राम बहादुर विश्वकर्मा
प्युठान,बुटवलमा सम्पन्न नेपाल स्वास्थ्यकर्मी संघको लुम्बिनी प्रदेश स्तरीय अधिवेशनले संगठनलाई नयाँ दिशातर्फ अगाडि बढाउने अपेक्षासहित नयाँ नेतृत्व चयन गरेको छ। सहमति,एकता र साझा प्रतिबद्धताको सन्देश दिँदै अधिवेशनले कोशल राज बैध्यलाई लुम्बिनी प्रदेश अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो।
संगठनभित्रको विश्वास र सहकार्यको वातावरण झल्काउने गरी दुर्गा देवी उपाध्याय र नरेश बाबु श्रेष्ठ उपाध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ। साथै अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको संघले जनाएको छ। सहभागीहरूका अनुसार निर्विरोध नेतृत्व चयनले संघभित्र बढ्दो संगठनात्मक परिपक्वता र एकतालाई उजागर गरेको छ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वास्थ्यकर्मी प्रतिनिधिहरूको उल्लेखनीय सहभागितासँगै सम्पन्न अधिवेशनमा स्वास्थ्यकर्मीहरूले भोग्दै आएका यथार्थ समस्या र चुनौतीहरूबारे गम्भीर छलफल भयो। कार्यस्थल सुरक्षा,सेवा सुविधा,पेशागत सम्मान,रोजगारीको स्थायित्व तथा प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयहरू छलफलका केन्द्रमा रहे।
नव–निर्वाचित अध्यक्ष कोशल राज बैध्य हाल जिल्ला स्वास्थ्य कार्यालय बिजुवार प्युठानमा कोल्चेन अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय बैध्यले अधिवेशनलाई सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरूको हक–हित संरक्षण,संगठन विस्तार तथा प्रदेशभर स्वास्थ्य सेवाको गुणस्तर सुधारमा संघले निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकार,स्थानीय तह तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै स्वास्थ्यकर्मीका जायज माग र मुद्दाहरूलाई नीतिगत तहसम्म पुर्याउने स्पष्ट धारणा राख्नुभयो।
उपाध्यक्षहरू दुर्गा देवी उपाध्याय र नरेश बाबु श्रेष्ठले पनि संगठनलाई थप सशक्त र समावेशी बनाउँदै महिला स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा कार्यरत जनशक्तिको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनले आगामी कार्यकालका लागि संगठनलाई पालिका तहसम्म विस्तार गर्ने,सदस्यता अभियान सञ्चालन गर्ने,स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको छ। साथै पेशागत सुरक्षाका सवालमा एकजुट भएर आवाज उठाउने संकल्पसमेत अधिवेशनले दोहोर्याएको छ।
नव–निर्वाचित नेतृत्वप्रति विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले आगामी दिनमा स्वास्थ्यकर्मीको साझा आवाजका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्