राम बहादुर विश्वकर्मा
प्युठान,स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई बजारसँग जोड्दै उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरुमारानी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत बजारीकरण तथा लघु कर्जा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बजार व्यवस्थापन,वित्तीय पहुँच,ब्रान्डिङ,प्याकेजिङ तथा व्यवसाय विस्तारका विषयमा उद्यमीलाई व्यावहारिक जानकारी प्रदान गरिएको छ।
चालु आर्थिक वर्षअन्तर्गत मेड् मोडेलको अन्तिम चरणका रूपमा पालिकाको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको प्रभावकारी बजारीकरण,बजारसँगको पहुँच विस्तार तथा लघु कर्जामार्फत उद्यमलाई दिगो र प्रतिस्पर्धी बनाउने विषयमा छलफल गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बोल्दै अध्यक्ष बिश्वकर्माले उद्यमशीलता विकासलाई गाउँपालिकाले गरिबी न्यूनीकरण र आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएको बताउनुभयो। उहाँले स्थानीय स्रोत,सीप र श्रमको उपयोग गर्दै उत्पादनमा जोडिएका उद्यमीहरूलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सहजीकरण गर्न पालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो,"उद्यमीले उत्पादन गरेका वस्तु गुणस्तरीय भए पनि उचित बजार नपाउँदा अपेक्षित आम्दानी लिन सकिरहेका छैनन्। त्यसैले पालिकाले स्थानीय उत्पादनको बजारीकरण,ब्रान्डिङ,प्याकेजिङ तथा बजार विस्तारका लागि आवश्यक सहकार्य र समन्वय गर्दै उद्यमीको उत्पादनलाई उपभोक्तासम्म पुर्याउने जिम्मेवारी लिएको छ। रोजगार र स्वरोजगार सिर्जना गर्न गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ र आगामी दिनमा पनि उद्यममैत्री कार्यक्रमलाई निरन्तरता दिइनेछ।"
त्यस्तै गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले मेड्पा कार्यक्रमले विशेषगरी महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले लामो समयदेखि अवसरबाट वञ्चित महिलाहरू अहिले उद्यममार्फत आत्मनिर्भर बन्दै गएको भन्दै त्यसलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो,"महिलाहरूको आत्मनिर्भरता परिवार र समाजको समृद्धिसँग जोडिएको विषय हो। मेड्पा कार्यक्रमले महिलामा आत्मविश्वास,नेतृत्व क्षमता र आर्थिक सक्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। प्रत्येक महिलाले आफ्नो क्षमता पहिचान गरी उद्यमसँग जोडिन सके समग्र गाउँपालिकाको आर्थिक अवस्था अझ सुदृढ बन्नेछ।"
कार्यक्रममा प्राइम कमर्सियल बैंकका शाखा प्रबन्धक भीष्मकुमार चौधरीले लघु कर्जाको पहुँच,कर्जाको सही उपयोग,बचत संस्कार तथा वित्तीय अनुशासनका विषयमा प्रशिक्षण दिनुभयो।उहाँले योजनाबद्ध रूपमा कर्जा परिचालन गर्न सके साना उद्यम पनि सफल व्यवसायमा रूपान्तरण हुन सक्ने बताउनुभयो।
त्यसैगरी ऐरावती बहुउद्देश्यीय कृषि सहकारी संस्थाका व्यवस्थापक रेवती खनालले उत्पादनको गुणस्तर,ब्रान्डिङ,प्याकेजिङ,बजार विश्लेषण तथा आधुनिक बजारीकरणका विविध पक्षबारे सहजीकरण गर्नुभयो। उहाँले उत्पादनसँगै बजारको माग र उपभोक्ताको रुचिअनुसार रणनीति अपनाउन सके स्थानीय उत्पादनले पनि व्यापक बजार प्राप्त गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशासकिय अधिकृत लक्ष्मण आचार्य, प्राइम कमर्सियल बैंकका कर्जा विभाग प्रमुख दीपक ज्ञवाली,नेपाल स्वास्थ्यका लागि पानी परियोजनाका प्रमुख लोकबहादुर भाट, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख प्रजेस चौधरी,मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख नवीन केएम,सक्रिय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सरस्वता खनाल,साना किसान कृषि सहकारी संस्था लिमिटेडकी व्यवस्थापक दिलमाया जी.सी.,शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक टेम्पल सारु मगर लगायत विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्