राम बहादुर बिश्वकर्मा
प्युठान,खेलकुद केवल पदक जित्ने माध्यम मात्र होइन,व्यक्तित्व निर्माणको आधार पनि हो।यही सन्देशका साथ प्युठान नगरपालिकाको आयोजनामा छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ।विद्यालय तहका विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन,आत्मविश्वास र सहकार्यको भावना विकास गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो।
बिजुवारस्थित गणतान्त्रिक खेल मैदान बिजुवारमा आयोजित उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सी.ले विद्यार्थी जीवनमा पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापको महत्त्व उल्लेख गर्नुभयो।उहाँले खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन,नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना समेत अभिवृद्धि गर्ने बताउनुभयो।
कार्यक्रम नगर प्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न भएको थियो।वडा नं. ३ का अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत बासुदेव पण्डित ले गर्नुभएको थियो।
नगर प्रमुख योगीले खेलकुदलाई स्वस्थ समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै खेलले राष्ट्रियता,अनुशासन र सहिष्णुताको भावना बलियो बनाउने धारणा राख्नुभयो।उहाँले सहभागी खेलाडीहरूलाई नियमको पालना गर्दै मर्यादित प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।
नगरभित्रका १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका छात्र–छात्रा खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ। भलिबल,एथलेटिक्स,तेक्वान्दो,कराते लगायतका विधामा प्रतिस्पर्धा हुने यस प्रतियोगिताले नयाँ प्रतिभाको खोजी र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विद्यालय तहबाटै खेल संस्कृतिको विकास गर्दै भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो प्रतियोगिता प्युठानमा खेलकुदप्रति बढ्दो आकर्षणको संकेतका रूपमा पनि हेरिएको छ।
प्रतिक्रिया राख्नुहोस्