मासिक ५ सय जम्मा गरे पेन्सन पाइने, नागरिक लगानी कोषले ल्यायो यस्तो योजना

मासिक ५ सय जम्मा गरे पेन्सन पाइने, नागरिक लगानी कोषले ल्यायो यस्तो योजना

काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ ।  यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५  सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ ।  
बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन  पाउनेछन्  । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ ।  
यदि कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हनेछ । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नागरिक यस योजनामा सहभागी हुन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ । तर बचत रकम मासिक कम्तिमा ५ सय हुनुपर्दछ ।

सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ । नागरिक लगानी कोष  विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।