उद्यमी तयार गर्दै सरुमारानी गाउँपालिका,हंसपुरमा उद्यमशिलता बिकास तालिम सम्पन्न 

उद्यमी तयार गर्दै सरुमारानी गाउँपालिका,हंसपुरमा उद्यमशिलता बिकास तालिम सम्पन्न 

सीता बि.क 
प्युठान,सरुमारानी गाउँपालिका वडा नम्बर ३ हंसपुरमा ८ दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ।गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत स्थानीय स्तरमा रहेका गरिबको रेखा मुनि रहेका व्यक्तिहरुलाई विभिन्न किसिमका उद्यमशिलता तथा सीप बिकास सम्बन्धि तालिम प्राप्त गरि आर्थिक अवस्था सुधार गर्ने लक्ष्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।

तस्बिर :तालिम सहभागीलाई प्रमाणपत्र पत्र प्रदान गर्नुहुदै सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का


तालिममा व्यावसायको अवधारणा,व्यावसायको प्रकारहरू,व्यावसायको महत्व,सफल उद्यमीका विशेषताहरू,लक्ष्य निर्धारण,सिर्जनशीलता, व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू, विक्रयकला,मष्तिष्क मन्थन, व्यवसायको प्रारम्भीक छनोट,व्यवसाय छनोट गर्ने आधारहरू, व्यवसायको अन्तिम छनोट,बजार र बजारीकरण,व्यावसायिक योजना सम्बन्धी जानकारी लगायतका विषयमा सहभागीहरूलाई प्रारम्भिक रूपमा सहजीकरण गरिएको छ ।
सरुमारानी गाउँपालिका ३ कि वडा सदस्य तथा कार्यपालिका सदस्य आशा बि क को अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का रहनु भएको थियो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले तालिम तालिमका लागि मात्र नभई व्यवहार परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो। पितृसत्तात्मक मुलुकमा महिला हरेक अबसरबाट बन्चित हुनुपरेको भन्दै महिलाले उद्यमशिलता र सशक्तीकरणको माध्यम बाट आर्थिक,सामाजिक रुपान्तरण र क्षमता अभिबृद्धी गरी दिगो बिकासमा उक्त तालिमले सहयोग पुग्ने समेत बताउनुभयो।
गरिबी र बेरोजगारिका कारण महिला हिंसा हुने हुँदा दिदीबहिनीहरूलाई व्यावसायिक बन्न यस तालिमबाट  सहज हुने भन्दै उहाँले तालिम सहभागीहरूलाई स्वरोजगार बन्नसमेत आग्रह गर्नुभयो।उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने उहाँको धारणा छ। त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठकले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै व्यावसायिक बन्न बाटो खुलेकोमा सहभागीहरूलाई बधाइ दिनुभयो। यस तालिमले सहभागीहरूलाई उद्यमी बन्ने बाटो दिएको पनि उहाँको भनाइ थियोे । 
गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो उहाँले भन्नुभयो।-"अधिकृत पाठकले यस्ता प्रकारका तालिमहरूले योजनाबद्ध रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने भन्दै तालिमबाट सिकेका सीप व्यवहारमा लागू गरे मात्र तालिमको औचित्य पुरा हुने बताउनुभयो।

तस्बिर : तालिम समापन कार्यक्रममा मन्तब्य राख्नुहुदै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक 


कार्यक्रम समापन सत्रमा कार्यपालिका सदस्य आशा बि.क ले उद्यमशिलता बिकास तालिमले महिलाहरुलाई व्यावसायिक बन्न उत्साहित बनाएको धारणा व्यक्त गर्नुभयो।
हामी यस्तो समाजमा बाँचिरहेका छौं,उहाँले भन्नुभयो जहाँ एउटी महिलाले जिन्दगीभर भान्सामा खाना बनाउँदा,भाँडा माझ्दा त्यो श्रम हुँदैन,त्यसको कुनै आर्थिक मूल्य हुँदैन तर जब त्यही काम पुरुषले घरबाहिर गएर गर्‍यो भने त्यो श्रम हुन्छ,अनि त्यो श्रम आम्दानीको स्रोत बनेर आउँछ।तर अहिले पनि महिलाहरु पुरुष उद्यमीझैं निर्धक्क भएर आफ्नो उद्योग,व्यवसाय गर्न बाट बन्चित हुनुपर्ने बाध्यतालाई तालिमको बिषयबस्तुले चिरेको हुनसक्ने बताउनुभयो। उहाँका अनुसार यी सबै प्रश्न र प्रसङ्गले महिलाहरू किन के कारणले उद्योग,व्यवसायमा आउन सकिरहेका छैनन् भन्ने यथार्थलाई तालिमले छर्लङ्ग  पारेको हुनसक्छ।
माघ ११ गतेदेखि संचालित तालिमको समापन कार्यक्रममा सहभागीको तर्फबाट डासिला घर्तीमगर र पदम बहादुर गुरुङले मन्तव्य राख्नु भएको थियो। तालिममा ३ नम्बर वडाका ३४ जना महिला तथा पुरुषको सहभागिता रहेको थियो। भने ८ दिने तालिमको सहजीकरण उद्यम बिकास सहजकर्ता सीता बि.क ले गर्नुभएको थियो।