कोरोना सचेतनाका लागि सडकमा प्रहरी र युवा (फोटोफिचर)

राम बहादुर बिश्वकर्मा

प्युठान ,लकडान हटेसँगै जनजीवन खुला भएको छ। खुला भएसँगै बिना मास्क बाहिर निस्कने र कामै नभई अबेरसम्म बाहिर घुमफिरमा निष्कने क्रम बढेसँगै भिडभाड बढ्न थालेको छ।

लकडाउन खुले पनि कोरोना संक्रमण झन् बढ्न थालेपछि प्युठानका मुख्य बजार बाग्दुला,बिजुवार जुम्री ,भिङ्री , बाहने , मच्छी , बरौला चकचके लगायतका चोकमा नेपाल प्रहरी र युवा ब्यबसायीले हिडडुल गर्दा अनिवार्य रूपमा माक्स चिउडोमा होइन नाक मुखमा छोप्ने गरि लगाऔ, कोरोना संक्रमण बाट आफू पनि बचौ अरुलाई पनि बचाऔ लेखिएको ब्यानर लिएर चोक चोकमा तपाइँको मास्क खै भन्दै अभियानलाई निरन्तरता दिइएकाे छ । लकडाउन खकुलो भएसँगै आम नागरिकहरु विना मास्क नै घर बाहिर निस्कने प्रवृत्ति बढेपछि जिल्ला प्रहरी कार्यालय प्युठान र मेघा फर्निचर उद्योगका संचालकको सहकार्यमा बुधबार ‘तपाईंको मास्क खै’ अभियानलाई निरन्तरता दिइएको हो । मास्क लगाएर मात्र हिँड्न, आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गर्न, रुघाखोकी र ज्वरो आएमा बाहिर नहिड्न अनुरोध गरिएको सचेतनाको ब्यानर बोकेर नेपाल प्रहरी र युवा चोक चोकमा उभिएर बस्न थालेका हुन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्वयन भएसँगै सुरुवाती दिनहरुमा सर्वसाधारण जति सजग थिए लकडाउन खकुलो भएसँगै उति लापरवाही बढ्न थालेको प्युठान जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुमार कार्किले बताए ।

तस्बिर : प्रहरी कार्यालय प्युठानका डिएसपी नरेन्द्र कुमार कार्कीले नागरिकलाई मास्क प्रदान गर्दै 

अधिकांश नागरिकहरु प्रहरीलाई देख्दा मात्रै मास्क लगाउने प्रवृत्ति यथावत् रहेकाले सर्वसाधरणमा मास्क अनिवार्य लगाउन बानी गर्नका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको डिएस्पी कार्किको भनाई छ । उनले भने, ‘केहि समय हामी उहाँहरुलाई सम्झाई, बुझाई गर्छौ मास्क नभएकालाई निशुल्क मास्क पनि वितरण गर्ने गर्दछौ, मास्क नलगाउनेलाई केहि समय होल्ड गराएर प्रशिक्षण पनि दिने गर्छौ । अर्को चरणमा पनि मास्क नलगाई अवज्ञा गरेकाे पाइएमा कारवाही गर्ने योजना बनाएका छौँ ।’ मास्क लगाएर मात्र बाहिर निस्कन र विना काम अबेरसम्म भिडभाड हुने गरी बाहिर निस्कनेलाई सम्झाउँदै आएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपि नरेन्द्र कुमार कार्किले बताए। नियम उल्लघंन गरी मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। विश्व भरी महामारीको रुपमा फैलिदै गरेको कोरोना भाईरसबाट आम जनमानसमा सचेतना फैलाउन र भाइरसबाट आफू पनि बचौ र अरु लाई पनि बचाऔ भन्ने मुख्य अभिप्रायका साथ मास्क बितरण गरिएको उद्योगका संचालक सुर्यचन्द्र खनालले बताए । कोरोना संक्रमण दर बढिरहेको र मास्कको प्रयोग घटिरहेकोले गृहमन्त्रालयले मास्कको प्रयोग अनिवार्य गरी कडीकडाउ गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो।

तस्बिर : मेघा फर्निचर बिजुवार प्युठानका सन्चालक तथा युवा ब्यबसायी सुर्यचन्द्र खनालले सर्बसाधारणलाई मास्क प्रदान गर्दै