प्रतिस्पर्धाबीच मित्रता : स्वर्गद्वारीमा एमाले–कांग्रेस उम्मेदवारको साझा नृत्य

प्रतिस्पर्धाबीच मित्रता : स्वर्गद्वारीमा एमाले–कांग्रेस उम्मेदवारको साझा नृत्य

प्युठान,आगामी निर्वाचन नजिकिँदै जाँदा स्वर्गद्वारी नगरपालिका क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यही सन्दर्भमा नेकपा(एमाले)का उम्मेदवार सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेलबीच भएको एक भेटले चुनावी प्रचारमा फरक र सकारात्मक सन्देश दिएको छ।
भेटपछि दुवै उम्मेदवार सलल-सलल प्युठानमा घाम लाग्यो झलल भन्ने सुर्य थापाको चुनावी गितमा सँगै नाच्दै चुनावी प्रचारप्रसारमा सहभागी भएका थिए। सामान्यतया तीव्र प्रतिस्पर्धा,आरोप–प्रत्यारोप र कटाक्ष देखिने निर्वाचनको माहोलमा फरक–फरक राजनीतिक धारका उम्मेदवारहरू एउटै लयमा नाच्नुले स्थानीय तहमा राजनीतिक सद्भाव र परिपक्वताको उदाहरण प्रस्तुत गरेको छ।
स्थानीयवासीहरूले यस दृश्यलाई सकारात्मक रूपमा लिएका छन्। राजनीतिक असहमतिका बाबजुद पनि लोकतान्त्रिक संस्कार,आपसी सम्मान र सहअस्तित्व कायम राख्न सकिन्छ भन्ने सन्देश यस घटनाले दिएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
उक्त अवसरमा दुवै उम्मेदवारले आ–आफ्ना चुनावी प्रतिबद्धता र एजेन्डा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवादसमेत गरेका थिए।नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत चुनावी प्रचारलाई सहज,मैत्रीपूर्ण र जनमुखी बनाउने प्रयास गरिएको दुवै पक्षले बताएका छन्।
स्थानीय मतदाताहरूका अनुसार यस्ता दृश्यले चुनावी वातावरणलाई तनावमुक्त बनाउनुका साथै युवाहरूलाई राजनीतिप्रति आकर्षित गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वर्गद्वारी नगरपालिकामा देखिएको यो राजनीतिक सद्भावको दृश्यले जिल्लाभर चर्चा पाएको छ।