१७ महिनादेखि ठेँडुकोमा बाँधिएका मन्बिरको मौन चित्कार : ‘मलाई उपचार चाहिन्छ’

१७ महिनादेखि ठेँडुकोमा बाँधिएका मन्बिरको मौन चित्कार : ‘मलाई उपचार चाहिन्छ’

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका–५ बाँसकोटको एकान्त बस्तीमा पुग्नेबित्तिकै गोठछेउबाट आउने फलाम घिस्रिएको आवाजले ध्यान तान्छ।गोठको अँध्यारो कुनामा एक युवा चिसो भुइँमा निस्पन्द बसिरहेका छन्। उनका खुट्टा काठको भारी ठेँडुकोभित्र अड्काइएका छन् र फलामका किल्लाले कसिएका छन्।
न उनले कुनै अपराध गरेका छन्,न कसैको ज्यान लिएका छन्। उनको ‘दोष’ केवल यत्ति हो उनी मानसिक रोगबाट ग्रसित छन्।

ती युवा हुन् मन्बिर घर्ती

दुर्योधन घर्ती र काली घर्तीका एकमात्र छोरा मन्बिर तीन छोरीपछि जन्मिएका सन्तान हुन्। परिवारको आशा,बुढेसकालको सहारा र भविष्यको सपना सबै उनैसँग जोडिएको थियो। गाउँका अरू बालबालिकाझैँ हुर्किएका मन्बिर मिलनसार स्वभावका थिए। मेलापातमा अघि सर्थे,साथीसँग रमाउँथे र परिवारले उनलाई घर सम्हाल्ने भरोसायोग्य छोराका रूपमा हेर्थ्यो।तर समयसँगै उनको जीवनले अप्रत्याशित मोड लियो।
करिब पाँच वर्षअघि उनको व्यवहार बिस्तारै परिवर्तन हुन थाल्यो।सुरुमा परिवारले सामान्य तनाव वा संगतको असर ठानेर बेवास्ता गर्‍यो।तर विस्तारै उनी एक्लै बोल्ने,रातिर घरबाट हराउने,अत्यधिक रिसाउने र गाउँघरमा झगडा गर्ने गर्न थाले। कहिलेकाहीँ छिमेकीमाथि हातपातसमेत हुन थालेपछि गाउँलेहरू त्रसित बन्न थाले।परिवारले सकेसम्म धेरै उपाय गर्‍यो। कहिले झारफुक,कहिले धामीझाँक्री,कहिले स्वास्थ्य चौकी सबैतिर धाइयो। आफन्तको सल्लाहमा औषधि पनि खुवाइयो।तर नियमित मानसिक स्वास्थ्य उपचारको पहुँच नहुँदा समस्या झन् जटिल बन्दै गयो।
गाउँमा मानसिक रोगलाई अझै पनि “रोग” भन्दा “लागेको” वा “असामान्य बानी” भनेर बुझ्ने प्रवृत्ति छ।त्यसैले अस्पतालभन्दा झारफुकमा बढी भरोसा गरियो। आर्थिक अवस्था कमजोर भएकाले शहर लगेर लामो उपचार गराउनु परिवारका लागि सम्भव थिएन।
समयसँगै मन्बिरको अवस्था थप कठिन बन्दै गयो।उनी कहिले घरका सामान फुटाउने,कहिले गाउँमा हिँडिरहेका मानिसलाई गाली गर्ने,कहिले अचानक हराउने गर्थे। परिवारमाथि मानसिक तनाव चुलिँदै गयो भने गाउँमा पनि त्रास फैलिन थाल्यो।
अन्ततः परिवार र छिमेकी कठोर निर्णय लिन बाध्य भए।मन्बिरलाई नियन्त्रणमा राख्न काठको ठूलो मुढामा खुट्टा राखेर फलामका किल्लाले बाँधियो। स्थानीय भाषामा “ठेँडुको” भनिने त्यो काठ त्यसयता उनको जीवनको अभिन्न हिस्सा बनेको छ। १७ महिनादेखि उनी त्यही ठेँडुकोभित्र सीमित छन्।
गोठभित्रको उनको दैनिकी पीडादायी छ। बिहान परिवारले खाना पुर्‍याउँछ। कहिलेकाहीँ उनी शान्त बस्छन्। कहिलेकाहीँ एक्लै बोल्छन्।फेरि कहिलेकाहीँ सामान्य मानिसझैँ चिनजान गर्छन्,मुस्कुराउँछन् र पुराना साथीहरूको नाम सम्झन्छन्।
उनको आँखामा अझै पनि एउटा अधुरो स्वतन्त्रता देखिन्छ।गाउँलेहरू भन्छन्,“उपचार पाए सायद निको हुन्थ्यो।”

तर प्रश्न उही छ उपचार कहाँ गर्ने ? खर्च कसले जुटाउने ?

मन्बिरका बुबाआमाको अनुहारमा थकान मात्रै होइन,असहायता पनि स्पष्ट देखिन्छ।आफ्नै छोरालाई बाँध्नुपरेको पीडा र समाजको डरबीच उनीहरू बाँचिरहेका छन्।
“सन्तानलाई आफ्नै आँखाअगाडि काठको ठेँडुकोमा बाँधिएको देख्नु एउटा आमाका लागि कति ठूलो पीडा हो,यो शब्दमा बयान गर्न सकिँदैन,”भन्दै मन्बिरकी आमा काली घर्ती डाँको छोडेर रुन थाल्छिन्।
“उ कहिल्यै नराम्रो छोरा थिएन। सानैदेखि मेहनती र सोझो थियो।तर रोगले उसको जीवन मात्रै होइन,हाम्रो सिंगो परिवारको खुसी खोस्यो। उपचार गराउने पैसा भए सायद आज मेरो छोरो यस्तो अवस्थामा पुग्ने थिएन। गरिबीले हामीलाई यति कमजोर बनायो कि आफ्नै सन्तानको पीडा हेरेर बस्न बाध्य भयौं,”उनी भक्कानिँदै भन्छिन्।
उनका काँपिएका हात र आँसुले भरिएका आँखाले परिवारको असहाय अवस्था स्पष्ट देखाउँछन्।
“रातभर उ कराउँदा मेरो छाती चिरिन्छ।आमाको मनले त सधैं छोरोलाई स्वतन्त्र र खुसी देख्न चाहन्छ।तर बाध्यताले उसलाई बाँध्नुपरेको छ। हामीले उसलाई सजाय दिएका होइनौं,बचाउन खोजेका हौं,”भन्दै उनी फेरि आँसु पुछ्छिन्।
“हामीलाई दया होइन,छोराको उपचार चाहिएको हो। कसैले सहयोग गरिदिए मेरो छोरो फेरि सामान्य जीवन बाँच्न सक्थ्यो कि भन्ने आशा अझै मरेको छैन,”भन्दै उनले राज्य र समाजसँग हार्दिक अपिल गर्छिन्।
यो घटना केवल एउटा परिवारको कथा होइन।यो ग्रामीण नेपालमा मानसिक स्वास्थ्य सेवाको कमजोर अवस्थाको जिउँदो चित्र हो।
आज पनि धेरै गाउँमा मानसिक रोग विशेषज्ञ पुग्न सकेका छैनन्।स्वास्थ्य चौकीमा सामान्य औषधि पाइए पनि मानसिक रोगको परामर्श र दीर्घकालीन उपचार सहज छैन। गरिब परिवारका लागि शहरसम्म पुग्नु नै ठूलो संघर्ष बनेको छ।
त्यसमाथि समाजको दृष्टिकोण अर्को चुनौती हो। मानसिक रोगीलाई अझै पनि डर,घृणा वा लाजको विषय बनाइन्छ। बिरामीलाई अस्पतालभन्दा घरभित्र थुन्ने,डोरीले बाँध्ने वा बेडामा राख्ने घटना ग्रामीण क्षेत्रमा लुकेर बसेका यथार्थ हुन्। मन्बिरको कथा सार्वजनिक भयो,तर यस्ता कैयौँ कथा अझै गाउँका कुनाकाप्चामा दबिएका छन्।
मानसिक रोग कुनै अपराध होइन।यो पनि अन्य रोगजस्तै उपचार आवश्यक पर्ने स्वास्थ्य समस्या हो। समयमै उपचार,औषधि,परामर्श र परिवारको साथ पाए धेरै बिरामी सामान्य जीवनमा फर्किन सक्छन्। तर चेतनाको कमी,गरिबी र स्वास्थ्य सेवाको अभावले धेरै जीवन अन्धकारमा धकेलिएका छन्।
अहिले प्युठान नगरपालिका–५ का पूर्व वडा अध्यक्ष लछुमन भण्डारीले मन्बिरको उपचार र पुनःस्थापनाका लागि सरकार,स्वास्थ्य संस्था,सामाजिक अभियन्ता तथा सहयोगी मनहरूसँग सहयोगको अपिल गरेका छन्। स्थानीयले पनि उनलाई सुरक्षित उपचार केन्द्रसम्म पुर्‍याउन तत्काल पहल आवश्यक रहेको बताएका छन्।मन्बिर अहिले पनि त्यही गोठभित्र छन्।ठेँडुकोले बाँधिएका उनका खुट्टा थाकेका छन्,तर आँखामा आशा अझै बाँकी छ।
सायद उनी फेरि खुला आकाशमुनि स्वतन्त्र भएर हिँड्न चाहन्छन्।
सायद उनी पनि सामान्य जीवनमा फर्किन चाहन्छन्।अब प्रश्न केवल यत्ति हो,के राज्य,समाज र हामी सबै मिलेर त्यो सम्भावना जोगाउन सक्छौँ ?