बायर्नलाई सात अंकको अग्रता : लगातार आठौं उपाधि नजिक

म्युनिख : बुन्डेस लिगा फुटबलको मंगलबार राति खेलिएको खेलमा ‘लिग लिडर’ बायर्न म्युनिखले महत्‍वपूर्ण जित हात पारेको छ। बायर्नले अंक तालिकाको दोस्रो स्थानमा आसीन बोरुसिया डर्टमन्डलाई उसैको मैदानमा १-० गोलले हरायो। जितसँगै बायर्नले उपाधि यात्रालाई अझ बलियो बनाएको छ।

उक्त खेलपछि साबिक विजेता बायर्नले बोरुसिया डर्टमन्डसँग सात अंकको अग्रता लिएको छ। बायर्नका लागि पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि जोसुआ किमिचले निर्णायक गोल गरेका थिए। खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा किमिचले करिब २० यार्ड टाढाबाट टोलीका लागि आकर्षक गोल गरेका हुन्।

खेलको अन्तिम समयसम्म जवाफी गोल फर्काउन संघर्षरत रहेको बोरुसिया डर्टमन्ड आफ्नो लक्ष्यमा सफल हुन सकेन। खेलको दोस्रो हाफमा इङ्ल्यान्डका प्रभावशाली खेलाडी जाडोन सान्चोलाई मैदानमा ओराले पनि बोरुसिया डर्टमन्डले आफ्नो पराजयलाई टार्न सकेन।

जारी सिजनमा अब बायर्न र बोरुसिया डर्टमन्ड दुवैले ६÷६ खेल खेल्न बाँकी छ। २८ खेलबाट ६४ अंक बटुलेको बायर्न तालिकाको पहिलो र समान खेलबाट ५७ अंक जोडेको बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छन्। बोरुसिया डर्टमन्डले बायर्नलाई हराएको भए यी दुई टोलीबीचको अन्तर एक अंकमा झर्ने थियो र उपाधि होड थप रोचक बन्ने निश्चित थियो।

खेलको अन्तिम समयमा अनुभवी खेलाडी रोबर्ट लेवान्डोवस्कीले बायर्नको अग्रता दोब्बर बनाउने अवसर गुमाएका थिए। बायर्न र बोरुसिया डर्टमन्डबीचको उक्त खेललाई खासगरी दुई प्रभावशाली स्ट्राइकर लेवान्डोवस्की र अर्लिङ ब्राउट हल्यान्डबीचको भिडन्तको रूपमा हेरिएको थियो।

यो सिजन घरेलु लिगमा जर्मन खेलाडी लेवान्डोवस्कीले बायर्नका लागि ४१ र नर्वेजियन खेलाडी हल्यान्डले पनि बोरुसिया डर्टमन्डका ४१ गोल नै गरेका छन्। जारी सिजन यी दुवै खेलाडीले आआफ्नो क्लबका लागि ३५/३५ खेल खेलेका छन्। जारी सिजनको युरोपेली घरेलु लिगमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा यी दुई खेलाडी अगाडि छन्।

खेल सुरु भएलगत्तै हल्यान्डले क्लबका लागि सिजनको ४२औं गोल गर्ने अवसर गुमाएका थिए। बोरुसिया डर्टमन्डले सन् २०१०/११ र सन् २०११/१२ मा लगातार दुई पटक जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको थियो। त्यसयता लगातार सात पटक बायर्नले बुन्डेस लिगाको उपाधि जितिसकेको छ।

बोरुसिया डर्टमन्डले सन् २०१०/११ सिजनको उपाधि जित्दा योर्गेन क्लोप क्लबका प्रशिक्षक थिए। उनी हाल इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक छन्। यो सिजन लिभरपुल पनि प्रिमियर लिगको उपाधि जित्ने अभियानमा सक्रिय छ।