राम बहादुर बिश्वकर्मा
प्युठान,कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानमा प्रभावकारी देखिएको छ।यहाँका विभिन्न पालिकाभित्र जोन,पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ ।
मंगलबार आयोजना गरिएको पकेट/ब्लक विकास कार्यक्रम तथा प्रगति समीक्षा कार्यक्रमबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो।
कार्यालय प्रमुख चुमानसिह गिरीले जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा जानकारी दिदै आर्थिक वर्ष २०८१/८२ मा ९२.७४ प्रतिशत वित्तीय प्रगति हासिल गरी लक्ष्य नजिक पुगेको बताउनुभयो ।
उहाँले परियोजनाको चालु आर्थिक बर्षको प्रगति विवरण प्रस्तुत गर्दै,कृषकहरूको जीवनस्तर सुधारका लागि परियोजनाले महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्नुभयो । साथै,प्युठान जिल्लामा क्षेत्र विस्तार सहज होस् भन्ने उद्देश्यले पनि प्रगति समीक्षा तथा रिपोर्टिङ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
परियोजना प्रमुख गिरीका अनुसार धान २ हजार ८९८ हेक्टर, तरकारी ५५३ हेक्टर, र अदुवा-बेसार ३८८ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालनमा छन्।
परियोजना प्युठानका प्रमुख गिरीले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको विकासका लागि कार्यालयले विशेष रणनीतिअनुसार काम गर्दै आएको जानकारी दिदै किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको जानकारी दिनुभयो।
जोन अन्तर्गत जिल्लाका ९ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहका २४ वटा वडामा कार्यान्वयनमा रहेको छ जस अन्तर्गत धान,तरकारी,अदुवा तथा बेसार उत्पादन क्षेत्र (पकेट) मा काम गरिँदै आएको छ।
पालिकाका कृषि शाखा प्रमुखबाट जनताले गरेका अपेक्षाका बारेमा जानकारी लिई भएका कामको सो अवसरमा समीक्षा समेत गरिएको छ ।
ब्लक विकास कार्यक्रम तथा प्रगति समीक्षा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति का प्रमुख धरमबहादुर जिसीले जिल्लामा परियोजना सञ्चालनमा आएपछि जिल्लाको कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवन स्तरमा सुधार आएको बताउनुभयो।
उहाँका अनुसार क्रमशः प्युठान जिल्ला तरकारी र कृषि उत्पादन पकेट क्षेत्रका रूपमा परिचित हुँदै गएको छ।
प्रतिक्रिया राख्नुहोस्