यहि हो लोकतन्त्र ?

घनश्याम अस्तित्व

राजा र राणाहरुको पञ्जामा रहेको नेपाली राजनीतिमा जव सामान्य जनताको छोराले पनि आफ्नो उपस्थिति खोज्न थाल्यो त्यसपछि ‘लोकतन्त्र’ सबै भन्दा मिठो सपना भयो । नेपाली राजनीति देखि विद्यालयका पाठ्यपुस्तकसम्म ‘लोकतन्त्र’ गुञ्जिन थाल्यो । अब्राहम लिंकन र लोकतन्त्र एकअर्काका पर्याय बनिसकेको समयमा अरु कस्को परिभाषाले स्थान पाउनु र ?  जताततै उनले दिएको परिभाषा (जनताले जनताका लागि जनताद्धारा गरिने शासन) मान्छेको मनमस्तिष्कमा बस्नु स्वभाविक न हो । आजको वर्तमान समयमा मात्रै नभएर अब मानव अस्तित्व रहुन्जेलसम्म जहाँ लोकतन्त्रको स्मरण गरिने छ त्यहाँ लिंकनको पनि स्मरण गरिनेछ । 
वर्तमान समयको पुस्ताले लोकतन्त्रको परिभाषा मात्रै पढेन, लोकतन्त्रको लागि आफै लड्यो पनि । लोकतान्त्रिक व्यवस्थामा विवेकशील जनताले प्राप्त गर्ने महत्वपूर्ण अधिकारहरु मध्ये एक हो अद्यावधिक चुनाव मार्फत गठित सरकारलाई प्रश्न गर्ने, आफ्नो विमती राख्ने र तथ्यका आधारमा आलोचना गर्न पाउनु । लोकतान्त्रिक व्यवस्थामा जनता र सत्ता बीच सदैव दुरी रहिरहन्छ भने के त्यो साँच्चिकै लोकतन्त्र हुन्छ त? आजको महत्वपूर्ण प्रश्न यो हो । 
लोकतन्त्रमा शासकले जनताका प्रश्नहरुलाई सम्बोधन गर्दैन भने के त्यो लोकतन्त्र हुन सक्छ? लाखौ जनता भोकको पहाडले थिचिइरहँदा जोडबलले कुर्सीलाई समाएर मुश्कुराइरहने शासकले के साँच्चिकै लोकतन्त्रको उपहास गरिरहेको छैन त?के लोकतन्त्रमा जनता केबल शासक चुन्नका लागि कारिन्दा मात्रै हुन्?बलात्कारका घटनाहरुको तथ्याङ्क पढेर अन्य देशको तुलनामा चिन्ताजनक अवस्था छैन भन्ने शासक के विवेकशील शासक हो?न्यायालयलाई आफ्नो मुठ्ठीमा राखेर अपराधहरुको व्यापार हुने व्यवस्था के साँच्चिकै लोकतन्त्र हो?चुनावी घोषणपत्रमा राखेका सपनाहरुको स्मरण गराउँदा क्रुद्ध बन्ने शासक के लोकतान्त्रिक व्यवस्थाको शासक हो?एउटा रिटायर्ड डक्टर चिकित्सा शिक्षा सुधारको माग राख्दै कैंंयौ पटक अनशन बस्छ र शासक उसको मृत्य कुरेर बस्छ भने के यो लोकतन्त्रको उपहास होइन? महामारीको समयमा सम्पूर्ण जनतालाई घरभित्र थुनेर आफू षड्यन्त्रको अनेक प्रपन्च रच्न थाल्ने कुनै शासक लोकतन्त्रको शासक हुन सक्छ?  प्रश्न त यो पनि उठ्न सक्छ, शासक कि सेवक? आग्रह भन्दा बढी आदेश चल्ने व्यवस्थालाई हामी कसरी लोकतन्त्र भन्न सक्छौ? लोकतन्त्र भन्ने वित्तिकै हामीले बुझ्यौ, जनताले जनताका लागि जनताद्धारा गरिने शासन । हामी सबै मिठो सपना बन्यो । यो स्वभाविक हो । लोकतन्त्र सम्बन्धमा लिङ्कनको अर्को एउटा सिद्धान्त पनि छ । त्यो पनि बुझेका छौ हामीहरुले । उनी यस्तो भन्छन्, ‘‘ तिमी सम्पूर्ण मान्छेलाई केही समय मूर्ख बनाउन सक्छौ, केही मान्छेलाई सधैका लागि मूर्ख बनाउन सक्छौ तर सम्पूर्ण मान्छेलाई सधैका लागि मूर्ख बनाउन सक्दैनौ ।’’