कबिता : ‘किन प्रेम गर्यौ म सँग, म दलित हुँ, कामी हुँ’

म दलित हुँ,म कामी हुँ
सुष्मा,
किन प्रेम गर्यौ म सँग, म दलित हुँ, कामी हुँ
तिमी सास नलिनु अब,
अन्तिम सास फेरेको छु यो हावामा
यो बाटो नहिड्नु अब,
अन्तिम पटक दौडेको छु म
पारिको ठूलो ढुङ्गा नछुनु,
यता आउँदा बसेको छु म
भेरीको नजिक नपर्नु,
अन्तिम पटक पौडेको छु म
किनकी म दलित हु ,
छोईछिटो होला म कामी हुँ

सुष्मा किन प्रेम गर्यौ म सँग,म दलित हुँ
मेरो बाउले बनाएको कोदाली नछुनु,
फालीले नजोत्नु,
हँसिया र बञ्चरोले नकाट्नु,
यी सबैमा दलितको सिप छ
तिम्रो जात जान्छ, छोईछिटो हुन्छ, तिम्रो कर्म खस्छ, किनकी तिमी माथिल्लो म तल्लो जात हुँ
म दलित हुँ।

सुष्मा किन प्रेम गर्यौ म सँग, तिम्रो बाले हामीलाई खेद्दा,
खुकुरी, भाला,के के बोकेका थिए
सुनपानीले नुहाउन भन्नु
मन्छेर जाँदैन होला ,
अझ तिम्री आमा सद्दे ठकुर्नीलाई,
त्यहाँ वरिपरि मैले सास फेरेको छु
किनकी तिमी माथिल्लो जातकी हौ।

ए सुष्मा किन प्रेम गर्यौ म सँग,म त कामी हुँ
न त ठकुरी ठकुर्नीले सुने,
न त शान्त भेरी ले सुन्यो
मेरो प्रेममय रोदन र चित्कार
म र मेरा केही साथीहरु
संसार छोडी लामो यात्रामा…
शान्त यात्रामा …….
धन्य साथीहरु मेरोलागि, तिमीहरूले सबैथोक गुमाएर मलाई रोज्यौ,
किनकी हामी कामी थियौ

सुष्मा, तिमी ढुक्क खुसी भएर बस्नु,
तिम्रो जीवनमा र खानदानीमा ,
कुनै दलित आउदैन अब
तिम्रो नजिक आउने नवराजहरू,
थर्थराउनेछन् ,
बर्बराउनेछन्
कम्पित हुनेछन् ,
म जस्तै प्रेम पाउन भेरी रोज्नेछन्
किनकी तिमी माथिल्लो जातकी हौ, म दलित हुँ।

सुष्मा,
तिम्रो आमा कति खुसी होलीन् है,
महङ्गो रैछ तिम्रो आमाको खुसी
तिमी र तिम्रो आमाको खुसीको लागि,
मेरीआमाको काख रित्तिएको छ,
बुढेसकालको मेरो बा को बैसाखी भाँचिएको छ,
तिम्रो बा आमाको ईज्जतको खातिर
मायाको बदलामा मृत्यु रोजेका छौँ,
म र मेरा केही साथीहरु निकै कहालीलाग्दो निलो भेरी सँगै नफर्किने गरेर …….
निरन्तर निरन्तर…….
हुनसकेको
नबराज बि क
भेरीको नफर्किने यात्री

लेखक : प्रदिप तामाङ,प्युठान