कार्तिक १५ गते होइन,स्वर्णविन्दु प्राशन १६ गते नै हो : प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र को स्पष्टोक्ति

कार्तिक १५ गते होइन,स्वर्णविन्दु प्राशन १६ गते नै हो : प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र को स्पष्टोक्ति

राम बहादुर बिश्वकर्मा
प्यूठान,स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुने मितिबारे अभिभावकमा देखिएको अन्योल हटाउँदै प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले कार्तिक १६ गते नै कार्यक्रम सञ्चालन हुने स्पष्ट पारेको छ।
यसअघि स्वास्थ्य केन्द्रले वितरण गरेको कार्डमा कार्तिक १५ गते मिति उल्लेख भएपछि कार्यक्रम कुन दिन सञ्चालन हुन्छ भन्ने विषयमा अभिभावकहरूमा द्विविधा उत्पन्न भएको थियो। स्वास्थ्य केन्द्रका अध्यक्ष रमेश बिश्वकर्माले उक्त अन्योल स्पष्ट पार्दै स्वर्णविन्दु प्राशन कार्तिक १६ गते नै हुने जानकारी दिएका हुन्।
उनका अनुसार पुष्य नक्षत्र कार्तिक १५ गते दिउँसोदेखि १६ गतेसम्म रहने भएकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको मार्गदर्शनअनुसार कार्तिक १६ गतेलाई स्वर्णविन्दु प्राशनका लागि उपयुक्त मानिएको हो।स्वर्णविन्दु प्राशन कार्यक्रमको मिति फरक परेपछि अभिभावकहरूमा परेको अन्योललाई सम्बोधन गर्दै स्वास्थ्य केन्द्रले आगामी दिनमा निर्धारित वार्षिक कार्यतालिकाअनुसार नै कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
स्वास्थ्य केन्द्रले यसअघि वितरण गरिएको कार्डमा मिति फरक उल्लेख हुन गएकोप्रति क्षमायाचना गर्दै अभिभावकलाई सही मितिबारे जानकारी गराएको छ। साथै,आगामी कार्यक्रमहरूमा सूचना तथा कार्यतालिकालाई थप व्यवस्थित र स्पष्ट बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
स्वर्णविन्दु प्राशनसम्बन्धी सूचनामा देखिएको सानो त्रुटिले अभिभावकमा अन्योल सिर्जना गरे पनि स्वास्थ्य केन्द्रले समयमै स्पष्ट पारेपछि कार्यक्रमको वास्तविक मितिबारे जानकारी प्राप्त भएको छ।