राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीदेखि श्रमिक र विपन्न परिवारसम्म परेको छ।कोठा भाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थी र दैनिक ज्यालादारी गर्ने परिवार ग्यास नपाउँदा समस्या भोग्न बाध्य भएका छन्।
यही अवस्थालाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला समिति प्यूठानले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै बजारमा देखिएको कृत्रिम अभाव,कालोबजारी र वितरण प्रणालीको अव्यवस्थाप्रति तत्काल हस्तक्षेप गर्न माग गरेको छ। ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंलाई बुझाइएको हो।
संगठनले बजार अनुगमन प्रभावकारी बनाई उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन आग्रह गरेको छ। साथै संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन, निजी विद्यालयको १० प्रतिशत निःशुल्क छात्रवृत्तिको विवरण सार्वजनिक गर्न, शैक्षिक क्षेत्रमा लगाइएको ३ प्रतिशत कर फिर्ता लिन तथा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा राजनीतिक दलका जिल्ला तहका पदाधिकारीले अध्यापन गराइरहेको विषयमा समेत ध्यानाकर्षण गराएको छ।
अनेरास्ववियुले विद्यार्थी अधिकार,सामाजिक न्याय र जनजीविकाका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै मागहरूमा प्रशासनले तत्काल पहल नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्न सकिने जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्