विजयसिंह भारती
प्यूठान,राजनीतिमा प्रवेश गर्नु एउटा सुरुवात हो,तर त्यसलाई निरन्तरता दिँदै संगठनभित्र आफ्नो पहिचान बनाउनु र नेतृत्वको तहसम्म पुग्नु आफैंमा चुनौतीपूर्ण यात्रा हो । त्यही चुनौतीपूर्ण यात्रालाई पार गर्दै अघि बढेकी नेतृ हुन्— प्यूठानकी निमा गिरी ।
उनी काङ्ग्रेसको विद्यार्थी राजनिती गर्दा प्यूठानको हावापानी सबै कम्युनिष्ट राजनितीबाट प्रभावित थियो । तर, बिचारमा सधै अडिग रहने स्वभावले गर्दा फरक धारमा निरन्तर उभ्याउदै विद्यार्थी नेतृमा मात्र सीमित नभई राजनीतिमा प्रवेश गरेकी उनी लुम्बिनी प्रदेश सभा सदस्य, नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सहमहामन्त्री हुँदै अहिले पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्य
सहित अघि बढेकी छन् ।
पारिवारिक पृष्ठभुमि
प्यूठान झिमरुक गाउँपालिका-७ मच्छीमा मध्यमबर्गिय राजनीतिक सचेत परिवारमा निमा गिरीको जन्म भएको हो ।
नेपालमा माधवराज जोशी (वि.सं. १९५३)को नेतृत्वमा आर्य समाजको स्थापना भएको थियो भने प्यूठानमा जेदु गिरीले त्यसको नेतृत्व गरेका थिय । त्यतिबेलाको राणा सरकारले प्रजातन्त्रको पक्षमा लागेको भनी उनलाई २००५ सालमा जेल हालेको थियो । त्यही आर्य समाज पछि प्यूठानमा नेपाली काङ्ग्रेसमा परिवर्तन भएको थियो । त्यही गिरी परिवारकी तेस्रो पुस्ताकी सन्तान हुन - निमा गिरी ।
राजनीतिक निरन्तरता
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएकी गिरी १५ औँ महाधिवेशनमा भने केन्द्रीय नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गर्ने तयारीमा छिन ।
उनको राजनीतिक यात्रा हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ- पदभन्दा बढी निरन्तरता,संगठनसँगको सम्बन्ध र आफूलाई निरन्तर अद्यावधिक गर्दै अघि बढ्ने प्रयास ।
विद्यार्थी संगठनमा रहँदा प्राप्त गरेको राजनीतिक अनुभवलाई उनले पार्टी राजनीतिमा अब्बल तरिकाले सम्पादन गरेकी छन । संगठनसँग जोडिएर काम गर्ने, कार्यकर्तासँग सम्बन्ध विस्तार गर्ने र राजनीतिक गतिविधिमा सक्रिय रहने उनको शैलीले उनलाई पार्टीभित्र क्रमशः स्थापित गराउँदै लग्यो ।
राजनीतिमा लामो समय टिक्नका लागि अवसरभन्दा पनि निरन्तरता महत्वपूर्ण मानिन्छ । गिरीको राजनीतिक यात्राको विशेषता पनि यही निरन्तरता हो ।
उनी १२ औँ महाधिवेशनमा (२०६७ साल) देशै भरिको कान्छी महाधिवेशन प्रतिनिधि/महासमिति सदस्य हुन । त्यस यता उनी लगातार महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदै आएकी छन् ।
महाधिवेशन प्रतिनिधिका रूपमा निरन्तर रहनुले पार्टीको संगठनात्मक गतिविधि र नेतृत्व चयन प्रक्रियासँग उनको लामो सम्बन्ध देखाउँछ । विभिन्न महाधिवेशन मार्फत पार्टीको नीति, नेतृत्व र संगठन निर्माणको प्रक्रियालाई नजिकबाट अनुभव गर्ने अवसर समेत उनले पाएकी छन् ।
यही निरन्तर राजनीतिक उपस्थितिलाई अहिले उनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्ने आधार बनाएकी छन् ।
प्रदेशसभादेखि पार्टीको नेतृत्वसम्म
गिरी नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य समेत भइन् । प्रदेशसभा सदस्यका रूपमा उनले जनप्रतिनिधिको भूमिका निर्वाह गरिन् ।
प्रदेशसभाको अनुभवले उनको राजनीतिक यात्रालाई अर्को आयाम दियो । पार्टी संगठनमा काम गर्ने अनुभवसँगै जनप्रतिनिधिका रूपमा जनताका समस्या, विकासका आवश्यकता र सार्वजनिक नीतिका विषयमा प्रत्यक्ष काम गर्ने अवसर उनले पाइन् । लुम्बिनी प्रदेश सभामा आफ्नो रिपोर्ट कार्ड प्रस्तुत गर्ने उनको कार्य शैली देशभर चर्चा रहेको छ । साथै लुम्बिनी सभामा जब निमा गिरी बोल्न सुरु गर्छिन तब सबैको ध्यानाकर्षण हुन्छ । किनकी, उनी सबै क्षेत्र, तथ्य समेटेर सत्य कुरा प्रस्तुत गर्छिन । लुम्बिनी सभामा सत्ताको ताबेदारी होईन सत्यको वकालत गर्छिन ।प्यूठानबाट केन्द्रतर्फको यात्रा
प्यूठानको राजनीतिक परिवेशमा निमा गिरीको यात्रा महिला तथा युवा नेतृत्वको निरन्तरताका रूपमा पनि हेरिएको छ ।
जिल्लाबाट राजनीतिक यात्रा सुरु गरेर प्रदेश हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्नु आफैंमा लामो राजनीतिक यात्राको परिणाम हो । विद्यार्थी राजनीतिबाटै संगठनमा जोडिएकी गिरीले विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक दायरा विस्तार गरेकी छन् ।
उनको राजनीतिक यात्रा पछिल्लो पुस्ताका महिला तथा युवाका लागि पनि चासोको विषय बनेको छ । विशेषगरी राजनीतिमा सक्रिय रहँदै अध्ययनलाई समेत निरन्तरता दिएकी गिरीको यात्रा संगठन, संघर्ष र अवसरको संयोजनका रूपमा देखिन्छ ।यात्राको अर्को मोड
राजनीतिक यात्रा कहिल्यै सीधा रेखाजस्तो हुँदैन । अवसरसँगै चुनौती आउँछन्, जिम्मेवारीसँगै अपेक्षा थपिन्छन् र हरेक नयाँ भूमिकाले नेतृत्वको परीक्षा लिन्छ ।
निमा गिरीको राजनीतिक यात्रा पनि यस्तै क्रमिक विकासको कथा हो—नेपाल विद्यार्थी संघबाट सुरु भएको यात्रा, महाधिवेशन प्रतिनिधिको निरन्तरता, लुम्बिनी प्रदेशसभा सदस्यको जिम्मेवारी, पार्टीको लुम्बिनी प्रदेश समिति सहमहामन्त्रीको भूमिका र अब कांग्रेसको केन्द्रीय सदस्य बन्ने लक्ष्य ।
तीन विषयमा स्नातकोत्तर अध्ययन, लामो राजनीतिक सक्रियता र संगठनसँगको निरन्तर सम्बन्ध उनको यात्राका महत्वपूर्ण पक्ष हुन् ।
अब १५ औँ महाधिवेशनसँगै गिरीको राजनीतिक यात्राले अर्को मोड लिँदैछ । प्यूठानबाट सुरु भएको उनको यात्रा कांग्रेसको केन्द्रीय संरचनामा कति अगाडि बढ्छ भन्ने विषय महाधिवेशनको प्रक्रियाले तय गर्नेछ ।
तर एउटा कुरा भने स्पष्ट छ- विद्यार्थी राजनीतिबाट सुरु भएको निमा गिरीको राजनीतिक यात्रा अहिले प्यूठानको सीमाबाट बाहिरिएर कांग्रेसको केन्द्रीय नेतृत्वको दाबीसम्म पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्