राम बहादुर विश्वकर्मा
प्युठान,अभिभावकका काखमा चञ्चल बालबालिका।कतै आमाको औँला समाउँदै,कतै बुबाको साथमा स्वास्थ्य केन्द्र पुगेका नानीहरू।उनीहरूको उपस्थितिले बुधबार प्युठानका आयुर्वेदिक स्वास्थ्य संस्थाहरूमा छुट्टै रौनक देखिन्थ्यो।
बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्ण बिन्दु प्राशन कार्यक्रममा जिल्लाभरका २ हजार ३ सय ७९ जना बालबालिका सहभागी भए।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार कार्यक्रममा १ हजार २ सय ८९ जना बालक र १ हजार ९० जना बालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको हो।
बालबालिकाको स्वास्थ्यप्रति अभिभावकको बढ्दो चासो र आयुर्वेदिक उपचार पद्धतिप्रतिको विश्वास कार्यक्रमको सहभागिताबाट स्पष्ट देखिन्थ्यो। आफ्ना सन्तान स्वस्थ रहून्,रोगसँग लड्ने क्षमता बढोस् र उनीहरूको शारीरिक तथा मानसिक विकास राम्रो होस् भन्ने अपेक्षासहित अभिभावकहरू बालबालिकालाई लिएर कार्यक्रममा पुगेका थिए।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष रमेश विश्वकर्माका अनुसार जिल्लाभर २ हजार ३ सय ७९ जना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको हो।
आयुर्वेदिक स्वास्थ्य पद्धतिमा बाल स्वास्थ्यसँग जोडिएको स्वर्ण बिन्दु प्राशनलाई महत्वपूर्ण मानिन्छ।बालबालिकाको स्वास्थ्य संरक्षणसँगै आयुर्वेदिक चिकित्सा पद्धतिबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
तर,जिल्लाभरका बालबालिकालाई एउटै केन्द्रबाट सेवा प्रदान गरिँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको गुनासोसमेत गरेका छन्। लामो दूरीको यात्रा,समय र खर्चका कारण विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका अभिभावकलाई समस्या भएको उनीहरूको भनाइ छ।
बिहाननै देखि स्वर्ण प्रशानका लागि लामबद्द अभिभावक सहित बालबालिकाहरु
दूरदराजका गाउँबाट साना बालबालिकालाई लिएर सदरमुकामसम्म आउनुपर्ने बाध्यता हुँदा कतिपय अभिभावकलाई कठिनाइ भएको बताइएको छ। कार्यक्रमबारे सबै अभिभावकलाई समयमै पर्याप्त जानकारी नहुनु तथा भौगोलिक दूरीका कारण धेरै बालबालिका स्वर्ण बिन्दु प्राशन सेवाबाट छुटेको गुनासोसमेत गरिएको छ।
एकातर्फ बाल स्वास्थ्यका लागि महत्वपूर्ण मानिएको कार्यक्रम सञ्चालन हुनु सकारात्मक भए पनि अर्कोतर्फ सेवाको पहुँच र व्यवस्थापनमा सुधारको आवश्यकता देखिएको सेवाग्राहीहरूको भनाइ छ।
“जिल्लाका सबै पालिकाबाट बालबालिकालाई एउटै स्थानमा ल्याउनुभन्दा स्थानीय तह वा सम्बन्धित स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिएको भए अझ धेरै बालबालिका लाभान्वित हुन सक्थे,” सेवाग्राहीहरूको सुझाव छ।
स्वर्ण बिन्दु प्राशन कार्यक्रमले बाल स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर सिर्जना गरेको छ।तर,आगामी दिनमा सेवाको विकेन्द्रीकरण,स्थानीय तहसँगको प्रभावकारी समन्वय र पर्याप्त सूचना प्रवाहमा ध्यान दिनुपर्ने देखिन्छ।
कार्यक्रमको सफलता केवल कति बालबालिकाले सेवा पाए भन्ने तथ्याङ्कले मात्र होइन,सेवा लिन चाहने कुनै पनि बालबालिका पहुँचको अभावमा छुटे कि छुटेनन् भन्ने प्रश्नले पनि निर्धारण गर्छ।
प्रतिक्रिया राख्नुहोस्