मुक्ति मावि रातामाटाको लगातार सफलता: राष्ट्रपति रनिङ शिल्डमा ४६ पदक उपाधि

मुक्ति मावि रातामाटाको लगातार सफलता: राष्ट्रपति रनिङ शिल्डमा ४६ पदक उपाधि

राम बहादुर बिश्वकर्मा 
प्युठान,यस वर्ष पनि उपाधि जित्दै मुक्ति मावि रातामाटा ले आफूलाई प्युठान नगरपालिकाभित्र खेलकुदको सशक्त शक्तिका रूपमा पुनःस्थापित गरेको छ।मुक्ति मावि रातामाटा ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा सम्पन्न छैटौं संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार सफलता हात पारेको हो। विद्यालयले २१ स्वर्ण,१३ रजत र १२ कास्य गरी जम्मा ४६ पदक जित्दै स्पष्ट अग्रता कायम गर्‍यो।
दोस्रो स्थान हासिल गरेको जनता मावि बाग्दुला ले पनि सन्तुलित प्रदर्शन गर्दै कडा प्रतिस्पर्धा प्रस्तुत गरेको थियो। 
दोस्रो स्थानमा रहेको जनता मावि बाग्दुला ले ८ स्वर्ण,८ रजत र ८ कास्य गरी २४ पदक प्राप्त गर्दै प्रतिस्पर्धालाई रोचक बनायो। 
तेस्रो स्थानमा रहेको क्षेत्र बिकास माबिले पनि स्वर्ण कम भए पनि रजत र कास्य पदकमार्फत आफ्नो उपस्थिति बलियो बनाएको देखिएको छ।
५ स्वर्ण,८ रजत र ११ कास्य गरी २४ पदक जित्दै क्षेत्र बिकास माबी पुण्यखोला तेस्रो स्थानमा रह्यो।
अनुशासनतर्फ धर्मावती मावि लम्छ्याङ्ग २ स्वर्ण,२ रजत र २ कास्यसहित जम्मा ६ पदक जित्दै उत्कृष्ट घोषित भयो। मार्चपासतर्फ कालिका आवासीय मावि ले १ स्वर्ण,२ रजत र ४ कास्य गरी ७ पदकसहित उत्कृष्टता हासिल गरेको छ।
सुरुदेखि नै अग्रता बनाएको मुक्ती माविले एथलेटिक्स,भलिबल,कबड्डी लगायतका विधामा सशक्त प्रदर्शन गर्दै स्वर्ण पदकको संख्या उल्लेखनीय रूपमा बढाएको थियो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय तहका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। यस प्रतियोगिताले खेलकुदमार्फत अनुशासन,नेतृत्व क्षमता, टिमवर्क र आत्मविश्वास विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।
अनुशासनतर्फ उत्कृष्ट घोषित धर्मावती मावि लम्छ्याङ्ग का विद्यार्थीहरूको व्यवहार,पोशाक, समयपालन र खेल भावना प्रशंसनीय रहेको आयोजकले जनाएको छ। त्यस्तै मार्चपासतर्फ उत्कृष्टता हासिल गरेको कालिका आवासीय मावि ले आकर्षक प्रस्तुति,तालमेल र सुसंगठित समूह प्रदर्शनमार्फत सबैको ध्यान खिचेको थियो।
नगरपालिकाभित्रका १६ विद्यालयको सक्रिय सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक बनेको थियो। समापन समारोहमा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रतियोगिता समापन कार्यक्रममा सम्बोधन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले खेलकुदले व्यक्तिमा सकारात्मक ऊर्जा, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने भएकाले हरेक नागरिकका लागि खेल अपरिहार्य रहेको बताउनुभयो। उहाँले खेलले स्वस्थ जीवनशैली निर्माण गर्नुका साथै समाजमा आपसी सद्भाव र एकताको सन्देश फैलाउने उल्लेख गर्नुभयो।
नगर प्रमुख योगीले विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रतिभावान खेलाडी उत्पादनका लागि स्थानीय तह प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै,उहाँले प्रतियोगिता सफल,मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक,प्रशिक्षक,खेलाडी,अभिभावक, सुरक्षाकर्मी,स्वयंसेवक तथा सम्पूर्ण सहयोगी संघ–संस्थाप्रति आभार व्यक्त गर्नुभयो। अन्त्यमा उहाँले विजेता तथा सहभागी सबै खेलाडीलाई बधाई दिँदै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै खेलमार्फत राष्ट्रको पहिचान स्थापित गर्न सबैलाई प्रेरित हुन आग्रह गर्नुभयो।