साहित्यिक मार्गचित्र प्रस्तुत : साहित्य परिषद प्युठानको ३१ औँ साधारणसभा सम्पन्न

साहित्यिक मार्गचित्र प्रस्तुत : साहित्य परिषद प्युठानको ३१ औँ साधारणसभा सम्पन्न

राम बहादुर बिश्वकर्मा 
प्युठान,साहित्य परिषद प्युठानको ३१ औँ वार्षिक साधारणसभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। तीन दशकभन्दा लामो यात्रामा निरन्तर सक्रिय परिषदले साधारणसभामार्फत संस्थागत परिपक्वता र सिर्जनात्मक ऊर्जा दुवैको परिचय दिएको छ।
वार्षिक प्रतिवेदनले परिषदका गतिविधि–साहित्यिक गोष्ठी,स्रष्टा सम्मान,विद्यालयस्तरीय साहित्यिक कार्यक्रम र प्रकाशन कार्यहरू समेट्दै जिल्लामा सिर्जना संस्कृतिको विकासमा परिषदको योगदान उजागर गरेको छ। आर्थिक प्रतिवेदन र आगामी बजेट पारित गर्दै पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा रचना वाचन विशेष आकर्षण रह्यो। वरिष्ठ साहित्यकारदेखि युवा स्रष्टासम्मले कविता,गजल,मुक्तक र समसामयिक टिप्पणी प्रस्तुत गर्दा सभाहलमा भावनात्मक र बौद्धिक ऊर्जा भरिएको थियो। परिषदको मुखपत्र ‘सुमन’ पत्रिकाको विमोचनले नयाँ लेखकहरूलाई सार्वजनिक मञ्च प्रदान गरेको छ।
युवा र विद्यार्थीहरूको सहभागिता उल्लेखनीय रह्यो। साधारणसभाले जिल्लाका ९ वटै पालिकाका विद्यालयहरूमा सिर्जनात्मक लेखन तालिम सञ्चालन गर्ने आगामी योजना तय गरेको छ। साथै,स्थानीय साहित्यकारहरूको अभिलेख संकलन,जन्मजयन्ती समारोह र नव प्रतिभा प्रोत्साहन कार्यक्रमहरूलाई प्राथमिकता दिइने योजना अघि सारिएको छ। परिषदले आफ्नै भवन निर्माणका लागि जग्गा खोज्ने निर्णय पनि गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बिष्णु बहादुर योगीले साहित्य केवल मनोरञ्जनको साधन नभई चेतना र परिवर्तनको प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो,“समाजमा जे देखिन्छ,जे महसुस गरिन्छ,त्यसलाई इमानदारीपूर्वक अभिव्यक्त गर्ने साहस साहित्यले दिनुपर्छ। असमानता,विभेद,विकृति र विसंगतिलाई उजागर गर्दै सकारात्मक रूपान्तरणको मार्ग देखाउनु साहित्यकारको दायित्व हो।”
उहाँले साहित्यिक गतिविधिहरूलाई नियमित,व्यवस्थित र परिणाममुखी बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।त्यस्तै नेपाल पत्रकार महासंघ प्युठान शाखाका सचिव बासुदेब गिरीले पत्रकार र साहित्यकारबीचको सम्बन्धलाई एउटै सिक्काका दुई पाटाजस्तै रहेको टिप्पणी गर्नुभयो।
उहाँले सत्य,तथ्य र संवेदनालाई अभिव्यक्त गर्ने दुवै क्षेत्रको साझा उद्देश्य समाजलाई सचेत बनाउनु रहेको बताउनुभयो। “पत्रकारिताले तत्कालीन यथार्थ उजागर गर्छ भने साहित्यले त्यस यथार्थको गहिराइमा पुगेर दीर्घकालीन प्रभाव पार्छ,” उहाँले भन्नुभयो, “यी दुई क्षेत्र एकआपसमा जोडिएर अघि बढे जिल्लाको साहित्यिक तथा बौद्धिक वातावरण थप सशक्त बन्नेछ।”
सचिव गिरीले स्थानीय स्तरमा सिर्जना भएका साहित्यिक कृतिहरूलाई सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार पत्रकार र साहित्यकारबीच सहकार्य बढेमा नयाँ प्रतिभाको पहिचान,साहित्यिक बहसको विस्तार तथा जिल्लाको साहित्यलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण टेवा पुग्नेछ।
उहाँको भनाइले कार्यक्रमलाई सञ्चार र साहित्यबीचको सहकार्यको नयाँ सन्देश दिएको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको क्रममा अध्यक्ष बिमला खनालले परिषदको विगत गतिविधि,उपलब्धि र आगामी योजनाहरूको सार प्रस्तुत गर्दै सहभागीहरूलाई मार्गदर्शन गर्नुभएको थियो। उहाँले नयाँ संकल्पहरू कार्यान्वयनमा ल्याउन सबै सदस्य र स्थानीय स्रष्टाहरूको सक्रिय सहभागिताको आवश्यकता औंल्याउनुभयो।
कोषाध्यक्ष श्याम बिष्ट द्वारा प्रस्तुत आर्थिक प्रतिबेदनले परिषदको वित्तीय पारदर्शिता र दिगो व्यवस्थापनलाई प्रमाणित गरेको थियो। उहाँले आगामी योजनाहरूका लागि बजेटको प्रबन्ध, स्रोत जुटाउने रणनीति र संभावित सहयोगीहरूको सम्भावनाबारे स्पष्ट जानकारी प्रदान गर्नुभएको थियो।
उपाध्यक्ष ध्रुव गिरीको स्वागत मन्तब्य,सदस्य भानुभक्त पोख्रेलको समिक्षात्मक टिप्पणीले ‘सुमन’ पत्रिकाको साहित्यिक स्तर,रचनाको विविधता, विषयवस्तुको गहिराई र प्रस्तुतीकरणको गुणस्तरमाथि विस्तृत दृष्टिकोण प्रदान गरेको थियो। यसले पत्रिकाको सुधार र भविष्यका अंकका लागि उपयोगी सुझाव पनि दिएको थियो।
सचिव राजकुमारी कुवर(सानू गुल्मेली)ले कार्यक्रमको समग्र सञ्चालनमा प्रवीणता देखाउँदै समय व्यवस्थापन, प्रस्तुतिहरूको क्रम र अतिथिहरूको सहभागितालाई सहज बनाउने काम गर्नुभयो। उहाँको व्यवस्थापनले कार्यक्रमलाई थप प्रभावकारी,अनुशासित र सहभागीहरूका लागि आकर्षक बनाएको सहभागीहरूले उल्लेख गरेका थिए।