राम बहादुर बिश्वकर्मा
प्यूठान,बिहानको शान्त वातावरणमा प्यूठान अस्पतालको डायलासिस कक्षमा नयाँ जीवनको सुरुवात भयो। ५२ वर्षीय पहलमान बिष्ट,जो लामो समयदेखि मृगौला रोगसँग जुध्दै आएका थिए,आज पहिलोपटक आफ्नै जिल्लामा डायलासिस सेवा पाएर राहतको सास फेरे।
“म विगतमा बुटवलमा बस्नुपर्थ्यो।लामो यात्रा र खर्चले धेरै थकित थिएँ।अब घरकै नजिक उपचार पाउँदा शरीर र मन दुवैमा राहत महसुस भयो,” बिष्टले भने।अघिल्लो समय प्यूठानका मृगौला रोगीहरूले हप्तामा दुई–तीन पटक लमही,बुटवल,नेपालगञ्ज वा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता थियो।आर्थिक बोझ,यात्रा कठिनाइ र समयको कमीले बिरामी र परिवार दुवैलाई तनावमा राख्थ्यो। अब प्यूठानमै डायलासिस सेवा उपलब्ध भएपछि बिरामीहरूले घरकै नजिक नियमित उपचार पाउनेछन्।
डायलासिस सेवा सुरु गर्न लायन्स क्लब अफ प्यूठानको पहल निर्णायक सावित भएको छ। करिब १ करोड ७६ लाख रुपैयाँको लगानीमा सञ्चालन भएको यस परियोजनामा ७५ प्रतिशत रकम क्लबले र बाँकी २५ प्रतिशत स्थानीय तहले सहयोग गरेका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलका अनुसार,स्थानीय सरकार,लायन्स क्लब प्युठान,जिल्ला गैरसरकारी संस्था,उद्योग–व्यबसायी संघ र होटल व्यवसायी संघको आर्थिक सहयोगमा ८ वटा डायलासिस मेसिन सञ्चालनमा आउनेछन्। बिरामीको अवस्था अनुसार हप्तामा दुई पटकसम्म डायलासिस आवश्यक पर्छ। सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत नर्सिङ महाशाखामा सूचीकृत हुन आवश्यक कागजात पठाउने तयारी पनि भइरहेको छ।
“अब सेवा घर नजिक उपलब्ध भएपछि बिरामीको जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ,”डा.पौडेलले बताए।
अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले भने,“हामी केवल डायलासिस सेवा मात्र होइन,मृगौला रोग सम्बन्धी जनचेतना,नियमित स्वास्थ्य परीक्षण र आकस्मिक उपचार प्रणाली पनि मजबुत बनाउने योजना अघि बढाइरहेका छौं।”
अब प्यूठानमै सेवा उपलब्ध भएपछि छिमेकी रोल्पा,अर्घाखाँची र गुल्मीका बिरामीले पनि लाभ लिन सक्नेछन्।यो सेवा केवल उपचार सुविधा विस्तार होइन,स्थानीय जीवनस्तर सुधार र बिरामीको जीवनमा नयाँ आशाको किरण पनि हो।
प्यूठान अस्पतालले स्वास्थ्य सेवा पहुँचमा ल्याएको यो पहलले बिरामी,परिवार र समाजलाई प्रत्यक्ष राहत र विश्वास दिलाएको छ।
प्रतिक्रिया राख्नुहोस्