नगरको राहतले छोयो सुकमेलिको मन,आँखामा जाग्यो आशा

राम बहादुर बिश्वकर्मा 
प्यूठान,एक कोठे पुरानो घर भित्तामा झुण्डिएको पुरानो झोला, कुनामा राखिएको थोत्रो भाँडाकुडा र बीचमा बसिरहेकी श्रीमती-शरीरमा सेतो बस्त्र,निन्याउरो मुख,आँखामा थकान,अनि छेउमै बसिरहेका तिन साना छोराछोरीहरू।
त्यो घरको मौनता शब्दभन्दा धेरै कुरा बोल्छ-श्रीमानको निधनपछि सुकमाया(सुकमेली) के.एम. को संसार अन्धकारमय बनेको छ।
अकालमै जीवनसाथी गुमाएपछि तीन साना छोराछोरी र एक आमाको भोकसँगको संघर्ष गाउँभरिको पीडा बनेको थियो। तर त्यो पीडाले एउटा असल हृदयलाई छोयो- समाजसेवी श्रीकृष्ण के.सी.।
उनले फेसबुकमा लेखे,“प्यूठान नगरपालिका–९ कोलछापकी सुकमाया कुमालको परिवार अत्यन्त विपन्न अवस्थामा छ। सबैले सकेको सहयोग गरौं।”
त्यो साधारण “हेल्प पोष्ट” नै सुकमेली परिवारको अन्धकारमा उज्यालो किरण साबित भयो।
पोष्ट भाइरल भएपछि प्युठान नगरपालिका नगरप्रमुख विष्णु योगी,उपप्रमुख देवेन्द्र ब्रह्म,वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ,वडा नम्बर ९ का अध्यक्ष विकास के.सी., वडा नम्बर १० का वडा अध्यक्ष लोकबहादुर के.सी. लगायतका जनप्रतिनिधिहरू तत्कालै सक्रिय भए।
सहयोगका साथ उनीहरू सुकमेलीको घरमा पुगे -लत्ताकपडा,खाद्यान्न र मायाका शब्दहरूसँग।
त्यो दृश्य हरेकको हृदयमा बस्ने खालको थियो- भोकसँग जुध्दै बाँचिरहेका सुकमेली र उनका साना नानी बाबुहरू।
नगर प्रमुखका सचिवालय प्रमुख पुष्कर शर्माले भावुक हुँदै भने,“उनीहरूको अनुहारमा अझै पनि ‘केही सहयोग पाइएला कि?’भन्ने आशा झल्किन्थ्यो।”
त्यो आँखामा देखिएको आशा,त्यो शब्दभन्दा गहिरो मानवीय अनुभूति थियोजसले सम्झायो,मानवता अझै बाँकी छ।
नगर प्रमुख विष्णु योगी भन्छन्,“हामी सबैको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ।सुकमेलीजस्ता परिवार हाम्रो सामूहिक जिम्मेवारी हुन्।”
उनका अनुसार,नगरपालिकाले आगामी दिनमा यस्ता विपन्न परिवारको दीर्घकालीनका लागि विशेष योजना ल्याउने तयारी गरिरहेको छ।
उपप्रमुख देवेन्द्र वर्मा थप्छन्,“मानवीयता अझै बाँचेको छ, र यही घटना त्यसको प्रमाण हो।”

यसबीच नगर प्रवक्ता सुमनराज श्रेष्ठले भने,“सामाजिक सञ्जालले देखाएको पीडामा तत्कालै प्रतिक्रिया दिनु हाम्रो कर्तव्य हो।हामीले सहयोगका लागि सुरु गरेको यो कदम केवल राहत मात्र होइन,चेतना जगाउने अभियान पनि हो।”सहयोगको श्रृंखला सुरु गराउने समाजसेवी श्रीकृष्ण के.सी. प्रति अहिले सबैबाट आभार व्यक्त गरिएको छ।उनका शब्दहरूले एउटा जीवन मात्र होइन,एउटा परिवारको आत्मबल पनि पुनर्जीवित गराए।
सुकमेली भन्छिन सुख त मलाई कहिले भएन“म अहिले पनि पीडा भोग्दैछु,तर यो कठिनाइमा पनि मसँग अझै आशा छ। सहयोग गर्ने मानिसहरूको माया र सद्भावले मेरो आँखामा उज्यालो ल्याइदिएको छ।”
सुकमेलीको परिवार अझै पनि संघर्षमा छ,तर अहिले उनी एक्लो छैनिन्।
गाउँका मनहरू जागेका छन्,मानवीयता बोल्न थालेको छ।त्यो आशा, जुन सुकमेलीका आँखामा झल्किन्छ-त्यो नै समाजको सबैभन्दा सुन्दर उज्यालो हो।