राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लाको शान्ति,सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय खलंगामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पत्रकार र प्रशासन एक अर्काको परिपुरक रहेको भन्दै सुमधुर सम्बन्ध हुनुपर्ने आबश्यकता रहेको समेत बताएका हुन।
केही दिनअघि जिल्ला प्रशासन कार्यालय प्युठानमा सरुवा भई आएका अर्यालले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताए।
जिल्लामा शान्ती सुरक्षा तथा सुशासन कायम राख्नका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रशासनबाट हुने कमि कमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गरेमात्र खराव बाटोमा हिड्नेहरु ठूलो दुर्घटनाबाट जोगिने भन्दै उनले त्यसका लागि प्रशासन र पत्रकार विचको सहकार्यलाई प्रगाढ बनाउनमा कमि हुन नदिने समेत बताए।
जिल्ला अस्पतालमा रहेको बेथिति,सडक दुर्घटना,विधुत समस्या,खुलेआम अखाद्य बस्तुको विक्री वितरण,फोहर व्यवस्थापन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती,कर्मचारी अभाव र विचौलियाको प्रभाव,लागु औषधको विक्री तथा युवापुस्तामा पारेको प्रभाव,आत्महत्या,चोरीका घटना,टिपर चालकको लापरबाही लगायतले शान्ति सुरक्षामा चुनौती थपेकोले यसलाई नियन्त्रणलाई प्राथमिकता दिन पत्रकारहरुले प्रजिअ अर्यालको ध्यानाकर्षण गराएका थिए।
पत्रकारहरूले उठान गरेका सवालहरू जिल्लाका लागि महत्त्वपूर्ण भएकोले समाधानका लागि आम नागरिक,पत्रकार सबैको सहयोग आवश्यक छ प्रजिअ अर्यालले भने-"पत्रकारहरुले दिएको सुझावलाई गम्भीरतापुर्वक लिएको छु"क्रमशः कार्यान्वयनमा गर्न प्रतिबद्ध छु।"
साथै सञ्चारकर्मीहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउने उनको भनाई छ।
भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले जिल्लाको पत्रकारिता,संचार गृह र संचार माध्यमको अवस्था लगायतका बिषयमा जानकारी गराएका थिए।
रिजालले ३ दशक अघि देखि प्युठानका पत्रकार र स्थानीय प्रशासन सहकार्य गरेर अघि बढेको स्मरण समेत गराएका थिए।कार्यक्रममा जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्