प्यूठानमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु,१० टिमबीच प्रतिस्पर्धा

प्यूठानमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु,१० टिमबीच प्रतिस्पर्धा

राम बहादुर बिश्वकर्मा
प्यूठान,स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै नयाँ खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्यूठानमा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्यूठान नगरपालिका–३ को आयोजनामा गणतान्त्रिक खेलमैदान बिजुवारमा सुरु भएको प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको उद्घाटन प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख योगीले खेलकुद मानव जीवनको महत्वपूर्ण विधा भएको बताउनुभयो। खेलकुदले युवाहरूलाई अनुशासित,स्वस्थ र सक्षम बनाउनुका साथै आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो। स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभावान खेलाडीलाई अगाडि बढ्न प्रेरित गर्नुका साथै कुशल खेलाडी उत्पादनमा समेत टेवा पुर्‍याउने उहाँले बताउनुभयो।
उहाँले खेलकुदको विकास कुनै एउटा वडा वा पालिकाको मात्र प्रयासले सम्भव नहुने भन्दै समग्र पालिकाको साझा पहल र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा प्यूठान नगरपालिका–३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता सुमनराज श्रेष्ठले खेलकुदलाई युवा विकासको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले युवाहरूलाई खेलमार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण सिर्जना गर्नुका साथै प्यूठान नगरपालिकालाई खेलकुदको हबका रूपमा विकास गर्ने लक्ष्य राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार खेलकुद प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने,खेलाडीबीच आपसी सम्बन्ध र सहकार्य बढाउने तथा खेल संस्कृतिको विकास गर्ने महत्वपूर्ण अवसर पनि हो।
कार्यक्रममा प्यूठान नगरपालिका–९ का वडा अध्यक्ष विकास के.सी,नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
पत्रकार प्रकाश वैद्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार हरि भण्डारीले गर्नुभएको थियो।
१० टिमको सहभागिता रहेको प्रतियोगिताले जिल्लाभित्रका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नेछ।साथै,स्थानीय स्तरमा भलिबल खेलप्रतिको आकर्षण बढाउँदै खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।