आगामी नयाँ शैक्षिकसत्र असार एक गतेदेखि सुरु हुने

फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । साथै आगामी असार एक गतेबाट नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ ।
संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका छौं ।’
संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ ।