गौमुखीवासीको आर्थिक समृद्धि हाम्रो लक्ष हो : बिष्णु गिरी


प्यूठानका नौ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी भागमा गौमुखी गाउँपालिका पर्दछ ।  जिल्लाको दुर्गम क्षेत्रको अधिकांश भाग यो गाउँपालिकाभित्र पर्दछ । बाग्दुला भिमगिठे सडक निर्माण नहुँदासम्म यहाँ सहज यातायात पुग्न सकिरहेको छैन । महाभारत श्रृंखलामा फैलिएका यहाँका पहाडी भिरालो बस्ती जडिबुटी तथा फलफूल खेतीका लागि उपयुक्त भएपनि अहिलेसम्म व्यवसायिक जडिबुटी तथा फलपूल खेती आशातित रुपमा हुन सकिरहेको छैन । बैदेशिक रोजगारबाट आएको विप्रेषण र निर्वाहमूखि कृषि पशुपालनबाट आएको रकमबाट यहाँका वासिन्दाहरुको दैनिक जनजीवन निर्वाह भइरहेको देखिन्छ । अन्य स्थानीय तहजस्तै यस गाउँपालिकाको पनि शिक्षा, स्वास्थ्य जस्ता सामाजिक विकासदेखि लिएर कृषि र पशुपालनको व्यवसायिक विकास यथोचित हुन सकिरहेको छैन । यसै परिवेशमा विगत २ वर्षदेखि गौमुखी गाउँपालिकाको समग्र विकासमा योगदान पु¥याउने प्रतिवद्धताकासाथ गाउँपालिको अध्यक्षको कार्यभार सम्हालीरहेका गाउँपालिका प्रमुख विष्णु कुमार गिरीसँग गरेको कुराकानीको पूरा अंश।

यहाँको  राजनीतिमा कसरी लाग्नुभयो ?

अलि सानो उमेरदेखि नै म राजनीतिमा सक्रिय भएँ । पूजामा पूराना नेपाली कांग्रेसका नेता पदमलाल न्यौपानेको छोराहरु टुकलाल न्यौपाने, बसन्त न्यौपाने लगायतका सँगै पढ्ने साथीहरु हुनुहुन्थ्यो । ५÷६ कक्षा पढ्दादेखि नै मलाई अलि अलि राजनीतिक चेतना हुन थालिसकेको थियो । त्यतिबेला बहुदल आइसकेपछि कांग्रेस र कम्युनिष्टमा उतार चढाव र राजनीतिक मुद्दाहरुमा धेरै बादविवाद हुने अवस्थामा मलाई कांग्रेसको तर्कहरु मन परेपछि मलाई कांग्रेसको निकटता मन पर्न थाल्यो । त्यसपछि मैले नेपाल विद्यार्थी संघको सदस्य भएर विद्यार्थी राजनीति शुरु गरे । २०५० सालदेखि म कुनै न कुनै पदमा बसेर निरन्तर क्रियाशील रहिरहेको अवस्था हो ।

गौमुखी गाउँपालिकाको मुहार फेर्ने आयोजनाको रुपमा अगाडि बढेको बाग्दुला भिमगिठे सडकको निर्माण कार्य किन अहिले अगाडि बढिरहेको छैन ?

बाग्दुला बाग्लुङ भिमगिठे सडक प्यूठान जिल्लाकै विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ । अहिले बाग्दुलादेखि भिमगिठेसम्मको झण्डै ७२ किलोमिटर बाटो निर्माण भएको खण्डमा प्यूठान जिल्लाभर नै यसले आर्थिक तरंग पैदा गर्ने अवस्था छ । तर अहिले हाम्रो दुर्भाग्य ठेक्का टेण्डर लागेर पनि संझौता गर्ने समयमा पुग्दाखेरी जुन ठेक्दारलाई ठेक्का परेको थियो त्यो ठेक्दारको फर्म बैंकमा कालो सूचीमा परेको रहेछ भन्ने खालको कुरा आएको छ । त्यो साथसाथै पनि हामी फलोअपमा पनि हेर्दाखेरी त्यो बैंकले उ ठेकदारमार्फत काम गर्न मञ्जुर नभएको अवस्थामा सेकेण्ड ठेकदार वा पुनः टेण्डर गर्ने भन्ने कुराको अझै टुंगो लागेको छैन । मलाई लाग्छ अघिल्लो ठेकेदारको मूल्यमा दोश्रो ठेकेदारले काम गर्ने वातावरण अथवा सेकेण्ड ठेकेदारको घटी घटाउको रकम थियो त्यो रकममा त्यो बैंक र हाम्रो नेपाल सरकारले समझदारी ग¥यो भने दोस्रो ठेकदारसँग पनि समझदारी गर्न सकिने र संझौता भयो भने काम अगाडि बढ्न सक्ने सम्भावना रहेको एउटा आशा लाग्दो अवस्था पनि छ । सम्पूर्ण प्रक्रिया नै अवरुद्ध भएको भन्न नमिल्ला । मैले बुझे अनुसार दुई चार महिनाको प्रक्रिया लाग्न सक्छ । हामीले त्यो दुई चार महिना धेरै मान्न हुन्न भन्ने मलाईविज्ञ टोलीले त्यो खालको सल्लाह दिनुभएको छ । हाम्रो धेरै ठूलो ठेक्का (ग्लोवल) भएकोले ठिकै समयमा भएको हो भन्ने छ । रद्दको प्रक्रियामा गए समय लामो लाग्न सक्छ । तर पहिलो ठेकेदारको ठाउँमा दोस्रोले काम पाएमा दुई चार महिनामै काम शुरु हुन सक्छ भन्ने यो क्षेत्रमा विज्ञ साथीहरुको भनाइ छ ।
यहाँले शुरु गरेको खरको छाना हटाउने  अभियान निक्कै प्रभावकारी पनि देखियो । त्यो अभियान अगाडि बढाउन यहाँलाई के कुराले प्रेरित गरेको थियो ?
पहिलो कुरा हामी गरिवको लागि भनेर धेरै नारा जुलुश गरेर हिड्छौ । राजनीतिक कुरा, भाषण पनि गर्छौ । तर व्यवहारिक रुपमा ठ्याक्कै गरिवसँग पुग्ने औजारहरु के हुन् भनेर हामीले केलाउने प्रयास अलि गरेनौं कि भन्ने लाग्छ । अझै पनि मलाई लाग्छ हामी धेरै हल्ला गरेर होइन सानो सानो काम गरेर जो गरिवलाई छुन्छ तिनीहरुको विषयमा सामाजिक हैसियत नउठाइकन मान्छेको आर्थिक उन्नतीको सम्भावना मैले कम देख्छु । हाम्रा दुर्गम ठाउँमा ठूला ठूला बाटाहरु बनाउँदैमा ठूला ठूला पुल पुलेसा जस्ता विकास निर्माणमा देखिने कामहरु गर्दैमा मात्र सबै सम्पन्नता हुन्छ भन्ने मलाई लागेन । आर्थिक हैसियत अलि कमजोर भएको र सामाजिक हिसावले उनीहरुले आपूmलाई जहिले पनि दमित महसुस गर्नेसँग कसरी पुग्न सकिन्छ भन्ने विषयमा मैले केही विज्ञ साथीहरुसँग पनि सल्लाह गरे । केही वडाहरु केही गाउँपालिकाले काम शुरुवात गरेको मैले अघिल्लो आर्थिक वर्षमा हेरेको थिए । दोश्रो आर्थिक वर्षमा यसरी हुँदैन समग्रमा खरको छानो भएर आपूmलाई सामाजिक रुपमा अपहेलित महसुस गर्ने घर परिवार छ । त्यो घरपरिवार सम्पूर्णलाई खरको छाना मुक्त गरियो भने दोश्रो वर्ष अरु काम गर्न सकिन्छ भन्ने लागेर गत वर्ष जस्ता छाना छाउने कार्यक्रममा झण्डै ५ करोड २८ लाख जति पैसा लगानी ग¥यौ । जसले परिणाम राम्रै दिएको छ । अझै प्राविधिक रुपले कतै छूटपूट भएकाहरुलाई पनि केही चाहिन सक्छ भनेर हामीले यो वर्ष ५० लाख रुपैया बजेट सो क्षेत्रको लागि विनियोजन गरेका छौं । यो कार्यक्रमले आपूmलाई सामाजिक हैसियत कमजोर भएको अनुभूति गरिरहेकाहरुको मनोवल बढाएको छ । अहिले नेपाल सरकारले पनि त्यो अनुदानको कार्यक्रम अलिकति बढाएर ल्याएको पनि छ । हाम्रो पालिकामा आएको अनुदानको धेरै रकम जस्तापातामा खर्च गर्दा विकासका अन्य कामहरु त अवरुद्ध भए तर सामाजिक काम पूरा भयो जस्तो मलाई लाग्छ ।

स्थानीय सरकार सबैभन्दा नजिकको सरकार। जनताले यसबाट धेरै अपेक्षा गरेका छन् । सरकारका कार्यक्रमहरु गरिव केन्द्रित भएनन् भनेर आलोचना बढि हुने गरेको पनि छ  । यहाँले  अन्य गरीव लक्षित कार्यक्रमहरु के के गर्दै हुनुहुन्छ ?

कृषि र पशुपालनको क्षेत्रमा हामीले काम अझै पनि कार्यक्रम अगाडि बढाएनौ भने मलाई लाग्छ गरीवहरुको ठोस रुपमा उत्थान हुन गाह्रो छ । अहिले हाम्रो उत्पादन घट्दो देखिराखेको छ । बजारबाट गाउँसम्म सामान जान्छ तर गाउँबाट बजार आउने गाडीहरु मान्छे भरेर वा खाली खाली आउने गरेको तपाइले पनि देख्न सक्नुहुन्छ । त्यसले गर्दा हामीसँग अलि अलि भएको पैसा पनि तल बजार आएर सामान किन्दा त्यहाँ मात्रै पैसा थन्कने अवस्था छ । गाउँको पैसा बाहिरिएको अवस्था छ । त्यसलाई गाउँमै रोक्न अथवा बढाउनको लागि हाम्रो जुन गरिवसँग रहेको पैसा रोक्न तथा बढाउनको लागि हामीले गाउँमा हुने स्थानीय उत्पादनलाई प्रोत्साहन दिन लागिरहेका छौं । हाम्रो पालिका अझै पनि राशायनिक मल तथा विषादिको दलदमा फसेको छैन । अग्र्यानिक खेतीको लागि राम्रो क्षेत्र हो । अहिले हामीले वडा नं. १ अर्खा, वडा नं. ४ पूँजा र वडा नं. ५ खुडम कृषि सम्वन्धी आधुनिक ढंगको यो वर्ष अध्ययन गर्दैछौ । यो अध्ययनले विज्ञ टोलीको नजरमा हाम्रो गाउँपालिको कुषि उत्पादन कस्तो छ ? यहाँको किसानहरुको अवस्था कस्तो छ ? यहाँको उत्पादन बाहिर कहाँसम्म पुग्न सक्छ ? यसले व्यवस्थित बजार बनाउन सक्छ कि सक्दैन भन्ने कुराको अध्ययन हुन्छ । यहाँ हाम्रो उत्पादन बास्तवमै परम्परागतमै हुने खेतीहरुको मूल्य अहिले बजारले किन पाइरहेको छैन ? बजारमा किन खपत हुन सकिराखेको छैन ? भन्ने विषयमा पनि अध्ययन हुँदैछ । त्यसो भएमा यो वर्ष नै मैले अघि बताएका तीन वटा वार्डहरुमा हामीले एक करोड ३५ लाख जति बजेट त्यो क्षेत्रमा पकेटको लागि कार्यक्रम अगाडि बढाउने योजना अगाडि बढाउँदै छौ । कृषि र पशुपालनको क्षेत्रमा एक करोड थप बजेट सात वटै वार्डहरुमा पुग्ने तरिकाले हामीले अन्य काम पनि गर्दैछौ । त्यति गरेपछि अत्यन्तै कमजोर किसानहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गरिदिने सम्मको योजना बनाएर हामी अगाडि बढ्दै छौ । कहिलेकाही फसल उत्पादनमा अनुदान दिने कुरा हुला कहिलेकाहि उत्पादित सामाग्री बजारसम्म पु¥याउन गाडीभाडा तिरिदिने कुरा होला । यस्ता खालका योजनाहरुलाई अगाडि बढाउन यो वर्ष हामीले कृषिमा सकारात्मक परिवर्तन गर्न सकिन्छ कि भन्ने लागेको छ । कार्यक्रम सफल बनाउन हामीलाई कृषक, कर्मचारी सबैको सहयोग चाहिन्छ । हामीसँग प्रत्येक वडामा कृषि तथा पशुपालन प्राविधिक छैनन् । योजना सम्पन्न गर्न थुप्रै चुनौति भए पनि हामीले कार्यक्रम अगाडि बढाउँदै छौं विज्ञको सल्लाह अनुसार ।

यहाँको गाउँपालिका  फलपूmल तथा जडिबुटी खेतीको प्रचुर सम्भावना भएको मानिन्छ । त्यस क्षेत्रमा यहाँको योजना के छ ?

हो, यहाँले भने जस्तै यहाँ बहुमूल्य फलपूmल खेतीको सम्भावना देखिएको छ । दाते ओखर, किवि खेती, अमिलो जातका फलपूmल कागती, सुन्तला, अमिलो) खेतीको सम्भाना देखिएको छ । यो किवि खेती, दाते ओखर लगायत उच्च मूल्य पाउने बालीहरुको केही अगुवा कृषकहरुले पनि शुरु गर्नुभएको छ । गत वर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरर्गत पनि हामीले केही सहयोग गर्ने कार्यक्रम अगाडि सारेका छौं । यो वर्ष किवि खेतीलाई अझ व्यवस्थित तरिकाले किवि खेतीको लागि विरुवा उपलव्ध गराउने र प्रविधिबारे क्षमता विकास गर्ने कार्यक्रम पनि अगाडि बढाउँदै छौ । फलपूmल खेती जस्तो ओखर लगाउनुभयो भने त्यसको उत्पादन हुनको लागि झण्डै तीन देखि ५ वर्षको समय लाग्दो रहेछ । तर कृषकलाई अहिले भर्खरै विरुवा रोप्यो भने तीन महिना, चार महिना, बढिमा ६ महिनाभित्रमा फसल चाहिएको अवस्था छ । हाम्रो चरम गरिवीको कारणले लामो समयपछि प्रतिफल दिने कार्यक्रमहरुमा हामी अझै पनि योजना गर्न नसकिरहेको अवस्था छ । त्यसमा सम्वन्धी वन कृषि लगायतका निकायहरुसँग बसेर त्यो विषयमा सरसल्लाह गर्ने तयारीमा छौ । त्यस्तै जडिबुटीको पनि राम्रो सम्भावना भउको क्षेत्र हो । बहुमूल्य जडिबुटीको लागि बन कार्यालयसँग मिलेर काम गर्ने योजना बनाएका छौं ।

 कृषिलाई व्यवसायीकरण गर्दै युवाहरुलाई सो क्षेत्रमा आकर्षित गर्ने केही योजनाहरु बनाउनुभएको छ ?

एउटा युवालाई मासिक १५ देखि २० हजार रुपैया घरमा उपलव्ध हुन सकेन भने त्यो युवाले कसरी आप्mनो व्यवहार चलाउँछ ? यो विषय अलिकति जटिल किसिमको पनि छ । अहिले सबै स्थानीय तहहरुमा यो चुनौतिको रुपमा रहेको छ । हरेक ठाउँमा पैसा चाहिने भएको कारण पैसा आर्जन हुने क्रियाकलापहरु गाउँमा उपलव्ध हुन नसकेसम्म यो रोकिदैन । त्यसकारण आर्थिक स्रोत बढाउन यस अघि मैले भने हामीले विज्ञ टोलीबाट अध्ययनको काम अगाडि बढाइसकेका छौं, त्यही आधारमा योजना बनाएर अगाडि बढ्छौ । पकेट क्षेत्रको रुपमा हामीले अहिले तीन वटा वडाहरुबाट शुरु गर्दै छौ । त्यो स्थानमा ढुक्कसँग केही युवाहरु लागेपछि तिमीहरु विदेश जानु पर्दैन, तिमीहरुको घरधन्दा सजिलै चल्छ, परिवारको स्वास्थ्य र लाउन खान समस्या हुन्न भन्ने उदाहरणका रुपमा हामीले शुरु ग¥यौ भने मलाई लाग्छ त्यो अभियानकै रुपमा अगाडि बढ्छ । कृषिको क्षेत्रमा हामीले धेरै ठाउँको क्रियाकलाप अगाडि बढाउन सजिलो हुनसक्छ । बाझो भएका जग्गाहरुलाई पनि हामीले त्यही अनुसारको फल जस्तै कागती होला, सुन्तला होला, दाते ओखर होला । अलि माथिल्लो भूभागतिर चिराइतो लगायत धेरै महत्वपूर्ण जडिबुटीहरु छन् । ती उत्पादन बढाउन हामी लागिम् र बजारको पनि त्यो अनुसारको प्रवन्ध मिलाउन सकियो भने मलाई लाग्छ युवाहरु दुई चार वर्ष भित्रैमा युवाहरु विदेश जान नियन्त्रण हुने आधार बन्छ भन्ने मलाई लाग्छ ।
शिक्षा क्षेत्रको विकासको लागि गौमुखी गाउँपालिकाले के कस्ता कामहरु गरिराखेको छ ?
सामुदायिक विद्यालयको स्तर माथि उठाउनको लागि हामीले भौतिक पूर्वाधारतिर पनि जोड दिइराखेका छौं । भवन निर्माण कक्षा कोठा मर्मत सम्भार, भुई पलाष्टरदेखि लिएर डेस्क बेञ्च बनाउने कामहरु भइराखेको छ । हामीकहाँ अर्को टडकारो समस्या भनेको शिक्षकको दरवन्दी अनुसार शिक्षकहरु नभएपछि नीजि श्रोतबाट शिक्षक राखिएको थियो ती नीजि श्रोतका शिक्षकहरुलाई अनुदानको व्यवस्था गरेर तलव सोझै विद्यालयलाई उपलव्ध गराएका छौं । विद्यालयले शिक्षकको व्यवस्थापन गरेर तलव खुवाउन पुग्ने ढंगको प्रवन्ध मिलाएका छौं । ४५ विद्यालयका करिव ६० जना शिक्षकहरुले पिसिएफ अनुदान पाइराखेका छन् । यसको साथै शिक्षकको क्षमता विकासको लागि तालिमको प्रवन्ध पनि गरिराखेका छौं । समग्र रुपमा शिक्षाको गुणस्तर माथि उठाउन यस क्षेत्रको पनि हामी अध्ययन गर्दैछौ ।

अहिले प्राविधिक शिक्षाको कुरा पनि उठिराखेको छ । गाउँपालिकाभित्र कस्ता प्राविधिक विद्यालय बनाउने सोच बनाउनुभएको छ ?
प्राविधिक शिक्षा अन्तर्गत कृषि विषयको पढाइ गौमुखी मावि ठुलावेसीमा शुरु भएको छ । शुरुवाती चरणमा हेर्दाखेरी विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको छ । त्यसलाई हेर्दाखेरी नमुना विद्यालयको रुपमा विकास गर्ने र थप अरु विषयका विषयगत विद्यालयहरु अरु पनि थप्न पर्छ कि भन्ने पनि छ । अग्लुङफेदी भन्ने बजारमा अस्ती भर्खर एउटा महायज्ञ लागेको थियो । त्यो गुल्मीमा रहेपनि त्यो प्यूठानको गौमुखी गाउँपालिकाको बीच भागमै पर्दछ । त्यहाँ पनि नयाँ प्राविधिक विषयको पढाई शुरुवात गर्ने कि भन्ने योजनामा उहाँहरु पनि हुनुहुन्छ । उहाँहरुसँग पनि हामीले साझेदारी गरेर कुन कुन विषयहरुलाई हामीले यहाँ व्यवसायीक विद्यालयहरु बनाउने । व्यवसायीक शिक्षाको कक्षाहरु दिने ढंगले लैजाने भन्ने सोच बनाएका छौं । अलि गहिरिएर लाग्न बाँकी नै छ यो विषयमा । कृषि विज्ञ टोलीको अध्ययनले प्राविधिक प्रतिवेदन दियो भने त्यो आधारमा हामी विशेष गरी कृषि र पशुपालनको क्षेत्रमा व्यवस्थित तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं । कृषि पेशा नै राम्रोसँग गर्ने ढंगले यो पढाई अगाडि बढ्यो भने यसले उत्पादनलाई टेवा दिन्छ भन्ने मलाइ लाग्छ । कृषि पढेर जागिर हुन्छ भन्ने ज्ञारेण्टी हुँदैन । त्यो व्यवसायीक कृषक बन्न सक्छ ।
वडा कार्यालयसम्म बाहै्र महिना बाटो पुग्न पनि कतिपय वडाहरुमा समस्या छ । बाटोको स्तरवृद्धिको लागि के कस्ता योजनाहरु रहेका छन् ?
लिवाङ र पूँजा जोड्ने ठाउँहरुमा पक्की पुलको अध्ययन भएको छ । मलाई लाग्छ केन्द्र सरकारले त्यो विषयमा अलिकति ध्यान दियो भने एक दुई वटा पुलहरु थपेको खण्डमा हाम्रो करिव सबै वडामा पक्की पुलले जोडेर यातायात वर्षादमा पनि सूचारु गर्न सकिने सम्भावना बढ्दै गएको छ । हामीले प्रत्येक वर्ष सडक निर्माणलाई पनि जोड दिइरहेका छौं । त्यसले गर्दा बाटोको स्तर पनि राम्रो हुँदै छ । रजवाराको सिरुङखोलामा यो आर्थिक वर्ष सम्ममा ठेक्का सम्झौता अनुसार योजना सम्पन्न हुन्छ । यो योजना सम्पन्न भयो भने रजवाराको भूभागसँग वर्षा पनि सडक यातायातले जोडिने छ । अरु मुख्य गरी भिमगिठेसम्म जोड्यो भने यता पूर्वतिर जाने जुन हाम्रो यात्रा हो त्यसलाई धेरै सहज हुन्छ । यसले हाम्रो पालिका र झिम्रुक गाउँपालिका पनि यसबाट अत्यन्त लाभान्वित हुने छ र आर्थिक तरंग यसले पैदा गर्छ । यसले सडक किनारमा रहेका वासिन्दाको दैनिक जनजिवनलाई यसले ठूलो टेवा दिने अवसर छ । यसले गर्दा त्यो बाटो निर्माण हुँदासम्म हाम्रा सबै वडामा पुग्ने सडकको स्तर उन्नती हुनेछ । यो आर्थिक वर्षभित्रमा झण्डै झण्डै सवै वडामा बस जाने बाटोहरु निर्माण पूरा हुँदैछन् ।

आर्थिक आर्जन गर्नको लागि हाम्रो पर्यटन पनि महत्वपूर्ण आधार हो । पर्यटन क्षेत्रको विकासको लागि के गर्दै हुनुहुन्छ ?

गतवर्ष हामीले पर्यटकीय स्थलहरुको पहिचानको लागि नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा ज्यूलाई लिएर गौमुखी मिडिया सम्मेलन आयोजना गरेका थियौ । विभिन्न सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरुलाई लिएर त्यो कार्यक्रम आयोजना गरेका थियौ । त्यसले गर्दा त्यो क्षेत्रमा धार्मिक आस्था तथा घुम्ने हिसावले धेरै व्यक्तिहरु त्यहाँ पुग्नुभयो । त्यहाँ आवत जावत र प्रचार प्रसारको लागि बाहिरसम्म सन्देश पु¥याउन हामी सफल भएका छौं । तर भौतिक पूर्वाधार देखि लिएर मान्छेलाई त्यहाँ बस्ने, खाने, सहज रुपमा मानिसको आवत जावतमा अझै कठिनाई छ । साघुरो बाटो भएर जुन ठाउँमा हामीले पैदल यात्रा गर्नुपर्ने हुन्छ त्यो ठाउँमा रेलिङ्गहरुको प्रवन्ध, सिढीहरुको प्रवन्ध, बीचमा बस्ने धर्मशालाको प्रवन्ध, पानीको प्रवन्ध लगायतका व्यवस्था हामीले मिलाउन सकिरहेका छैनौ । यो वर्ष यी सबै कुराहरुमा सुधार गर्नको लागि प्रदेशबाट पनि केही आर्थिक सहयोग आएको छ । गाउँपालिकाबाट पनि अलि ठूलो बजेट व्यवस्थापन गरेका छौं । बाटोलाई अलि नजिक पु¥याउन सडक सञ्जालसँग जोड्ने बस चढेर ठूलाचौरसम्म पुग्ने वातावरण यो वर्ष सिर्जना हुँदैछ । पर्यटनको हिसावले एउटा हाम्रो महत्वपूर्ण प्वाइण्ट झिम्रुक नदिको उद्गम स्थल पनि भएको हुनाले एउटा काम त्यो हँुदैछ । दोस्रो कुरा हाम्रो झाक्री ढुंगा, पूजाको तामाखानी दियाल्नाचौर हुँदै लेकैलेक बाट लालीगुरासको मनमोहक दृष्य हेर्दै पूँजाको तारेभिरसम्म तामाखानीसम्म, झाक्रीढुंगासम्म त्यो हुँदै माथि नांगी लेकसम्म पदमार्ग विकास गर्न सकिने सम्भावना छ । गतवर्ष पनि हाम्रा केही सञ्चारकर्मी साथीहरु र बाग्लुङतिर पनि निसिखोलाका अध्यक्ष ज्यूहरु लगायतको टोली समेतले हामी संयुक्त रुपमा केही लगानी गरौ भनेर त्यो क्षेत्रमा पनि केही काम हामीले शुरुवात गरेका छौं । खास गरी पदमार्गमा पर्यटकहरुलाई खानेबस्ने, तथा सुरक्षाको प्रवन्ध गर्नुपर्नेमा त्यो खालको वातावरण सिर्जना गर्न हाम्रो अझै प्रयास भइरहेको छ । यसको लागि केही व्यवसायीक साथीहरुसँग पनि हामी परामर्श गर्दैछौ । यो विषयमा गत सालको तुलनामा हामीले धेरै सुधार गरेर जानेछौ ।
यहाँको पदावधीको करिव आधा समय बितिसकेको छ । बाँकी समयलाई आधार बनाएर गाउँपालिका यस्तो बनाउँछु भन्ने केही यहाँको सपना छ ?
गाउँपालिकावासीको आर्थिक रुपले कसरी सवलीकरण गर्न सकिन्छ भन्ने नै प्रमुख कुरा हो । सडक, विजुली, खानेपानी लगायत न्यूनतम पूर्वाधार शिक्षा स्वास्थ्यको कुराहरु यिनीहरु हाम्रो नियमित रुपमा गैराखेको छ । भैराखेको छ । स्वास्थ्य समस्या समाधान गर्नको लागि समय समयमा विशेषज्ञ डाक्टर लाने गरेका छौ । यहाँका मानिसहरु महंगो भाडा तिरेर धेरै पैसा खर्च गरेर विजुवार आउनुपर्ने बाध्यता छ त्यसलाई घटाएर यही नै विरामीहरुले कसरी औषधि उपचार गर्न सक्छन् ? उनीहरुको आर्थिक भार कटौती हुन सक्छ भन्ने विषयमा पनि मैले केही सोच गरिराखेको छुँ । पाक्षिक रुपमा भएपनि डाक्टर गाउँपालिका लिएर लिवासेबाट सेवा दिने सोच बनाएको छुँ । शिक्षा लगायत मान्छेको व्यक्तिगत आयश्रोत वृद्धिको लागि मेरो सपना खासमा कृषि, पर्यटनको क्षेत्रमै बढि लागेर यहाँका वासिन्दाहरुको आर्थिक उन्नती कसरी गर्न सकिन्छ भन्ने बारेको छ ।यसको लागि विज्ञहरु, मिडियाकर्मीहरु र पालिकाका शुभेच्छुकहरुले पनि केही विचार दिनुभयो भने हामी त्यसरी अगाडि बढ्ने योजनामा लाग्ने छौं । खासमा गौमुखीवासीको आर्थिक समृद्धिको हाम्रो लक्ष हो ।