बाल बिध्या माबी मजुवामा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न

बाल बिध्या माबी मजुवामा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका नगर स्तरिय जेष्ठ नागरिक संजालले अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको भन्दै प्युठान नगरपालिका  वडा नम्बर ९ मरन्ठानामा रहेको बाल बिध्या माध्यमिक विद्यालयमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम गरिएको हो।
ज्येष्ठ नागरिकमा भएको सीप र प्रतिभालाई नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्दै बिद्यालयमा फरक कार्यक्रमको आयोजना गर्दै ज्येष्ठ नागरिकको अनुभव आदान प्रदान सहित विद्यार्थीलाई विभिन्न खाले सिप सिकाइएको थियो । सो कार्यक्रममा विद्यार्थीले उत्साहजनक सहभागीता जनाएका थिए।
कार्यक्रममा कक्षा १० का ६० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि ले ज्येष्ठ नागरिकको सम्मान, उचित स्याहार,माया प्रेम गर्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए। उनले मरेपछि ठुलो भोज गर्नुको साटो जिउँदैमा उचित सम्मान र माया दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष गेहराज शर्मा र सदस्य कमल पोख्रेलले सहजीकरण गरेका थिए। सहजीकरण गर्दै जेष्ठ नागरिक जिल्ला संघ का अध्यक्ष शर्माले प्युठान नगरपालिकाले विद्यार्थीलाई वहुउपयोगी ज्ञान सिकाउन यस खाले कार्यक्रम सञ्चालन गर्नु आफैंमा राम्रो भएको बताएका थिए । उनले आफ्ना पिता पुर्खाबाट सिक्नु पर्ने अनेकौं कला,संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजानु पर्ने धारणा राखेका थिए ।
पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप,कला तथा संस्कृति हराउँदै गएको भन्दै कार्यक्रमले पहिलेका पुस्ताले पछिल्लो पुस्तामा सीप हस्तान्तरण गर्नुपर्छ भन्ने सन्देश दिएको बिध्यालय प्र अ केशु गिरीले  बताए।बिध्यालयमा आई  बालबालिका बिच उपयोगी कार्यक्रम संचालन गरेकोमा प्युठान नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यार्थीलाई पढाइका अतिरिक्त व्यवहारिक शिक्षा पनि दिनुपर्ने र उनीहरुलाई पुराना संस्कार र संस्कृति जोगाएर राख्नुपर्ने रहेछ भन्ने कुराको आभाष दिलाउन कार्यक्रमको आयोजना गरेको प्युठान नगरपालिकाले जनाएको छ।