‘दुई बाली लगाउने हो भने हामी धानमा आत्मनिर्भर हुन्छौ’ : बरिष्ठ कृषि विकास अधिकृत पौडेल

‘दुई बाली लगाउने हो भने हामी धानमा आत्मनिर्भर हुन्छौ’ : बरिष्ठ कृषि विकास अधिकृत पौडेल

धान हाम्रो प्रमुख खाद्य वाली हो। हाम्रो भोजनको प्रमुख हिस्सा धानबाट बनेको चामलले लिने गर्दछ। मुलुकको कूल ग्राहस्थ उत्पादनमा पनि धानको महतवपूर्ण योगदान रहेको छ। हाम्रो कूल ग्राहस्त उत्पादनमा करिव २० प्रतिशतको योगदान धान बालीले गर्दछ। प्यूठान जिल्लाको बिशेष गरेर झिम्रुक फाँटलाई लक्षित गरेर प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाई विगत चार वर्षदेखि सञ्चालनमा रहेको छ। यो परियोजना सञ्चालन भएसँगै जिल्लामा धान उत्पादनमा बृद्धि समेत भएको छ। यसै सन्दर्भमा परियोजनाका गतिविधिका बारेमा परियोजनाका बरिष्ठ कृषि विकास अधिकृत तथा प्यूठान प्रमुख भास्कर पौडेल सँग प्युठानका अग्रज पत्रकार सञ्जय रिजाल ले गरेको कुराकानी।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत के कस्ता कामहरु भैरहेका छन् । यसको बारेमा जानकारी दिनु न ?

प्रधानमन्त्री कृषि आनुनीकीकरण परियोजना बिशेष गरी धान जोन विगत ४ वर्षदेखि यस जिल्लाको ५ वटा गाउँपालिकाका विभिन्न २४ वटा वडामा लागू भएको छ ? त्यस क्रममा हामीले धान खेतीलाई औद्योगीकीकरण विकास गर्ने हेतुले विभिन्न खालको कृषि औजार उपकरण, पोष्ट हार्भेष्ट सेन्टर, साना सिंचाई, मूल बिउमा अनुदान, कृषि प्रविधि प्रदर्शन जस्ता कुराहरुमा सहयोग गर्न किसानहरुलाई तालिम दिने जस्ता कामहरु अगाडि बढाउँदै आइरहेका छौं ।
कुन कुन गाउँपालिकाहरुमा यो कार्यक्रम लागू भएको हो ?

झिम्रुक गाउँपालिकाको ४ देखि ८ नं., प्यूठान नगरपालिकाको १, २, ३, ४, ७, ८, ९, १० नं. वडा, माण्डवी गाउँपालिकाको वडा नं. ५, ऐरावती गाउँपालिकाको सबै वडा, मल्लरानी गाउँपालिकाको २ देखि ५ वडामा यो कार्यक्रम लागू भएको छ ।

कृषि क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण भूमिका रहेको छ । त्यसमा पनि धान खेतीको महत्व अझ बढि छ । प्यूठानमा धान खेती राम्रो हुने स्थान कुन हो ?

प्यूठान जिल्लाको विशेष गरी यो प्यूठान भ्याली नै धान बढि उत्पादन हुने क्षेत्र हो । धेरै जसो क्षेत्र प्यूठान नगरपालिकाभित्र नै पर्छ र झिम्रुक करिडोरलाई लक्षित गरी यस परियोजनाको विशेष गरी धान जोन भनेर घोषणा गरेर कार्यक्रम सञ्चालन गरिएको छ । विशेष गरी उत्पादनको दृष्टिले हेर्नुहुन्छ भने प्यूठान नगरपालिकामै बढि छ ।

यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु हुनुभन्दा पहिले र परियोजना शुरु भएपछिको अवस्थमा परियोजनाले के कस्ता सकारात्मक प्रभावहरु पारेको यहाँले पाउनुभएको छ ?

हामीहरु काम गर्न आउँदासम्म ३.३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व थियो । अहिले त्यो उत्पादकत्व बढेर ४.६ मेट्रिक टन प्रति हेक्टर पुगेको छ । यसमा विभिन्न कम्पोनेण्टहरुले काम गरेको छ । उन्नत जातको धानको विउको प्रयोग किसानहरुले अलि बढाउनुभएको छ । बिशेष गरी बढि उत्पादन दिने उन्नत जातहरु जस्तै राधा १४ जस्ता जातहरुमा लोकप्रियता बढ्दै गएको छ । त्यसैगरी हामीले गतवर्ष पनि हामीले लगाइरहेका र अन्य गरी विभिन्न ११ जातहरु परीक्षण गरेका थियौ । त्यो परीक्षणमा पनि राधा १४ को सबभन्दा बढि उत्पादकत्व देखिएको थियो । धानका जातहरुको उत्पादकत्व विभिन्न ठाउँको हावापानी अनुसार फरक पर्दो रहेछ । जस्तै प्यूठान नगरपालिकाको फाटमा एउटा धानको उत्पादकत्व बढि छ भने मरन्ठाना जस्ता अलिकति हाइट भएका ठाउँहरुमा छुट्टै जातको धानको उत्पादकत्व बढि देखियो । त्यहाँ चाहि मकवानपुर, हर्दिनाथ जातको उत्पादकत्व बढि भएको जस्तो देखिएको छ । त्यसकारण हाम्रो माइक्रो कलाइमेटिक कण्डिसन अनुसार विभिन्न ठाउँमा धानको उत्पादकत्व सामान्य स्थान परिवर्तन हुँदाखेरी उसले सहन सक्ने क्षमतामा फरक पर्दो रहेछ भन्ने हामीलाई सिकाई भइरहेको छ । यस सन्दर्भमा हामीले जातको कुरा मात्रै नगरेर किसानहरुले जमिन खनजोतको लागि गोरुको प्रयोग गर्नुहुन्थ्यो, मिनी टिलरहरु, धान राख्ने रिपरहरु, यसको उत्पादकत्व वृद्धि गर्नको लागि बिभिन्न प्रदर्शनहरु जस्तै ः राधा १४ र अरु धानमा के फरक छ ? भन्ने कुराहरु किसानहरुलाई लगाएर नै देखाइसकेपछि, कसको उत्पादनक कति छ भनेर किसानहरुको अगाडि नै गएर बाली भित्राएपछि यो त अघिल्लो जात भन्दा डेढ गुणा बढि फल्दो रहेछ भन्नेखालका प्रतिक्रियाहरु पनि हामीले पाएका छौं । लेवर कस्ट बढि हुने भएको कारणले धानलाई व्यक्तिले होइन रिपर, धान काट्ने मेशिनहरु प्रयोग गर्नुपर्दोरहेछ भन्ने खालको जाचेतना फैलाइरहेका छौं । एकातर हामीले लागत कम गर्न जोड दिइरहेका छौं भने अर्कोतर्फ प्रविधि र सिचाईतर्फ पनि जोड दिएका छौं । त्यसकारणले गर्दाखेरी पनि यहाँ उत्पादकत्व बढेको देखिएको छ ।
परियोजनाको काम गर्ने विभिन्न ढाँचाहरु हुन्छ । यो परियोजना कसरी कृषकसम्म पुगेको छ र यसको संरचनागत तह कस्तो छ ?
यो परियोजना बिशेष गरी स्थानीय स्तरका उपभोक्ताहरुलाई संलग्न गराएर जोन सञ्चालक समिति भन्ने हुन्छ हामीकहाँ । विभिन्न समूह, सहकारीबाट उहाँहरुले प्रतिनिधित्व गर्नुहुन्छ उहाँहरुले । नौ जनाको कार्यकारी बोर्ड हुन्छ । त्यसमध्ये विभिन्न सूचीकुत हुने समूहहरु हुन्छ । अहिले विभिन्न ५ वटा गाउँपालिकाहरुको १३१ वटा समूह तथा सहकारीहरु हाम्रो कार्यालयमा सूचीकृत छ । तीनै १३१ वटा विभिन्न खालका समूह, सहकारी, जलउपभोक्ता समितिबाट निर्वाचित भएर जोन सञ्चालक समिति गठन हुन्छ । उहाँहरुले उहाँहरुका समस्या तथा उहाँहरुलाई कस्तो कार्यक्रमको आवश्यकता प¥यो ? कसरी अगाडि बढ्ने भन्ने खालको उहाँहरुले नै निणर्य गर्नुहुन्छ । प्रस्ताव संकलन गरेर उहाँहरुको फिल्ड भेरिफिकेशन गरिसकेपछि कुनलाई बढि आवश्यक छ । यो वर्ष यसलाई गरौं यसले गर्दाखेरी हाम्रो उत्पादकत्व बढ्छ । यो प्रविधि अवलम्वन गरौं भन्ने खालको उहाँहरुको सल्लाह, सुझावलाई ध्यानमा राख्दै कार्यालयले विभिन्न क्रियाकलापहरु अगाडि बढाउँदै आएको छ ।
यहाँले भन्नुभयो कृषि यन्त्र तथा औजारहरु प्रयोगमा पनि कार्यक्रमबाट सहयोग भइरहेको छ । कुन चाहि कृषि यन्त्र तथा औजार बढि मात्रामा प्यूठानमा प्रयोग भइरहेको छ ?
यहाँ चाहि हाम्रो खासगरी पहाडी जिल्ला भएको कारणले गर्दाखेरी हामीले ठूलो ट्याक्टरमा कल्टिभेटर, रोट्राभेटरदेखि लिएर साना मिनी टिलरहरु पनि प्रयोगमा आइरहेका छन् । जस्तँै हाम्रो अलिकति उच्च स्थानमा रहेका क्षेत्रहरु जस्तै मरन्ठाना, झिमरुकतिर साना मिनी टिलरहरु र तयससँग जोडिने एटेचमेण्टहरु उहाँहरुले प्रयोग गर्नुहुन्छ । विजुवार तथा क्वाडी क्षेत्रतिर उहाँहरुले ठूलो ट्याक्टर, थ्रेसरहरु प्रयोग गर्नुहुन्छ । विडम्वना भन्नुपर्छ पहाडी जिल्ला भएको र धानमा तराइमा जस्तो लेजर ल्याण्ड लेवलर प्रयोग गरेर अथवा विभिन्न खालका थे्रसिङ्ग मेसिनहरु अथवा कम्वाइन हार्वेष्टहरु हामीले इन्ट्रोडिउस गर्न सकिरहेका छैनौं । तपाइलाई पनि थाहा छ । यस जिल्लामा प्रतिव्यक्ति खेतको क्षेत्रफल एकदम न्यून छ । सानो क्षेत्रफल भएको क्षेत्रमा हामीले ठूला ठूला उपकरणहरु प्रयोग गर्न सक्ने अवस्था छैन । तर पनि परियोजनाले लक्षित गरेको चक्लावन्दीमा त्यति राम्ररी जान सकिरहिएको छैन । विभिन्न खालको सामाजिक स्तर, उहाँहरुको मिल्न सक्ने अवस्था, समूहमा मिलेर काम गर्न सक्ने अवस्थाको कमीको कारणले गर्दा व्यक्तिले भन्दा धेरै काम गर्न सक्ने उपकरणहरु प्रयाप्त मात्रामा प्रयोग गर्न सकिएको छैन । तथापि प्यूठान जिल्लालाई आवश्यक हुने सामान्य रुपमा ज्यामी प्रयोग गर्न भन्दा बढि सजिलो, छरितो खालका यस्ता उपकरणहरु छन् । यसको प्रयोग गर्दाखेरी हामीलाई उत्पादन लागत कम गर्न सहयोग पुग्छ भन्ने खालले हामी अगाडि बढिरहेका छौं । त्यसै क्रममा बिउ बिज वृद्धितर्फ पनि हामीले ध्यान दिइरहेका छौं । किनभने उन्नत विउको मात्रै उत्पादनमा बृद्धि गर्न १५ देखि २० प्रतिशत योगदान हुन्छ । त्यसकारण हामीले बिउ उत्पादनमा प्यूठान जिल्लालाई नै धानको विउमा आत्मनिर्भर गराउने र यहाँको बिउ बाहिर पठाउने गरी हामी अगाडि बढिरहेका छौं ।
प्यूठानमा धानको कुन कुन जातको बिउहरु उत्पादन गरिराख्नुभएको छ ?
हामीहरुले राधा १४, राधा ७ को पनि केही गरिरहेका छौं । राधा नौ को पनि केही मूल विउ लिएर गरिरहेका छौं । मकवानपुर र सावित्री जातका विउहरु पनि उत्पादन गरिरहेका छौं । यी उत्पादनबाट जिल्लामा कति खपत हुन्छ र बाहिर जाने पनि गर्छ । यीनैलाई लक्षित गरेर हामीले श्रमिक कृषि सहकारी संस्था, विजुवार महिला साना किसान कृषि सहकारी र बागेश्वरीमा विउ गे्रडिङ्ग गर्ने मेशिन र विउ उपचार गर्ने मेशिनसहितका संरचनाहरु निर्माण गरेका छौं । त्यसबाट पनि किसानहरुलाई विउ उत्पादन गर्न सजिलो भइरहेको छ । जस्तो खाएन र विउमा के फरक छ ? ग्रेडिङ्ग गरेको बिउबाट कस्तो लाभ हुन्छ भन्ने जानकारी भएको छ र जस्तो श्रमिक कृषि सहकारी संस्थाले त्यहीबाट ग्रेडिङ्ग गरेर बाहिर पठाइरहनुभएको छ भने अरु सहकारी संस्थाहरुले अझै गर्न सकिरहनुभएको छैन । कतिपयको लाइनको समस्या, कतिपयको केही समस्या देखाएर तर पनि उहाँहरु अगाडि बढ्ने क्रममा हुनुहुन्छ ।
कृषिमा विभिन्न अनुदानहरु आउने गर्दछन् विशेष गरी प्रदेश सरकार र स्थानीय तहहरुको । यी कार्यक्रमहरुमा कतिपय ठाउँमा डुप्लिकेशन र कतिपय ठाउँमा अनुदान दिने प्रतिशत फरक फरक रहेको देखिन्छ । यसले यो परियोजनाको क्रियाकलापलाई कस्तो असर गरेको छ ?
खासगरी प्रदेश सरकारको ७५ प्रतिशत अनुदान र हाम्रो ५० प्रतिशत मात्रै अनुदान दिने नेपाल सरकारको नियम र प्रदेश ५ को ७५ प्रतिशत अनुदान दिने नियमले गर्दाखेरी गतवर्ष हामीले प्रदेशको पनि केही काम गर्दिएको । यहाँबाट प्रस्ताव संकलन गर्दिएको र त्यसै क्रममा किसानलाई के भान हुँदो रहेछ भने एउटै अफिसले कहिले ७५ प्रतिशत, कहिले ५० प्रतिशत दिन्छ । प्रदेशले ७५ प्रतिशत दिन्छ तपाई किन ५० प्रतिशत दिनुहुन्छ । अझ प्रधानमन्त्रीसँग जोडिएको कार्यक्रम छ । किन ५० प्रतिशत दिनुहुन्छ भनेर भन्दाखेरी हामीले किसानलाई बुझाउन निकै कठिन जटिल हुने गरेको छ । किनभने प्रदेशबाट आएको हाम्रो कार्यालयबाट गएको भन्ने सामान्य किसानलाई त्यति जानकारी पनि हुँदोरहेनछ । त्यसकारणले गर्दा मेरो सुझाव बारम्वार के हुने गरेको छ भने माथि पनि प्रदेश, स्थानीय तह र संघका कार्यक्रम सञ्चालन गर्दाखेरी एकरुपता कायम हुनुपर्दछ । आखिर सुविधा दिने किसानलाई हो । यदि राज्यले सक्छ भने ७५ प्रतिशत गरोस् । यदि सक्दैन भने पचासै प्रतिशत तीनवटै निकायले दिदा उपयुक्त हुन्छ । छिमेकीले ७५ प्रतिशत अनुदान पाउँदा अर्को छिमेकीले ५० प्रतिशत अनुदान पाउँनु एकै वर्गका किसानले कुनै पनि हालतमा त्यो न्यायोचित हुन सक्दैन । त्यसकारण यसमा एकरुपता आउनुपर्छ । यो अलिकति बिरोधाभाषपूर्ण कार्यक्रम भएको छ । हाम्रै सरकारी निकायबाटै जाने कार्यक्रममा पनि गैरसरकारी संस्थाको कार्यक्रमको कुरा छाड्नुहोस् । त्यसकारण यो अलिकति अप्ठेरो महसुस भइराखेको छ ।
पछिल्लो समय झिम्रुक फाँटमा भौतिक संरचना बन्ने क्रम बढ्दो छ । पहाडी क्षेत्रहरुमा पनि साना खोलाहरुको मुहान सुक्ने कारणले गर्दाखेरी खोलाखेतहरुमा पनि धान खेती गर्ने क्षेत्र घट्दै छ । यस्तो परिवेशमा यो क्षेत्र बढाउने खालको कार्यक्रम यहाँहरुको छ कि छैन ?
राष्ट्रिय नीति नै के छ भने अहिले चैते धानमा जोड दिनुपर्दछ । हाम्रो जग्गा खुम्चिदै गइरहेको छ । पहिले खेत भएको जग्गाहरुमा पनि घर जग्गा व्यवसाय वा घरहरु बनिरहेका छन् । त्यसकारण तपाईले भनेजस्तै गरी जग्गाको क्षेत्रफल घटिरहेको छ वर्षेनी । हामीलाई जग्गाको क्षेत्रफल बढाउने एकदमै चुनौति छ । त्यसकारण यदि गर्न सक्ने हो भने प्यूठान चाहि प्रत्येक ठाउँमा चैते धान हुने अवस्था छ । तर पनि छोड्दै जानुभएको छ । यसै क्रममा कार्यालयले विभिन्न ठाउँमा जस्तो ऐरावतीको विभिन्न भागहरुमा र मल्लरानीका विभिन्न भागहरुमा हामीले चैते धानमा फेरी जानुपर्छ भनेका छौं ।

यो चैते धान लगाउँदाखेरी के फाइदा हुन्छ ?

चैते धानको पाक्ने बेलामा खुला मौसम भएको कारणले उत्पादनशिलता उच्च हुन्छ । त्यही धान वर्षेमा लगाउँदाखेरी भन्दा उत्पादनशीलता उच्च हुन्छ । हाम्रो स्वभाव विशेष गरी अलि भात खाने खालको छ । हामीसँग चामल प्रयापत छैन । त्यसकारण चैते धानको उत्पादकत्व पनि बढि भएको र सजिलै खेती गर्न पनि सकिने । हामीसँग प्रयाप्त मात्रामा सिचाइको स्रोत पनि भएको लगायतका कारणले गर्दाखेरी चैते धान लगाएर हाम्रो उत्पादकत्व वृद्धि गर्न, र उत्पादनमा राज्यलाई योगदान पु¥याउन सजिलो हुने कारणले गर्दाखेरी पनि चैते धान लगाउन उपयुक्त छ । तर यसमा केही समस्याहरु भएको कारण किसानहरुले छोडिरहनुभएको थियो । त्यसकुरामा कत्तिको हामीले हातेमालो गरेर अगाडि बढ्न सक्छौ एउटा चुनौतिको विषय छ । जस्तै चैते धान हार्भेष्ट गर्ने बेलामा नेपालमा मनसुन शुरु हुने भएको कारणले गर्दा धेरै जनाले चैते लगाउन नखोज्नुको कारण त्यो पनि हो ।
गत साल प्यूठान नगरपालिकाले अलि ढिलो धान रोपाइ गर्ने, छिटो रोपाइ गर्दा रोगको प्रकोप बढ्यो भनेर सूचना नै निकाल्यो । रोगको कारणले पनि किसानहरु चैते धानप्रति आकर्षित नभएको भन्ने छ । यहाँको अनुभवमा के होला ?
प्यूठान नगरपालिका कृषकसँग धेरै नजिक भएको सरकारको कारणले गर्दा दायित्ववोध भएर निकाल्नुभएको हो । खासगरी के हुन्छ भने धानमा लाग्ने पात बेरुवा रोग चाहि बढि गर्मी भयो र धानको उमेर कम भएको समयमा किराको प्रकोप बढेर लाग्ने रोग हो । पछि लाग्दैन त्यो । हामीले वर्षे नै धान लगाइरहेको सन्दर्भमा त्यो जेठको खडेरी पनि पर्ने र गर्मी पनि बढ्ने गर्दछ । त्यस्तै राधा १४ अलि छिटो पसाउने र त्यसमा पोलिनेशनको समस्याको कारणले गर्दा पनि प्यूठान नगरपालिका कृषि शाखाले हाम्रो सल्लाह सुझावमै उहाँहरुले त्यसो गर्नुभएको हो । नगरपालिका नजिकको सरकार भएको कारणले म्याण्डेटरी रुपले अगाडि बढ्नुपर्छ भनेर उहाँहरुले त्यसो गर्नुभएको हो । चैते धान लगाउँदाखेरी त्यो समस्या हुँदैन । किनभने चैते लगाउँदाखेरी चैतको लास्ट वा वैशाखमा हामी रोप्छौ । जतिबेला त्यो किराको रोगको प्रकोप देखापर्छ त्यतिबेला धानको स्टेज त्यो किराले असर नपर्ने अवस्थामा पुगिसकेको हुन्छ । रोपेको २५ २६ दिनको अवस्थामा त्यो किराले धान अति मन पराउँछ । त्यसकारण त्यो समस्या देखिएको हो ।

झिम्रुक फाटको धर्मावतीमा केही वर्ष अगाडि दुई खेती धान शुरु गरिए पनि श्रमिक अभाव तथा बाली भित्र्याउन समस्या भएको कारण यो खेतीलाई कृषकले निरन्तरता दिन सकेनन् । झिम्रुक फाँटमा धान दुई खेती गर्न कत्तिको सम्भावना क्षेत्र हो ?
तपाईले भनेजस्तै एकदमै सम्भावना बढि छ । माथिबाट अनुगमन गर्दाखेरी विगतमा जोन सञ्चालक समितिको कुरा गर्दाखेरी पनि, माथि मन्त्रालयबाट अनुगमन गर्दाखेरी पनि यदि तपाईहरु अर्को वर्ष आउने हो भने कम्तीमा दुई खेती धान गर्ने गरेर हामीलाई बोलाउनुहोस् अनुगमनमा र अनुदान वा तपाईहरुलाई सहयोग गर्ने कुरामा हामी तयार छौं । के सहयोग गर्नूपर्छ हामी तयार छौ भनेर प्धानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको केन्द्रिय व्यवस्थापन इकाइका सरहरु र मन्त्रालयको टिमले भनेको थियो । त्यहाँले भने अनुसार हामीले ठ्याक्कै गर्न सकेनौ । त्यो कारण एक वाली नै धान लगाउने हम्मे हम्मे परिरहेको, श्रमिक ज्याला उच्च भएको कारणले गर्दाखेरी, काम गर्ने क्षमता भएका व्यक्तिहरु विदेश पलायन भएको कारणले गर्दाखेरी शुरु गर्न सकिएन । अझै पनि कार्यक्रम गर्ने हो भने हामी के सहयोग गर्नुपर्छ भनेर केन्द्रिय निकायहरुले भनिरहेको अवस्था थियो । जोन सञ्चालक समितिलाई राखेर उहाँहरुले चैते धान तपाईहरुले जसरी पनि शुरु गर्नुपर्छ भनेर भन्नुभएको थियो । अर्को पटक आउँदाखेरी अध्यक्ष ज्यू हामीले चैते धान देख्न पाउ भनेर भन्नुभएको थियो र त्यति बेला हामीले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौ भनेर प्रतिवद्धता पनि जाहेर भएको थियो । अहिले पनि हामीले प्रयास गरिरहेका छौं । यस वर्षदेखि हामीले कुनै न कुनै रुपमा फेरि शुरु गर्ने कि भन्ने सोचमा छौ ।
अहिले स्थानीय तह वा सरकारहरुसँग पनि विभिन्न श्रोतहरु रहेको छ । उहाँहरुसँग बसेर धान दुई खेती गर्नको लागि केही छलफलहरु चलाउनुभएको छ ?
हामीले प्रयास गरिरहेका छौं । मल्लरानी गाउँपालिकाको चुँजाठाटीमा तपाईहरुले शुरु नै गर्नुपर्छ र यो वर्षदेखि शुरु गर्नुहोस् । हामी धानको बिउ कुन लगाउने, कसरी लगाउने भन्ने खालको सहयोग गर्न तयार छौ । तपाइहरुका केही सिचाइका समस्याहरु छ भने पनि हामी समाधान गर्न तयार छौं भनेर लागिराखेका छौं । मरन्ठाना क्षेत्रमा केही किसानहरु इच्छुक देखिनुभएको छ । किसानहरुले चाहेमा हामीले चैते धानलाई प्राथमिकता दिने नीति बनाएका छौं ।
नेपालका अन्य जिल्ला तथा स्थानहरुमा दुई धान खेती हुने गरेको छ । कस्तो छ अवस्था ? यहाँको अनुभवमा ।
पहिला पहिला यही प्यूठानमा पनि मजाले दुई खेती हुन्थ्यो । अहिले पनि बरौला क्षेत्रमा अझै पनि बर्षे खेती पनि हुन्छ । प्यूठान बाहेक कपिलवस्तुमा पनि गत वर्षदेखि पुनः चैते धानको शुरुवात भएको छ । त्यहाँ राम्रो अवस्था छ । त्यसैगरी चितवन लगाएतका जिल्लाहरुमा पनि ठूलो स्केलमा चैते धान खेती हुन्छ । वर्दियाको राजापुर क्षेत्रमा हर्दिनाथ धानले चिउराको लागि भनेर बिशेष ब्राण्ड नै स्थापित भएको छ । उहाँहरु एकदमै उत्साहित हुनुहुन्छ । पहिलो वर्ष ५०० हेक्टर थियो । अहिले चाहि उहाँहरु १५ सय हेक्टरमा चैते धान लगाउने भनेर अगाडि बढिरहनुभएको छ् ।
 धान खेती गर्ने कृषकहरुका लागि धान खेती गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु संक्षेपमा बताइदिनुहोस् न ?
धान खेती गर्दा बिशेष गरी ख्याल गर्नुपर्ने कुराहरुमा ः तपाईहरुले विशेष गरी ३–४ वर्षको दौरानमा धानको विउ परिवर्तन गर्नुहोस्, उन्नत धान लगाउने प्रयास गर्नुहोस् । उन्नत विउ प्रयोग गर्दा मात्र अन्य अवस्थामा सुधार नभए पनि १५ देखि २० प्रतिशत धान उत्पादनमा वृद्धि हुन्छ । त्यसैगरी अहिले श्रमिक धेरै महंगो छ । त्यसकारण मेशिनरी औजार उपकरणको प्रयोग गर्नुहोस् । हामी त्यसमा ५० प्रतिशत अनुदान दिन तयार छौं । यसो गर्दा एउटा कुरा समयमै बाली भित्र्याउन सकिन्छ । श्रमिक नपाइने अवस्थामा पनि बाली भित्र्याउन पाइन्छ । यसरी गर्दा उत्पादन लागत कम हुन्छ । रोग किराको पनि स्टेज हेर्नुहोस् । कृषि सम्वन्धी काम गर्ने विभिन्न निकायहरु छन् । प्रदेश सरकारका केही संरचनाहरुले दाङबाट पनि हेरिरहेको छ र हामी पनि छौं । बिशेष गरी धानको कुरा गर्दाखेरी गत वर्ष नै प्यूठान नगरपालिकाले धान ढिलो लगाउने भन्यो । धान अलिकति ढिलो लगाउनुहोस् । ढिलो लगाउँदाखेरी हामीले धान दुई वाली पनि लगाउन सक्छौ । धान यदि दुई बाली लगाउने हो भने धानमा हामी प्यूठानमै आत्मनिर्भर हुन सक्छौं । धानमा देशमै पनि आत्मनिर्भर हुन सक्ने अवस्था छ । त्यसकारण धान दुई वाली लगाउन कोशिष गरौं । अर्को कुरा यद वर्षे धान मात्रै खेती गर्नुहुन्छ भने पनि जेठको अन्तिम तथा असार लाग्ने बेला मात्रै रोपौ । यसो गर्दा हामीले पछि मनसुन गइसकेपछि काट्ने बेला हुन्छ । त्यसरी धान भिज्ने र नोक्सान हुने समस्या कम हुन्छ । माटोलाई नियमित रुपमा परीक्षण गरौं । यदि अम्लिय माटो छ भने कृषि चुनको प्रयोग गरौं । बेला मौकामा धान खेतीको उर्वरा शक्ति हेरेर राशायनिक मलको सन्तुलित प्रयोग गरौं र गोवर मल र अर्गानिक मलको पनि बिशेष रुपमा प्रयोग गरौं ।
हाम्रो कुराकानीमा नसमेटिएको यहाँलाई भन्ने मन लागेको भए पाठकका लागि केही भन्न सक्नुहुन्छ ?
बिशेष गरी माटो परीक्षणका कुराहरु गरौं । माटोको उपचार गरौं । हाम्रो कार्यालय गर्ने कामहरु जस्तै भकारो सुधार, सिंचाइको कुरा र यान्त्रीकरणको कुरामा कम्तिमा पनि आपूmले नै ध्यान दिएर कार्यालयमा सम्पर्क गर्नुहोस् । रोग लागे पनि के गरेर यसको निराकरण गर्न सकिन्छ भन्ने कुरा कार्यालयसँग नियमित सम्पर्क गर्नुहोस् । यस कार्यालयबाट प्राविधिक सेवा प्राप्त गरेर तपाइको उत्पादन वृद्धि गर्नुहोस् ।