छन्।
प्रतिक्रिया राख्नुहोस्