गर्भवतीको हवाई उद्वार


प्युठान । एक गर्भवतीलाई  हवाई उद्धार गरी काठमाडाैं पठाइएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटकी ३० वर्षीय शिवा पोख्रेललाई हेलिकप्टरमार्फत पठाइएको हो । 

लकडाउनको समयमा पोख्रेलको स्वास्थ्यावस्था जटिल भएका कारण उनको उद्धार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए ।  
सुत्केरी व्यथाले छट्पटाइरहेकी पोख्रेलको प्युठानमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयबाट स्वीकृत गराई हेलिकप्टरमार्फत निजामती अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए । 
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जटिल स्वास्थ्यवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । प्युठानमा भने यो कार्यक्रम  लागू नभएका कारण परिवारले नै हेलिकप्टर भाडा तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।