भुकम्पले ढलेको त्यो दरबारका हेरालुको कथा


सलिम अन्सारी,राम बहादुर बिश्वकर्मा, प्युठान । उमेर झण्डै ८ दशक पुग्यो। बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका र भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्।
। नेपाल एकिकरण हुनु अघिको ऐतिहासिक कालखण्डसंग जोडिएको भित्रिकोट तत्कालीन चन्दवंशी राजाहरुले राज्य गर्ने थलो थियो। भित्रीकोट राज्य,चौबीसे राज्यअन्तर्गतको शक्तिशाली मानिन्थ्यो। यहि दरवारमा प्यूठान नगरपालिका ७ का ७९ वर्षीय डालबहादुर थापामगर हेरालुको काम गरिरहेका छन। दरबारको काखमा सानो झुपडी छ।त्यसैलाई आफ्नो आश्रय स्थल बनाएर बसेका छन । उन्लाई दरबार क्षेत्रको हेरचाह गर्ने जिम्मा छ। उनी दिनहुँ दरवार जाने र हेर्ने गर्छन। यिनै थापा दरवार हेर्न पुग्नेहरुलाई भित्रीकोट डुलाउछन । ‘भित्रीकोट शक्तिको पीठ पनि भएकोले आफूहरुले धेरै पहिले देखि पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गर्ने गरेको थापाले बताए।’ ‘त्यो भूकम्पले दरवार ढलायो, त्यसपछि यहाका हातहतियार पनि हिनामिना हुन थाले, कसैले पनि ख्याल गरेन्न’ उनले भने,’ दरवारको अस्तित्व मेटिन थालेपछी संरक्षणमा जुटेका हौँ।’ तत्कालीन बिजुवार गाबिसले उनलाई हेरालुको जिम्मा दिएको थियो ।

पुस्तौ देखी बेतलबी हेरालु

डाल बहादुरको परिवारले तीन पुस्ता देखी दरवार रेखदेख गर्थे। उनका बाउबाजेले पनि हेरालुको काम गरे । अहिले डाल बहादुर एक्लैले दरवारको हेरचाह र संरक्षणको काम गर्दै आएका छन। ‘ दरवार हेरचाह गर्दा कहिकतैबाट सेवा सुबिधा पाईएको छैन।उनि भन्छन।‘ २० बर्षदेखि काम गर्दैछु’ दरवार परिसरमै भेटिएका उनले भने, ‘ बाउबाजेकै पालादेखि रेखदेख गर्दै आएको छौ।’ बुवा स्वर्गेबास भएपछी मैले दरवार हेर्दै छु। दिनहु दरवार घुम्न आउछन। उनि तिनै पर्यटकलाई वरिपरी डुलाउछन । थाह भए जतिको दरवारको ईतिहास कहन्छन। त्यस बापत भित्रीकोट पुग्नेहरुले उनलाई ५०/ सय रुपैया हातमा थमाईदिन्छन। त्यसैको भरमा उनको ७ जनाको जहान पालिएको छ।‘ अब त बुढ्यौली लाग्योय जाँगर फिटिक्कै छैन। काम गर्न सक्ने कुरा भएन, हात बसिसके आम्दानिको श्रोत भनेकै यहि त हो।’ उनि भन्छन,’ पर्यटक आउँदा त राम्रै आम्दानी हुन्छ।’ हिजोआज कोरोनाको डरले पर्यटक आउन छोडेपछि आम्दानिको श्रोत बन्द भएको डाल बहादुर बताउछन।
जिल्लाको पहिलो नगरपालिका हो प्युठान नगरपालिका। नगर बनेपछी पारिश्रमिक स्वरुप तलबको ब्यबस्था होला भन्ने उनलाई ठुलो आशा रहेछ। ‘ हाकिमले पनि उ बेला बाजे, तपाईँलाई थोरैधेरै तलब दिउँला भनेर आश देखाएका थिए ’, उनले दुखेसो पोखे, ‘यत्तिका साल काम गरेँ। खोई तलब दिने सुरसार छैन।’ उता,प्युठान नगरपालिकाका प्रबक्ता लक्षमि प्रसाद राज भण्डारी भने हाल सम्म दरवार पुननिर्माणको काम सकिएपछि सुरक्षागार्ड नै नियुक्त गरिने बताउछन।’दरवार बनेपछि टिकट काटेर हेर्न ब्याबस्था मिलाउने सोचेका छौं।’ भण्डारीले भने,’ टिकट्बाट संकलन भएको आधा रकम हेरालुलाई दिने भनेका छौ।’

त्यो शक्तिसाली भित्रीकोट राज्य

पाल्पा देखि पश्चिम क्षेत्रका चौविसि राज्यहरु मध्ये प्युठान राज्य शक्तिसाली मानिन्थ्यो ।यस्को राजधानी भित्रीकोट थियो। यहा मध्यकालमा सिंह राज परिवारले शासन चलाएको मानिन्छ भने त्यसपछि मगर जाट राजा र सो पश्चात् चन्द वंशीय राजाहरूले शासन गरेको पाइन्छ । सदर मुकाम नजिकै मल्ल राजा, उदयपुर कोटमा ब्राह्मण अधिकारी राजा भए । भनिन्छ जोसँग सैन्य शक्ति नै थिएन।। चन्द्रबंशी राजाको राजधानी भित्रीकोटमा तत्कालीन राजा थिए । त्यहीबाट प्युठानको राजकाज चल्थ्यो । त्यो बेलासम्म प्युठान राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो ।डा गितु गिरीले आफ्नो ‘प्यूठान राज्यको इतिहास’ पुस्तकमा चन्द्रवंशी राजाले भित्रीकोटमा राज्य गरेको भनेर लेखेका छन । वि. स. १८४३ मा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले हमला गरेर भित्रीकोटलाई नेपाल राज्यमा गाभेको थियो ।तत्कालीन चन्द वंशीय राजाहरु युद्ध हारेपछी ती फौज भित्रीकोट छाडेर रोल्पाको क्यूरीमा सरेको इतिहास पाइन्छ । भित्रीकोटमा १४ राजाले राज्य गरेको बताइन्छ । भित्रीकोटका प्रथम राजा लटराज तथा १४ आँै राजा रुद्रप्रताप चन्दराज हुन् ।

कस्तो छ दरवार ?
भुरे टाकुरे राजाको पालामा बनेको यो दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । यो दरवार चारैतिरबाट पर्खालले घेरिएको छ । झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ । भनिन्छ, राजाहरुले दरबारको सुरक्षाका लागि बनाएका थिए। विसं १९९० को ठुलो भुकम्पले यो दरवार भत्कियो । त्यसपछी पो पुरै दरवार भग्नावेशमा बदलियो।प्रवेशद्वार भताभुङ्ग छ । प्रबेश गेटबाट भित्र पसेपछि भित्रीकोटको प्रशासनिक भवनपनि भग्नावशेष देख्न सकिन्छ । दरबार क्षेत्रको वरिपरि ९ स्थानमा सेन्ट्री राखिएको भग्नावशेष देखिन्छ ।दरबार भएको चार शूरहरू यिनै हुन भन्दै थिए थापा । पूर्वतर्फ भ्यु टावरको रूपमा सिमेन्टको पर्खालले छेकेर बनाइएको छ । स्थानियहरु घरको किल्ला वरपर खन्दा मानव कङ्कालहरू भेटिएकोले उत्खनन रोकिएको बताउछन । पाकेका इट्टा र ढुङ्गाहरू छरपस्ट छन । क्षेत्रपाल मन्दिरको पश्चिम पट्टी भागमा निकै पुरानो मौलो ढुङ्गाको कापमा अडाइएको छ ।

क्षेत्रपाल मन्दिर र खडगथान

दरबारको पश्चिमपट्टि भागमा क्षेत्रपाल मन्दिर र खडगथान पनि छ । क्षेत्रपाल मन्दिरमा बुट्टेदार कलात्मक टुँडालहरू पनि जडिएका छन् । उक्त टुँडालहरूलाई हेर्दा त्यति बेलाको कलाहरू काठमाडौँ उपत्यकामा मन्दिरको टुँडालहरू भन्दा कम कलात्मक छैनन् । साना ठुला घण्टहरू पनि छन् । एकदमै पुरानो घण्टको केही भाग टुटे फुटेको देखिन्छ । यहा रहेको सबैभना पुरानो घण्ट १८१४ मा कुवापानीका मनबिर डिठ्ठा खड्काले चढाएका थिए।खडकाकै नातीले चढाएको घण्ट पनि यहा छ। खडगथान भित्र पस्दा एउटा सो केश रहेको छ । उक्त स्वकेशमा एउटा दमाह(बाजा र नगरा) राखिएको छ । भित्रपट्टी अर्को ढोका खोलेर हेर्दा पुराना तरबार, ढुङ्गे हतियार, चुप्पी, खुकुरी जस्ता हतियारहरू देखिन्छन । चाँदि र सुनको जलप लगाइएका ती हतियारहरू तत्कालीन शासकहरूले प्रयोग गरिएको भनिँदो रहेछ । त्यहाँ विभिन्न किसिमका हात हतियार, ढाल, तरबार, तोपगोला, बन्दुकहरू पनि थिए रे तर अहिले ती सामाग्रीहरू हिनामिना भएको भन्छन् थापामगर ।
‘ हाम्ले ४ सय थान पुराना हतियारहरु छन भनेको सुनेका हौँ।’ उनले हतियार देखाउँदै भने,’ अहिले त बचेका हतियार यिनै हुन हेर्नुस ।दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, दरबारको नजीकै राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा देखिन्छ ।
नेपाली सेनाले तत्कालीन हातहतियारको संरक्षण गर्नका लागि सानो भवन निर्माण गरिदिएको छ ।
“सुन लेपन गरिएको तरबार, मन्दिरमा भएका घण्ट र बहुमूल्य धातुको गजूर हराएपछि घरमा राखेर सुरक्षित गरिएको थियो”, थापाले भने, “पुराना हतियारहरु खड्कथानको जीर्णोद्धारपछि ल्याएर राखिएको हो ।’ यहा सिद्धेश्वरी गुफा पनि छ । तत्कालीन शासकहरूले यहि गुफाको बाटो हुँदै गोप्य रूपमा झिमरुक नदीमा स्नान गर्थे र सोही बाटोबाटै फर्कन्थे भन्ने किम्बदन्ती छ। यहा रहेको रकते पोखरीको किवंदन्ति पनि उस्तै रोचक रहेको थापा सुनाउछन ।भित्रिकोटमा विभिन्न चाडपर्वमा पुजा आजा गर्न स्थानीय पुग्ने गर्दछन् । पछिल्लो समय यो दरबारको चर्चा चुलिदै गएपछि काठमाण्डौबाट मान्छे आएर यहाँ खनखोर्सन नगर्नु भनेर गएका छन् , पर्खाल लगाइएपछि मान्छे आउने गरेका छन् उनले भने ।’ हिजोआज भित्रीकोट घुमफीर गर्नेहरु पनि बढेका छन।’यस क्षेत्रबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । प्यूठान सदरमुकामबाट ९ किलोमिटर उत्तरी पश्चिममा यो भित्रिकोट दरबार छ । बाग्दुलाबाट हिजोआज कच्ची बाटो बनेको छ। त्यसैले गाडिमै भित्रीकोट पुग्न सकिन्छ।

दरबारले पुनर्जीवन पाउँदै

भित्रिकोटको पर्यटन प्रर्वद्धनका लागि प्यूठान नगरपालिकाले पहल थालेको छ। नगरपालिकाले भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । रक्तिपोखरी, रानी गुफा, रानी बगैंचा, खुलखुले डाँडो, रकगाडेन, दरबार क्षेत्र, थानाकोट, मुख्य भित्रीकोट क्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुन् ।भित्रीकोट पूर्वाधारमा केही सुधार भएपछि यो दरवार क्षेत्र पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।
प्युठान नगरपालिका ४ का वडाअध्यक्ष समेत रहेका राजभण्डारीले दरवार पुरानै स्वरुपमा पुनः निर्माण गर्न लागिएको बताए । पुरातात्विक महत्वको दरबारको इतिहास, र महत्वलाई दृष्टिगत गरी यसको प्राचीनस्वरुप र आकर्षणलाई कायम राख्दै पुन निर्माणको काम समेत अघि बढेको उनको भनाई छ। नगरपालिकाले कूल रु १४ करोडको डिपिआर तयार भईसकेको र सोही अन्तर्गत १० लाखको उत्खनन कार्य, ४० लाख पैदलमार्ग ,१० लाख रक गार्डेन निर्माण लगायतका काम भैइरहेको उनले जानकारी दिए । उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट थप ५ लाख रकम बिनियोजन भएपछि दरबार पुनःनिर्माण गर्न ठेक्का समेत दिइएको छ। आगामी असारको अन्तिम सातासम्म दरबारको पुनःनिर्माण सकिसक्नुपर्ने संझौता छ । दरबारको पुनःनिर्माण शुरु भैरहेको जानकारी दिँदै उनले दरबार प्युठान जिल्लाकै नमुना पर्यटकीय सम्पदाको रुपमा नै स्थापित हुने दाबी गरे ।